रुपन्देहीमा बढ्यो सवारी दुर्घटना

रुपन्देहीमा बढ्यो सवारी दुर्घटना


ट्राफिक सचेतनाका लागि निरन्तर अभियान संचालन हुदैं आए पनि रुपन्देहीमा सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या भने बढ्दै गएको छ । दुर्घटना न्यूनिकरणका लागि सवारी जाँचमा कडाइ र कारबाहीको प्रक्रिया अघि बढाए पनि दुर्घटना कम हुनुको साटो झन बढ्दै गएको छ ।

जिल्लामा आव २०७१/७२ मा १२० वटा सवारी दुर्घटनामा ८३ जनाको मृत्युका साथै ११७ जना घाइते भएका थिए । यसैगरी आव २०७२/७३ मा १८४ वटा सवारी साधान दुर्घटनामा १११ जनाको मृत्यु र २४९ जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

आव २०७३÷७४ मा २४८ वटा सवारी दुर्घटनामा १२५ जनाको मृत्यु र २९० जना घाइते भएका थिए । यसरी हरेक वर्ष बढ्दो सवारी दुर्घटनाले मृत्यु हुनेका संख्या पनि बढ्दो छ । ठूला सवारीसाधनभन्दा पनि साना सवारीसाधनमा दुर्घटना बढी हुने गरेको प्रहरीको तथ्यांकले देखाएको छ । सडक सञ्जाल र यातायातका साधन बढ्दै जाँदा हरेक वर्ष सवारी दुर्घटना पनि बढ्दो क्रममा छ ।

हालसम्मकै तथ्यांकअनुसार सबैभन्दा बढी दुर्घटना मोटरसाइकलबाट भएको देखिन्छ । मोटरसाइकल दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या पनि बढ्दो छ । आव २०७१÷७२ मा ८६, आव २०७२÷७३ मा १४० र आव २०७३÷७४ मा १९० वटा मोटरसाइकल दुर्घटनामा परेका छन् । ट्रक ५३, कार–जिप ४७, बस ३८, रिक्सा, साइकल तथा ठेला २१, ट्याम्पो चार र अन्य छवटा गरी २४८ वटा सवारी साधन दुर्घटना भएका थिए ।

पछिल्लो समय बढ्दो सवारी साधनको चाप, साँघुरो बाटो, क्षमताभन्दा बढी यात्रु बोक्ने, सडकको जीर्ण अवस्था र सडक निर्माणका नाममा ठेकेदारले सडक निर्माणमा वर्षौं लगाउँदा दुर्घटना बढ्दै गएको ट्राफिक प्रहरी निरीक्षक दक्षकुमार बस्नेतले बताउनुभयो ।

ट्राफिक नियम उल्लंघन, मादक पदार्थ खाएर सवारी चलाउने र तीव्र गतिले सबैभन्दा बढी दुर्घटना भइरहेको उहाँको भनाइ छ ।

दुर्घटनामा चालकको गल्ती बढी

जिल्लामा भएका सवारी दुर्घटनामा धेरै चालकको गल्तीका कारण भएको अनुसन्धानले देखाएको छ । ट्राफिक प्रहरी निरीक्षक बस्नेतका अनुसार चालकको लापरबाहीका कारण १५९ वटा सवारी साधन दुर्घटना भएका छन् ।

त्यस्तैगरी तीव्र गतिका कारण ६८, मादक पदार्थ सेवन गरेर सवारी चलाउँदा छ, उछिन्दा चार, यान्त्रिक गडबडी (ब्रेकफेल, स्टेयरिग फेल) जस्ता कारणले चार, यात्रुको गल्तीका कारण तीन, सडक चौपायाका कारण एक र सडकको अवस्थाले गर्दा एउटा सवारी साधन दुर्घटना भएको छ ।

मापसे गरी हाँक्ने पनि बढ्दो

रुपन्देहीमा मापसे गरी सवारीसाधन हाँक्दा कारबाही हुनेको संख्या पनि वर्षेनी बढ्दै गएको छ । आव २०७१÷७२ मा २८६ जना, आव २०७२÷७३ मा ५८२ जना र आव २०७३÷७४ मा मापसेबाट एक हजार १२७ जना कारबाहीमा परेका छन् । कारबाहीस्वरुप ६३६ वटा लाइसेन्समा प्वाल पारिएको छ, जसमध्ये ३१९ भैरहवा क्षेत्रका छन् भने ३१७ बुटवल क्षेत्रअन्तर्गतका हुन् ।