नायिकाको अर्कै खेती -राजन घिमिरे

नायिकाको अर्कै खेती -राजन घिमिरे


सिनेमामा अभिनय त यिनको सौख मात्र हो । यिनले राम्ररी बुझेकी छिन् । ‘सिनेमामा हिरोइन भएर लामो समयसम्म टिक्न सकियो भने रामै्र हो, नत्र यता त उताको भइन्छ,’ सुनिता गन्धर्वले भनिन् ।
सुनिताका बाबु रेडियो नेपालमा रामै्र सङ्गीतज्ञ हुन् तर उनी भने मोडलिङमार्फत सिनेमाको नायिका बन्नतिर लागिन् । सुनिता पहिलोपटक नायिका बनेको चलचित्र हो यतीको खोजीमा । त्यसपछि उनलाई चलचित्र चिनोमा नायिका बनाए निर्देशक शोभित बस्नेतले । ‘नायिकाको रूपमा यो क्षेत्रमा निरन्तर लाग्ने खासै उद्देश्य नभए तापनि चलचित्र चिनो बजारमा आएपछि भने मेरो रामै्र प्रशंसा हुन्छ होला,’ सुनिताको
विश्वास छ ।
सिनेमाका लागि मरिहत्ते नगर्ने सोचकी सुनिता पारिश्रमिकको रूपमा त टेलिविज्ञापन नै फाइदा छ भन्छिन् । नेपाल टेलिकम, सीएफएल चिमलगायत आधा दर्जनभन्दा बढी टेलिविज्ञापनमा खेलिसकेकी छिन् उनले । यसभन्दा बढी म्युजिक भिडियोमा दह्रो उपस्थिति जनाइसकेकी सुनिता अब टिक्ने अनि चल्ने र आफ्नो जीवन बित्न सक्ने नयाँ खेतीमा लागेकी छिन् । अभिनय फाँटबाट नितान्त फरक क्षेत्रलाई अङ्गीकार गर्दै अब सुनिता हुने भएकी छिन् सुन्दर बनाउने ब्युटिपार्लरकी साहुनी ।
जाउलाखेलको मानभवनमा सुनिताले आफ्नै बहिनीसँग मिलेर ‘ब्युटी स्पा’ नामक ब्युटिपार्लर खोलेकी छिन् । अब यसलाई नै फैलाउने र विस्तार गर्ने सोच अनि उद्देश्यका साथ सुनिताले कम्तीमा पनि चालीस लाख लगानी गरिसकेकी छिन् ।
यतिबेला नेपाली महिला पनि सुन्दर बन्न र रहन धक नमानीकन खर्च गर्न थालेपछि त्यही कुरा बुझेर आफूले यति धेरै लगानीमा ‘ब्युटी स्पा’ खोलेको कुरा उनले बताइन् ।
विशुद्ध रूपमा महिलाका लागि मात्र खोलिएको ‘ब्युटी स्पा’मा सुन्दर रहन र सुन्दर देखिन महिलालाई आवश्यक पर्ने सबैखाले प्रविधि यो ब्युटिपार्लरले उपलब्ध गराउनेछ । सुनिताले दर्ुबईबाट ल्याइएको स्पेसल मोरोक्यान वाथ स्टिम नेपालमा पहिलोपटक ‘ब्युटी स्पा’ मा नै हुने दाबी गरिन् । ‘यो नेपालमा कतै पनि छैन,’ उनले भनिन् ।
सिनेमामा टिकिरहनका लागि सुन्दर हुनैपर्ने कुरा बुझेकी सुनिता विशेष गरेर नेपाली सिनेमाका नायिकाहरूलाई लक्षित गरेर ब्युटी स्पा खोलिएको बताउँछिन् । ‘नेपालका अधिकांश नायिका आफ्नो सौर्न्दर्यका लागि धेरै ठाउँमा चहारेको मैले देखेकी छु । तर, अब एउटै ठाउँमा उनीहरूले चाहेको कुरा पुग्नेछ,’ सुनिता भन्छिन् ।

जबजब माया बस्छ
