भ्रष्ट र विवादित पात्रलाई एनआरएनएमा सुनपानी छर्केर किन राख्ने ?

भ्रष्ट र विवादित पात्रलाई एनआरएनएमा सुनपानी छर्केर किन राख्ने ?



शुरु शुरुमा एनआरएनए भन्नाले सङ्घर्षको नाम होकि जस्तो लाग्थ्यो । यसले डायस्पोराको गतिविधिलाई ‘एकपटकको नेपाली सधैको नेपाली’ भन्ने नारामा ‘दोहोरो नागरिकताको’ लागि संघर्ष, सामाजिक परिवेशमा परोपकारी अध्यायबारे वहस र गतिविधि, विश्वब्यापी रुपमा भाइचाराको विकास र समानताको भावना भएको सर्वस्वीकार्य नेतृत्व विकासमा जोड दिँदै राजनैतिक गुठी संस्कृतिमा मात्र रमाएका हामीलाई विकल्प दिन सक्ने अवस्थाको सृजना गर्ने संकेत गरेको थियो । जसलाई हामीले डायस्पोराको नयाँ आशाको रुपमा लिएका थियौँ ।

स्पष्ट रुपमा कोरिएका भविष्यका ती आशाबारे हामी कहानेर छौँ, त्यसको समीक्षा गर्नुपर्ने बेला अब भयो कि भएन ? त्यो त आगामी अन्तर्राष्ट्रिय अधिवेशनले निक्र्योल गर्ला नै । नेतृत्व क्षमताको मापदण्ड आर्थिक मात्र कि अरुथोक पनि हो ? त्यो बारेपनि बहस हुनुपर्ला तर ती संकल्पहरुलाई लागू गराउने मानिस यहि प्रवासभूमिबाट खोज्नुको हामीसँग विकल्प पनि छैन । बहस यहीँबाट शुरु गरौँ ।

नढाँटिकन भन्नुपर्दा राप्रपा र एमालेको समहमति, माओवादी र कांग्रेसको सहमति लिएर उनीहरुकै भातृ संघ-संगठनहरुको नेतृत्वदायी भूमिकामा विश्वभरि एनआरएनएको चुनावी माहोल तातेको छ । अघिल्ला कार्यकाल पनि त्यहि मानसिकतामा डायस्पोराका नेपालीहरु ताते, सेलाए र कृत्रिम स्वासप्रस्वास दिएर भए पनि यो संस्थालाई जीवित राख्न सफल भए । नेतृत्वमा पुग्नेहरुले सबैको हुन सके वा स्वयमको पनि हुन सकेनन्, त्यो शुरुवातकालको उत्साह र अहिलेको निरुत्तरित डायास्पोरिक पहलुलाई हेर्दा सोझै अनुमान लगाउन सकिन्छ ।

साझा दृष्टिकोणबाट हेर्दा आज किन एनआएएनए निर्दिष्ट लक्षतर्फ अगाडि बढ्न सकेन ? किन ब्यक्तिगत पूर्वाग्रह र राजनैतिक गुटको मानसिकतामा संस्था फस्यो ? सामुहिक रुपमा डायस्पोरालाई डोर्याउने खालको संस्कारको विकास किन भएन ? यी सबै अहिले उठेका ज्वलन्त प्रश्न हुन् ।

अहिलेको आडम्वरयुक्त गतिविधि यसै दिन काट्ने मेलो मात्र भएको आरोप यो संस्थालाई लाग्दै आएको छ । यतिका वर्ष बितिसक्दा पनि यो परिस्थितिको हल खोज्न सामुहिक वहसको थालनी किन हुन सकिरहेको छैन ? यो प्रश्नमा नै अहिलेको एन आर एन सम्बन्धि बहस केन्द्रित हुनु पर्ने हो ।

