वीरगञ्जको मेयर बन्न दौडधुप शुरु

वीरगञ्जको मेयर बन्न दौडधुप शुरु


वीरगञ्ज । प्रदेश न २ को स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा पाँच दिनभित्रै उम्मेदवारहरुको चयन गरी नामावली पठाउन नेपाली कांग्रेस केन्द्रिय कार्य सम्पादन समितिले पर्सा जिल्लालाई परिपत्र गरेपछि आकांक्षीहरुको दौडधूप तीव्र भएको छ।

नेपाली कांग्रेस पर्साले उम्मेदवारहरुको नाम सिफारिस गर्ने तयारी गरेसंगै चर्चा र चासो पनि उत्तिकै बढेको छ। प्रदेशको एक मात्र वीरगन्ज महानगरपालिकाको उम्मेदवारी सबभन्दा चासोको विषय भएको छ । मेयरमा पुर्वसभाषद एवम् नेपाली कांग्रेस पर्साका जिल्ला अध्यक्ष अजय द्विवेदी को नाम बढी चर्चामा छ। द्विवेदी विगतमा वीरगन्ज उपमहानगरपालिकाको उपमेयर रहिसकेका छन् । यसैगरी अहिले दोस्रो सर्वाधिक चर्चामा पुराना नेता एवम् वरिष्ठ समाजसेवी सादगी छवी भएका श्यामकुमार पोखरेलको नाम छ। पोखरेल नेपाल रेड्क्रसको पूर्व जिल्ला अध्यक्ष र हाल केन्द्रिय सदस्य तथा नेपाल नेत्र ज्योति संघको दोस्रोपटक महासचिवको जिम्मेवारीमा छन् । यससंगै क्षेत्रीय अध्यक्ष विजय सराफ, पुर्वसभाषद ओमप्रकाश शर्मा, रामरुप कुर्मी र प्रकाश उपाध्यायको नाम पनि चर्चामा छ । जिल्लाबाट सर्बसम्मत हुने सम्भावना भने कम नै छ।

जिल्लाले सर्वसम्मत चयन गर्न नसके पार्टीको केन्द्रिय कार्य सम्पादन समितिले गर्ने बुझिएको छ। भदौको पहिलो सप्ताहसम्ममा सम्पुर्ण उम्मेदवारको चयन गर्ने रणनीति बनाएको जिल्ला सदस्य महमद सहाबुदिनले बताए ।

यसैगरी उपमेयरमा प्रियन्का केसरी, शान्ति कार्की, रुपा श्रेष्ठको नाम विशेष चर्चामा छ। पर्साको अन्य १० स्थानीय तहमा पनि उम्मेदवारको अन्तिम नामावलीमा आफ्नो नाम पार्न आकांक्षीहरु लागेका छन् ।

(तस्बिरमा क्रमशः अजय द्विवेदी, श्याम पोखरेल र ओमप्रकाश शर्मा)

– महेश दास