माया किन बस्छ – कसरी बस्छ माया अनि कतिसम्म डुब्ने त मायाको गहिराइ पत्ता लगाउन – मायाका बारेमा यसरी परिभाषा खोज्ने हो भने पत्ता लगाउन गाहै्र हुन्छ र माया गर्ने अनि पाउनेहरूले पनि मायाको गहिराइ नाप्न सकिरहेका छैनन् । तर अब चाँडै छायाङ्कन हुन लागेको चलचित्र ‘जबजब माया बस्छ’मा भने निकै गहिरिएर अनि संवेदनशील तरिकाले मायाको परिभाषा खोज्न थालिएको छ । जुन सिनेमालाई निर्देशन गर्ने भएका छन् विजय थापाले । अशोक ढकालको लेखन रहेको यो सिनेमाका निर्माता मणिराज पौड्याल हुन् ।
यसअघि चलचित्र ‘दाग’ बनाएर राम्रो चलचित्र बनाएकोमा ‘वाहवाही’ पाएका पौड्याल ‘जबजब माया बस्छ’ बाट अझै आफ्नो समूह अगाडि बढ्ने कुरा बताउँछन् । सिनेमा निर्माणलाई निरन्तरता दिने उद्देश्य बोकेर सिनेमा निर्माणतर्फ अग्रसर मणिराम पौड्याल चलचित्र जबजब माया बस्छको छायाङ्कन सिक्किममा पनि गरिने कुरा बताउँछन् । यो विशुद्ध रूपमा पे्रमकथामाथि आधारित चलचित्र हो । यो चलचित्रले एउटा पुस्ताको पे्रमको प्रतिनिधित्व गर्नेछ,’ निर्देशक विजय थापाले भने ।

आफ्नै सिनेमा घाँडो
नायिकाहरूको भीडमा अहिले सबैभन्दा अगाडि छिन् रेखा थापा । उनी यति अगाडि र व्यस्त हुन थालेकी छिन् कि आफ्नै होम प्रोडक्सनको सिनेमालाई समेत समय दिन भ्याएकी छैनन् उनले ।
यतिबेला पोखरामा एकसाथ जलजला र खुसी नामक दुईवटा सिनेमाको काम गरिरहेकी रेखाको चलचित्र ‘कसले चोर्‍यो मेरो मन’ असोज २९ गतेदेखि नेपालभर प्रदर्शनमा आउने भएको छ । ‘हेर्नुस् न † आफ्नै सिनेमाको प्रचारप्रसारमा समेत समय दिन पाएकी छैन,’ पोखराबाट रेखाले भनिन् ।
असोजमा आफ्नो सिनेमा रिलिज गरेपछि तिहारअगाडि आफ्नो अर्को नयाँ चलचित्रको छायाङ्कन मलेसियामा गर्ने रेखाको यो योजना पनि अब तुहिने भएको छ । यसैबीच थुपै्र सिनेमाबाट अफर आएपछि ‘नाइँ’ भन्न नसक्ने रेखाले अरूको चलचित्रलाई प्राथमिकतामा राखेर आफ्नो चलचित्रको छायाङ्कनको समय पछाडि सारेकी छिन् । ‘यसरी पछाडि सार्दा-सार्दा अन्त्यमा आफ्नै सिनेमाको सुटिङचाहिँ नहोला जस्तो छ,’ उनले बताइन् ।
यतिबेला नायकको भरमा नभएर रेखा आफैंले पनि एकल रूपमा सिनेमा बोक्ने क्षमता देखाइदिएपछि निर्माताहरू रेखाले मागेजति पारिश्रमिक दिएर उनलाई सिनेमामा राख्न आतुर देखिन्छन् । ‘तर म केवल पारिश्रमिक बढी आयो भन्दैमा जस्तो पायो त्यस्तो ब्यानरमा खेल्दिनँ । कथा, ब्यानर र भूमिका पनि हेर्नुपर्‍यो नि,’ उनले भनिन् । यसैबीच रेखाले यो साता अर्को नयाँ चलचित्रमा हस्ताक्षर गरेकी छिन्- जबजब माया बस्छमा । ‘यो चलचित्रको ब्यानर, निर्देशक अनि भूमिका मलाई मनपर्‍यो,’ उनले भनिन् ।