डायस्पोराकोको कुनै पनि भातृ संगठन र एनआरएनएसँग छरिएर रहेका नेपाललाई अगाडि लैजाने ठोस कार्यक्रम छैन । मेरो पार्टीको मान्छे त्यो ठाउँमा नपुगेसम्म नयाँ परिबर्तन हुँदैन भनिन्छ मात्र । हामी अभियन्ताहरु नेतृत्वदायी कार्यकालमा पनि आफ्नो सुविधाको निम्ति कुनै पार्टीमा लुकेर बसेकै छौँ । हामी यदि हाम्रा गतिविधिमार्फत मुलुक बाहिरको हाम्रो समाज र नेपाललाई फेर्ने चाहन्छौं भने नेपाली समाजलाई रूपान्तरण गर्न चाहन्छौँ भने सर्वप्रथम हामीले यी समस्याका बारेमा बहस चलाउनपर्ने हुन्छ । साथै विधिलाई सम्मान गर्दै आफ्नो भूमिकालाई सर्वमान्य र निष्पक्ष बनाउनुपर्ने हुन्छ ।

एमाले, माओवादी, कांग्रेस पार्टीमा बेस्सरी खटेर लाग्नेहरुलाई नै हामी एनआरएनएको लागि योग्य मान्छौँ । पार्टीमा लागेर अवकाश पाएकाहरुलाई यो संस्थाको मापदण्ड पुगेको सोच्नु हुँदैन, तर अवस्था त्यहि छ । यो संस्कार फेर्नुपर्छ अब । नयाँ नयाँ अवधारणाको विकास गर्नुपर्छ र पुरानो संस्कारको रुपान्तरण गर्न अलिक बल लगाउनै पर्छ । अगाडी भनेझैं यो अभियानमा केही थप्न सकिएन भने अभियान मर्छ । नयाँ सोचको विकाससहित अभियानको समीक्षा, पुनर्मूल्यांकन र संशोधन गरिराख्नु पर्छ । यो प्रक्रिया निरन्तर चलिरहनु पर्दछ । अन्यथा हाम्रो रहरले मात्र यो संस्थाको आत्मा जीवित रहन गाह्रो पर्दछ ।

भनिन्छ, संस्थागत इतिहासमा इच्छाहरु जागेको बेला दिमाग सक्रिय हुन्छ तर सरिर सुतेको हुन्छ र सरिर जागेको बेला इच्छाहरु सुतेका हुन्छन् अनि दिमाग एक लक्ष्यमा मात्र केन्द्रित हुन्छ । त्यस्तै अहिले एनआरएनएको मुख्य लक्ष्य के हो भन्ने नै गम्भीर विषय हो ।

अहिले पनि स्पष्ट कुरा के हो भने समाजमा विभिन्न धारका मानिसहरु रहेका छन् तसर्थ फरक फरक धारणाहरु आउँछन् । ति धारणा आउनु स्वाभाविक हो, किनकि हामी सबै एउटै स्कुलिङबाट आएका छैनौँ । कोहि आफ़्नो लागि विचारमा दृढ होला कोहि कसैको लागि । हामी स्वभावतः फरक छौं । यी फरक स्वाभावबीच पनि हामीमा कयौँ कुरामा एकरुपता र सहमति हुन्छ । हामीमा के कुराको एकरुपता छ र के कुराको समस्यामा एकरुपता छ, त्यसमा बहस चलाउनु पर्छ । तर, हामीले लगातार मूल समस्यामा केन्द्रित रहेर बहस गरेका छौँ कि ? खालि नेतृत्व हत्याउन जोड घटाउको लागि र भनौँ डायस्पोराको अब्यवस्थाभित्र खेल्दै, जम्मा भएको रकम हेर्दै, खादा मात्र बटुल्न प्रयत्न गरिराखेका छौँ ? गुदी कुरा यहिँनेर छ ।

हामीलाई यो कुरामा खुशी लाग्नु स्वाभाविकै हो कि डायस्पोराका युवाहरूमा अहिले पनि पढ्ने, एनआरएनएको बारेमा छलफल गर्ने प्रक्रिया सुस्त रुपमा जारी छ । हामीले यो संस्थामा कम्तीमा केही सय युवाहरूले साच्चै संस्थागत झुकाव राखून् भन्ने सोचका साथ काम गर्ने हो भने यो संस्था रुपान्तरित हुन सम्भव छ । यसमा केहि युवाले चासो राख्न थालेका छन् तिनीहरुलाई अघिल्लो पुस्ताले प्रोत्साहन गर्न जरुरी छ । मिडियाले पनि उनीहरुलाई प्राथमिकताका साथ स्थान दिनु पर्दछ ।

