अनलाइन प्रणालीमा कामदारको रेकर्ड कहिले ?

अनलाइन प्रणालीमा कामदारको रेकर्ड कहिले ?


वैदेशिक रोजगारमा के कति नेपाली गए भन्ने बारे यतिबेला सरकारसँग केही तथ्यांक रहेपछि फर्किएका कामदारको बारेमा कुनै तथ्यांक छैन ।

यहि तथ्यांक राख्ने कामलाई व्यवस्थित बनाउन हरेक पल्ट मन्त्री फेरिदाँ प्रतिबद्धता जनाइन्छ तर व्यवहारमा उतारेको देखिन्न ।

आखिर काम कहाँ पुग्यो त ? यसको नियमन गर्ने निकाय श्रम तथा रोजगार मन्त्रालयका उप सचिव शिवराम पोखरेलले भने– ‘गृह मन्त्रालयले श्रम तथा रोजगार मन्त्रालयको समन्वयमा वैदेशिक रोजगारमा गएका कामदारहरुको आधारभूत सूचनाको रेकर्ड राख्न अनलाइन प्रणाली ल्याउने तयारी गरिरहेको छ, विगत नौ महिनादेखि उक्त प्रणाली सचारु गर्नका लागि गृह मन्त्रालय र श्रम तथा रोजगार मन्त्रालयबीच सहकार्य भइरहेको छ ।’

उनले यो प्रणाली लागू भएपछि विदेश गएका प्रत्येक स्वदेशी नागरिकको सूचना उक्त सफ्टवेयरमा रेकर्ड रहने जानकारी दिए । विशेष गरी श्रम स्वीकृत गरेर गएका कामदारका विवरणको रेकर्ड राख्ने सरकारको लक्ष्य छ ।

सो प्रणाली लागू भएपछि श्रम स्वीकृत लिएर गएको कामदार, भ्रमणमा गएका तथा कुटनीतिक काम लगायत विभिन्न कामका लागि विदेश गएका नेपाली नागरिकका सूचना रेकर्ड हुनेछ ।

साथै यस प्रणालीबाट विदेश गएका नागरिकको मात्र अभिलेख हुने नभई फर्कनेको समेत रेकर्ड रहने जनाइएको छ । ती अधिकारीका अनुसार सफ्टवेयर निर्माणको मुख्य जिम्मेवारी श्रमसँग सहकार्य गृह मन्त्रालयले गरिरहेको छ ।

गृहमन्त्रालयले यससम्वन्धि काम तीव्र रुपमा अघि बढाएको जनाउँदै कामदारको रेकर्ड राख्ने काम र कामदारको सुरक्षाका निम्ति गृहमन्त्रीनै लागिपरेको जनाएको छ ।