अरूको फिल्ममा काम गर्दा आफ्नो फिल्मको डेट पछि सर्दा पनि रेखालाई चित्त दुखाइ भने रहनेछ । ‘म समक्ष राम्रो सोचेर अनि राम्रो भूमिका बोकेर आउनेलाई सधैं म स्वागत गर्दछ । मेरो क्रेज बुझने सबैलाई धन्यवाद,’ उनले भनिन् ।

पुस्तक समीक्षा-चिनादेखि चिनुसम्मको उपहार
नवीन तौर-तरिकाका साथ एउटा नयाँ साहित्यिक कोसेली हालै नेपाली साहित्य भण्डारमा प्रवेश गरेको छ, त्यो कोसेलीको नाम हो, ‘कृष्णप्रसाद पराजुली चिनादेखि चिनुसम्म’ । नेपालका वरिष्ठ साहित्यकार कृष्णप्रसाद पराजुलीलाई समग्र विषय तुल्याएर प्रकाशित सो कृतिलाई कृष्ण साहित्य सदनले प्रकाशनमा ल्याएको हो ।
‘कृष्णप्रसाद पराजुली चिनादेखि चिनुसम्म’ आवरण हेर्दैमा एउटा भव्य कृति भएर आएको छ । आवरणमा पराजुलीको एउटा ठूलो फोटो झल्काइएको छ र दुईवटा यस्तै कार्यक्रमका फोटाहरू सजाइएका छन् जो पराजुलीले पुरस्कार तथा सम्मान ग्रहण गर्दाका तस्बिर हुन् । यसको आकार बृहत् रूपको छ । पुस्तकभित्र प्रकाशकीय, सम्पादकीय र विषयक्रम छ । त्यसपछि डा. भूपहरि पौडेलबाट लिखित भूमिका रहेको छ । भूमिकाको नाम छ ‘कृष्णप्रसाद पराजुलीको साहित्यिक व्यक्तित्व एवम् उनले पाएका पुरस्कार र सम्मान’ । यो विषयले लामै विवरण पस्केपछि आएको छ खण्ड १, खण्ड १ मा पराजुलीको जन्मपत्रिका अर्थात् चिना मात्र रहेको छ । खण्ड २ मा प्रमाणपत्र-उपाधिपत्र रहेका छन् । यहाँ कृष्णप्रसाद पराजुलीको २००६ सालमा नेपाल सरकार शिक्षा विभागले दिएको निजामती मध्यम परीक्षाको प्रमाणपत्र छ । नेपाली शिक्षा परिषद्बाट दिइएको प्रवेशिका परीक्षाको प्रमाणपत्र छ र तेस्रो र चौथो प्रमाणपत्रमा नेपाल राष्ट्रिय विद्यापीठद्वारा प्रदत्त विषारद एवम् साहित्यरत्न परीक्षाका प्रमाणपत्र रहेका छन् ।
खण्ड ३ मा तीनवटै प्रमाणपत्र रहेका छन् । खण्ड ४ मा कृष्णप्रसाद पराजुलीले सेवा गरेका संस्थाहरूले उहाँलाई प्रदान गरेका नियुक्ति आदि विषय रहेका छन् । त्यसपछि खण्ड ५ मा साहित्यकार कृष्णप्रसाद पराजुलीले साहित्यिक उचाइ उक्लेपछि विभिन्न सङ्घ-संस्था एवम् सार्वजनिक कार्यालयहरूले दिएका सम्मानपत्र, अभिनन्दनपत्र तथा अर्भ्यर्थना पत्रहरू रहेका छन् । यी पत्रहरूको सङ्ख्या ९० छ । यसबाट यो कुरा सिद्ध हुन्छ कृष्णप्रसाद पराजुलीलाई नेपाल र अन्य मुलुकका सङ्घ-संस्थाहरूलेसमेत मान-सम्मान, अभिनन्दन र पुरस्कार प्रदान गरेका छन् । यो साह्रै महत्त्वपूर्ण विषय हो । नेपाली साहित्य जगत्ले नै गौरव गर्नुपर्ने विषय हो यो । उहाँले पाएका प्रमाणपत्र आदि कति छन् जान्नुपर्दा उहाँकै घरमा गएर जानकारी लिनुपर्ने थियो अब त्यो समस्या रहेन । यति धेरै प्रमाणपत्रहरू घरमा सुरक्षित राख्न पनि मुस्किलैपर्ने विषय हो । कृष्ण साहित्य सदनले ती सबै प्रमाणपत्र पुस्तकका रूपमा ल्याइदिएपछि त्यो समस्या पनि समाधानमा आयो । अब नासिने-हराउने भय रहेन । कृष्णप्रसाद पराजुली जो केही नेपालीका हृदय कमलमा थिए अब पुजिने भए । अब त पराजुलीका विषयमा जान्न पुस्तकालयहरूमा गए पनि हुने भयो । एउटा साहित्यकारका विषयमा यति धेरै कामयावी कार्य हुनु साह्रै ठूलो कार्य हो । कृष्णप्रसाद पराजुली व्यक्तिबाट संस्था बनिसक्नुभएको छ । उहाँका निमित्त यो कार्य हुन जरुरी भइसकेको थियो त्यो काम कृष्ण साहित्य सदनले गर्‍यो । यो साह्रै महत्त्वपूर्ण कार्य भएको छ भन्ने यी पङ्क्तिका लेखकका मनमा परेको छ ।
पुस्तकमा खण्ड ६ पनि छ । यहाँ मायाको चिनु प्राप्त गर्दा र पुरस्कार ग्रहण गर्दाका सुन्दर फोटाहरू तथा अन्य फोटाहरू रहेका छन् । पुस्तकका सबै पृष्ठहरू बाक्लो चिल्लो कागजमा छन् । रङ्गीनमा होसियारीपूर्वक छापिएका छन्, सुन्दर छन् । त्यसकारण साह्रै सुन्दर देखिन्छ पुस्तक । कृष्णप्रसाद पराजुलीको झल्झलाकार अनुहारजस्तै बनेको छ यो पुस्तक ।
भनिन्छ, साहित्यकारको पसिनाको मूल्य हुन्छ । साहित्यकारका भावनाहरू तरल, सरल र सरस हुन्छन् । पसिना, आँसु र सिर्जना कल्कलाउँदा बिरुवाजस्ता भएर समाजमा आउँछन् । अक्षरहरू मुटु छोएर आएका हुँदा मीठो बोलीमा मिसिन्छन् । अक्षर, मन र बोलीको सम्मिश्रण भएपछि साहित्यको झलक आउँछ, पठनीय हुन जान्छ । त्यस्तो साहित्य जाज्वल्यमान बनेर आएको हुन्छ । यस्तो गम्भीर रहस्य बुझ्ने व्यक्ति वा संस्था पनि हुन्छन् समाजमा । तिनीहरू साहित्यकारको सम्मान गर्ने गर्दछन् र उनीहरूका कोमल हृदयबाट तथा कलमबाट निस्कने परिस्कारको सम्मान गर्ने गर्दछन् । यसबाट संस्था, समाज र साहित्यकार सबै सम्मानित हुन्छन् । यसै कारणले त हो साहित्य कुनै न कुनै रूपबाट पोखिइरहेको हुन्छ पोखिनुपर्छ समाजमा । त्यसको रस पान गर्नेहरूले समाजमा नयाँ नौला र थरी-थरीका काम कार्य गराउने गरिरहन्छन् । यस्तो संरचना अनौठो किसिमले स्वतः विकसित भइरहेको हुन्छ समाजमा । कृष्ण साहित्य सदन पनि यस्तै मेलोमा पर्न आएको एउटा संस्था हो । यसले नेपाली साहित्य समाजमा सारै महत्त्वपूर्ण सन्देश प्रवाह गरेको छ ।
चिनादेखि चिनुसम्म आदरणीय कृष्णप्रसाद पराजुलीको ७६औं जन्मोत्सवका अवसरमा प्रकाशनमा आएको हो । यो साँच्चै नै नयाँ रूप लिएर आएको छ । यसलाई पुस्तक नभनेर एउटा बृहत् सङ्ग्रहालय हो पनि भन्न सकिन्छ र पनि यसको मूल्य एक हजार मात्र रहेको छ ।
– मुक्तिनाथ शर्मा