एउटा कुरा के स्पष्ट देखिन्छ भने जहाँ नेपालका रैथाने पार्टीहरुको प्रभाव बढी छ त्यहाँ सामाजिक भावना र राष्ट्रिय लगानीको क्षेत्रमा अत्यन्त कम काम भएको छ । तर, जहाँ रैथाने पार्टीहरू प्रभावकारी छैनन् त्यहाँ मानवीय परोपकारी क्षेत्रमा निकै काम भएको छ । साथै भवितब्यमा पीडितको आँशु बेचेर पैसा जम्मा गरि गाडी र सम्पत्ति जोड्ने काम पनि पार्टीका रैथानेहरूको बिगबिगी भएको ठाउँमै भएको छ । यो डायस्पोराको सबैभन्दा अप्रिय अनुभव हो । पार्टी राजनीतिभन्दा माथि सामाजिक राजनीति र त्योभन्दा माथि मानवीय राजनीति वा नीति छ भन्ने नबुझ्नेले त्यो दुःखको अनुभूति गर्न सक्दैनन् । किनकि उनीहरुको भ्रमणको घेरा साँघुरो हुन्छ ।

मध्यपुर्व जहाँ रैथाने पार्टीहरूका भातृ संस्था हाबी छैनन् त्यहाँ बहस कम र काम धेरै भयो, विभिन्न समुदायबीच हार्दिकता पनि सौहाद्रपुर्ण देखियो। चाहे त्यो भुकम्प पीडितको सवालमा होस् वा अन्य परोपकारी अभियानको सवालमा । तर त्यसको उल्टो अवस्था भएका ठाउहरुमा परिस्थिति पनि उल्टै देखियो । अन्य देशको नाम किन चिनाउनु पर्यो, जसको लागि बेल्जियमलगायत युरोप नै काफी छ ?

अर्को कुरा के पनि सत्य हो भने, राजनीतिको काम छैन भन्ने अभियान नेपाली समाजमा नजानिदो ढङ्गले चलिरहेको छ । कस्तो भने यो राजनीतिले नै अप्ठेरो पार्यो । यो राजनीति नभइदिएको भए त हाम्रा सामाजिक संस्था कहाँ पुग्थे कहाँ भन्ने खालको कुरा आइरहेको छ । त्यो सोचाइ पनि नितान्त गलत हो । आस्थालाई समवेदनासंग जोडिदियो भने त्यसले नै मानवतालाई जन्म दिन्छ समवेदनाबाट आस्था अलग्गियो भने आतंकवादलाई जन्म दिन्छ ।

सामाजिक संगठनहरुमा राजनीति प्रभाव र समिप्याताको कुरोबारे सबैको धारणा एकै नहुन सक्छ । त्यसको प्रकृति र उपादेयता हेरेर त्यसबारे धारणा बनाइन्छ । यसबारे गाँठी कुरा के भने हामीकहा जाँदा के खानु पर्छ र के कस्तो पहिरन लागाउनु पर्छ भन्ने कुरा महत्वपुर्ण हुन्छ । एनआरएनए एक गैरराजनीतिक संस्था भएकोले आफ्नो पार्टीको गतिविधिलाई निष्पक्षताका लागि सामान्य बनाउनु जरुरि हुन्छ । त्यसले नेतृत्वलाई सर्वमान्य न्यायाधीशको रुपमा स्थापित गर्छ । जस्तो कि सभामुख, न्यायाधीश, राष्ट्रपति निर्वाचनपछि सवृमान्य भूमिकामा रहन सक्छन् भने एउटा सामाजिक संस्थाको पदाधिकारी आफ्नो कार्यकालभरि त्यो भूमिकामा किन रहन सक्दैन ? सक्छ तर उसले आफुलाई गुठीको मालिकबाट सर्वमान्य सामाजिक अभियन्ता बनाउन चाहँदैन । जुन ज्यादै दुःखद कुरा हो ।

