भारतबाट ५ सय मेगावाट बिजुली आयात गरिँदै

भारतबाट ५ सय मेगावाट बिजुली आयात गरिँदै


नेपाल-भारत विद्युत् आदानप्रदान समितिले नेपालको लागि भारतबाट आयात गरिने विद्युतको न्यूनतम मूल्य रु ८.८८ देखि अधिकतम रु १०.३२ प्रतियुनिटमा खरिद गर्ने गरी नयाँ मूल्य निर्धारण गरेको छ । भारतको राजधानी नयाँदिल्लीमा सम्पन्न समितिको बैठकले यस्तो निर्णय गरेको नेपाल विद्युत प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले जानकारी दिएका हुन् । बैठकले तोकेको नयाँ मूल्य सन् २०१८ को मार्चसम्म कायम हुनेछ ।

उनकाअनुसार न्यूनतम भारु ५.५५ र अधिकतम भारु ६.४५ मूल्य निर्धारण गरिएको छ, जसका आधारमा सानो क्षमताको प्रसारण लाइनको हकमा बढी मूल्य तिर्नुपर्ने देखिएको छ । प्रवक्ता अधिकारीले ११ केभी क्षमताको प्रसारण लाइनबाट आयात हुने विद्युत्को मूल्य प्रतियुनिट रु १०.३२ (भारु ६.४५), ३३ केभीमा प्रतियुनिट रु ९.६० रुपैयाँ (भारु ६) र १३२ केभीमा प्रतियुनिट ८.८८ रुपैयाँ (भारु ५.५५) तिर्नुपर्ने हुन्छ । निर्णयअनुसार ५० मेगावाट भन्दामाथि वा १३२ केभी क्षमताको प्रसारण लाइनमार्फत आयात हुने विद्युतको मूल्य नेपालका लागि सस्तो हुने भएको हो । भारतले यसअघि नेपाललाई उपलब्ध गराउँदै आएको बिजुलीको मूल्य प्रतिवर्ष ५.५ प्रतिशतको दरले बढाउँदै आएको थियो ।

गत मंगलबार नयाँदिल्लीमा सम्पन्न बैठकले सो प्रावधानलाई हटाएर आपसी सहमतिमा बिजुलीको मूल्य निर्धारण गर्ने निर्णय गरेको छ । विगत ६ वर्षदेखि बस्न नसकेको बैठक प्राधिकरणमा नयाँ नेतृत्व आएपछि पहिलो पटक बसेको र त्यसले दुई देशबीच विद्युत् आयात तथा निर्यातका सम्बन्धमा तल्कालीन र दीर्घकालीन महत्वका निर्णय गरेको पनि प्रवक्ता अधिकारीले दाबी गरेका छन् ।

अर्को बैठक सन् २०१८ को मार्चभित्र राखेर अर्को वर्षका लागि बिजुलीको मूल्य निर्धारण गरिने छ । नयाँ निर्णयअनुसार नेपालले अब कम क्षमताभन्दा पनि बढी क्षमताका प्रसारण लाइनमार्फत बढी विद्युत् आयात गरे मूल्य कम पर्ने देखिएको छ ।

बताइएअनुसार आगामी हिउँदमा विद्युतभार कटौती पूर्ण रुपमा अन्त्यका लागि सरकारले दुई अन्तरदेशीय लाइनमार्फत थप १०० मेगावाट विद्युत् भारतबाट आयात गर्ने भएको छ । निर्माण सम्पन्न भएको ६ महिनाभन्दा बढी भए पनि रक्सौल–परवानीपुर र कुशाहा कटैया अन्तरदेशीय प्रसारणलाइनमार्फत विद्युत आयात हुनसकेको थिएन । भारतीय पक्षले महँगो मूल्य प्रस्ताव गरेका कारण प्राधिकरणले वर्षाको समयमा ती प्रसारणलाइनबाट थप विद्युत् आयातको विषयमा निर्णय गर्न नसकिएको अवस्था थियो । आदानप्रदान समितिको निर्णयपछि आगामी हिउँदमा भारतबाट थप ११० मेगावाट विद्युत् आयात हुने भएको छ । हाल भारतबाट ३८० मेगावाट विद्युत् आयात भइरहेको छ । सो निर्णयपछि अब भारतबाट करिब ५०० मेगावाट विद्युत् आयात हुनेछ ।