दिक्तेल–हलेसी सडक पहिरोको उच्च जोखिममा

दिक्तेल–हलेसी सडक पहिरोको उच्च जोखिममा


मध्यपहाडी लोकमार्गमापर्ने निर्माणाधीन दिक्तेल–हलेसी सडकखण्ड पहिरोको उच्च जोखिममा परेको छ । कालोपत्रेका लागि सडक फराकिलो पार्नेक्रममा स्काभेटर प्रयोग गर्दा सडकदेखि माथिल्लो भागसमेत खलबलिएपछि ठाउँ/ठाउँमा पहिरो खस्न थालेको हो ।

कच्ची सडकको विभिन्न स्थानमा पहिरो झरिरहँदा जोखिम मोलेर गाडी गुडाउनुपर्ने अवस्था छ । सडकदेखि माथिल्लो भागबाट झरेको पहिरोले हाल निर्माणाधीन सडक आसपासको नाली पुरिनुका साथै वर्षाको पानी सडकबाटै बग्दा सडक हिलाम्मे भएको छ ।

दिक्तेलदेखि हलेसीसम्म ४२ किलोमिटर लम्बाइ रहेको उक्त सडकमा साना ठूलागरी हजारौंँ पहिरो खसेर थुप्रिएको छ ।साथै सडकका विभिन्न ठाउँमा ढुंगा तथा बालुवा थुपारिएका कारण सडक साँघुरो बनेको छ ।

सडकमा थुप्रिएको पहिरो नहटाउँदा यातायात सञ्चालन गर्न कठिन भएको यातायात व्यवसायी संघका महासचिव रामकुमार हिङमाङले बताउनुभयो ।

“माथिबाट झेरको पहिरो सडकभरी थुप्रिएको छ ।” उहाँले भन्नुभयो, “छेउको साँघुरो बाटोबाट गाडी गुडाउँदा आधा टायर सडकभन्दा बाहिर पुग्ने गरेको छ । यातायात सञ्चालनमा परेको समस्याका बारेमा कसैले चासो दिएको छैन ।”

अघिल्लो वर्षायाममा बन्द रहेको उक्त सडक केही स्तरोन्नति गरेपछि यसवर्ष भने दुःखका साथ यातायात सञ्चालन हुँदै आएको र एसियाली विकास बैंकको करिब रु ७५ करोडको लागतमा सडक कालोपत्रे पनि गर्न थालिएको छ ।

तीन भागमा विभाजन गरेर काम थालिएको उक्त सडकको पहिलो खण्ड हलेसीदेखि बिजुलेसम्म १२ किलोमिटर सडक सूर्य कन्ट्रक्सनले जिम्मा लिएकामा हालसम्म चार कलोमिटरमात्र कालोपत्रे गरेको छ ।

त्यसमा पनि सन्तोषजनक काम नभएको सरोकारवालाको भनाइ छ । यस्तै, बिजुलेदेखि हुर्लुङसम्मको १२ किलोमिटर र हुर्लङदेखि दिक्तेलसम्मको १२ किलोमिटर सडक नागार्जुन कन्ट्रक्सनले जिम्मा लिएको छ ।

उक्त दुबै खण्ड फराकिलो पार्ने र सडकमुनी गाह्रो लगाउने र नाली बनाउने बाहेक अन्य काम भएको छ । पछिल्लो समय लगातारको वर्षापछि झरेको पहिरोले उक्त सडक खण्डमा निर्माणाधीन गाह्रो र नाली पुरिएको छ ।