अन्य देशका एनआरएनएमा जस्तै बेल्जियममा पनि दुइपक्षीय नेतृत्वको होड छ । दुर्इ अभियन्ताहरु चुनाव प्रचारको क्रममा छन् । सदस्यता आफै भरेर आफैले पैसा तिरेको भन्ने ब्यापक हल्ला पनि छ । तर चुनाव मज्जाले लागेको छ यहाँ । ताजा कुरा हो, ब्रुजबाट आउनुभएको एकजना मित्रले प्रश्न सोध्नुभो, ‘डिल्ली सर यो पटक तपाइले भोट कसलाई दिनुहुन्छ ?’ मैले भने, ‘मित्र दुवै केहि सामाजिक पृष्ठभुमि बनाएर आएका साथी छन् । एउटाको नेपालप्रतिको अथाह समर्पण छ भने अर्कोको बेल्जियमको नेपाली समाजमा आत्मिय लगाव । भावनात्मक रुपमा मैले दुबैलाई सम्मान गर्छु र सहयोग पनि । दुवै सामाजिक रुपमा स्वच्छ र समर्पित छन्, यो संस्थामा आस्थाको कुरा जोडिरहनु जरुरी देखिन्न । म त चुनावमा नेपाल हुन्छु होला, भाद्र ४ र ५ गते पत्रकार महासंघको सम्मेलनमा भाग लिन जाँदैछु । तपार्इंहरुले आफ्नो ब्रह्मले देखेअनुसार विवेक प्रयोग गरेर भोट दिनुहोला ।’ त्यसपछि चुनावी बहस भएन ।

भन्न खोजेको कुरा हामीले विवेक प्रयोग गर्ने कुरा स्वयम निर्धारण गर्ने हो । उसको योग्यता कति छ, संस्थागत मर्यादामा बस्न सक्छ कि सक्दैन ? छबि विवादित छ कि छैन ? निस्पक्ष रुपमा नेतृत्व हाँक्न सक्छ कि सक्दैन ? यी यावत कुरातर्फ़ नै मेरो संकेत हो ।

अहिले यो समाज जुन अवस्थाबाट गुज्रिरहेको छ, हामी आशा गर्न सक्छौं, यो अवस्था छिट्टै फेरिन्छ तर फेरिएको ठाउँमा पुग्दा हामीसँग मान्छे त तयार हुनु पर्यो नि । त्यसैले नयाँ पिंढीका युवाहरू यो विषयमा गम्भीर बन्नुपर्छ । हाम्रो पुस्ताले तिनीहरुलाई संस्थामा प्रवेशको लागि आधारभूमि तयार गरिदिनु पर्दछ ।

हामी ढुक्क भए हुन्छ कि समय भनेको काट्ने धार हो । यो कुरालाई यहाँका अभियन्ताहरुले हेलचक्र्याइँ गरिरहेका छन् । डायस्पोरामा हामीबीच केहि सङ्घर्षको जस्तो र केहि एकताको जस्तो स्थिति छ, त्यो कुनै समस्या होइन । हामीले नेतृत्वका गम्भीर प्रकारका कमजोरी र नियतबारे छलफल चलाईरहन्छौँ, जुन मिडिया धर्म पनि हो । तर मेरो आरोप के छ भने यहाँका केहि भ्रष्ट नियतका नेतृत्वकर्ताहरुले त्यसलाई समस्याका रूपमा बुझे, बुझिरहेका छन् । उनीहरुलाई नंग्याउन र संस्थामा प्रवेश नदिन बल प्रयोग गर्नैपर्ने हुन्छ । त्यसैकारण उनीहरु र हामीबिच अहिले संघर्ष र एकता पुनःसंघर्षको अवस्थामा छ ।

हामीहरुबीचको मतभेद के हो त ? यसलाई जनसाधारणले बुझ्नुपर्छ । यो कुनै समस्या होइन भन्छु म त । समाज विज्ञानले के भन्छ भने यो समास्या समाधान हुँदैन । यसको व्यवस्थापन हुँदैन । निरन्तर संघर्षको कारण समाजमा रहेका जनसाधारणहरुको रूपान्तरण मात्र हुन सक्छ । त्यसैले यहाँ आधारभूत मतदातालाई रूपान्तरण नगरिकन व्यवस्थापन गर्ने कुराको कुनै अर्थ छैन । जन खबरदारीबाट मात्र भ्रष्टहरु संगठनमा प्रवेश गरेर आफ्नो व्यक्तिगत स्वार्थ पुरा गर्न डराउने छन् । जुन साझा संस्थाको दीर्घकालीन हितको लागि अनिवार्य छ ।