धुर्मुस–सुन्तली गुहार्ने योजना बनाउँदै जुरेपीडित

धुर्मुस–सुन्तली गुहार्ने योजना बनाउँदै जुरेपीडित


– किशोर बुढाथोकी/सिन्धुपाल्चोक

जुरे पहिरो गएको तीन वर्ष भइसक्दा पनि पीडितहरु अझै सुरक्षित बासस्थानको खोजीमा छन् । पहिरोले भएको सबै घरजग्गा पुरिएपछि नेपाल ओरियन्ट म्याग्नेसाइटको जीर्ण भवन र टहरामा आश्रय लिइरहेका उनीहरु सुरक्षित स्थानको खोजीमा रहेका हुन् ।

जुरे पहिरोमा सर्वस्व गुमाएका पीडितले तीन वर्षपछि भूकम्पपीडितसरहको अनुदान पाए पनि जग्गा नहुँदा घर बनाउन पाएका छैनन् । आफन्त र आवास गुमाएका एकसय २२ परिवारले भूकम्पपीडित सरहको अनुदान पाएका छन् ।

‘कतिन्जेल यसरी अरुको ठाउँमा बस्नु, हाम्रा लागि दाताले दिएको रकम बाँडिदिए जग्गा किनेर अन्तै ढुक्कसँग बस्नेथियौँ’, पहिरोमा दुई छोरा, आमालगायत सात जनाको सबै परिवार गुमाएका बुधे तामाङले दुखेसो पोखे, ‘जग्गाको नाममा एक इन्च छैन, ५० हजार अनुदानले कहाँ घर बनाउने ?’ उनले आश्रय लिएर बसिरहेको म्याग्नेसाइडमा जस्ता हालेर आवास बनाउनमा पचास हजार खर्चिएको सुनाए ।

२०७१ साउन १७ को मध्यरातमा गएको पहिरोले इटनीको भीर खस्दा पहिरोले पुरिएर ३१ स्कुले बालबालिकासहित एकसय ४५ जनाले ज्यान गुमाएका थिए । ती मध्ये अधिकांशको शव अझै फेला परेको छैन । पहिरोले इटिनी, कागुने, पराजुलीगाउँलाई क्षणभरमै माटोमा विलय गराएको थियो ।

पुनस्र्थापनाको आशमा जुरेपहिरो–पीडित अझै सुनकोसी गाउँपालिकाअन्तर्गत माँखाको लामोसाँघु बजार आसपासमा आश्रय लिएर बसिरहेका छन् । लामोसाँघुस्थित म्याग्नेसाइड, कोलेनी देखि बजारको माथिल्लो भागमा सय परिवार पाल, टहरा हालेर बसिरहेका छन् । कतिपय म्याग्नेसाइडको भवन टालटुल गरेर बसिरहेको जुरेपीडित स्थानीय ठलीकान्छी तामाङले बताइन् । ‘बाँकी परिवार तितरवितर भएर जताततै बसिरहेका छन्,’ पहिरोमा सर्वस्व गुमाएकी उनले भनिन, ‘सुरक्षित बासको खोजिमा भौतारिएर तीन वर्ष बित्यो ।’ उनको तीन जनाको परिवारले तीन वर्षदेखि पालमा बास कटाइरहेको छ ।

म्याग्नेसाइडलगायतका स्थानबाट जुरेपीडित परिवारलाई बारम्बार ठाउँ खाली गर्न सूचना आइरहेको छ । अन्यत्र ठाउँ नभएकाले सबै अन्योलमा परिरहेको उनले जनाए ।

सहरी विकास तथा भवन डिभिजन कार्यालयका प्रमुख इन्जिनियर डा. युवराज पौडेलका अनुसार एकसय २२ परिवारले सबै गुमाएको र नौ घरले जग्गा आवास क्षति भएको विवरणअनुसार थप ५० हजार अनुदान दिन थालिएको छ ।

जुरे पहिरो गएपछि पीडितका लागि विभिन्न दाताले राहतस्वरुप दिएको सवा दुई करोड रुपैयाँ राजनीतिक दलबीच समन्वय हुन नसक्दा दैवीप्रकोप उद्धार समितिको खातामा थन्किएको छ । पुर्नवासको आसमा बसेका जुरेपीडितले बारम्बार आग्रह गर्दा समेत सो सहयोग रकम अझै पाउन सकेका छैनन् । ‘दातृनिकायले दिएको रकम अझै नबाँडिनुको कारण हामीले बुझ्न पाउनुपर्छ,’ पीडित राम तामाङले भने, ‘प्रमुख जिल्ला अधिकारीले समेत यसमा मौनता देखाउनुभयो ।’ उनकाअनुसार सो रकम बाँडिए सबैले जग्गा किनेर घर बनाउन सुरु गर्ने थिए ।

भूकम्पपीडितसरह पहिलो किस्ता ५० हजार अनुदान भएका जुरेपीडित आवास कहाँ बनाउने अन्योलमा परेका छन् । ‘पहिलो कुरा घर कहाँ बनाउने, यसरी नै दोस्रो किस्ता पाउने की नपाउने,’ तामाङले भने, ‘तीन वर्षपछि ५० हजार थमाइएको छ, यसले घर कसरी र कहाँ बनाउने ।’ उनले आवासको बदलामा बरु सानो घर बनाइदिएको भए जुरेपीडित परिवारलाई सजिलो हुने बताए ।

जुरेपीडित परिवारले धुर्मुस–सुन्तलीलाई दातृनिकायको रकम दिएर एकीकृत बस्ती बनाइदिने माग गर्ने योजनामा रहेको उनले प्रष्ट्याए ।