नेताका ढोका–ढोकामा न्यायाधीश !

नेताका ढोका–ढोकामा न्यायाधीश !


न्यायपरिषद्ले सुशीला कार्कीको समयमा भएको गल्ती सच्याउने सम्भावना बढेको चर्चा न्यायिक क्षेत्रमा चल्न थालेपछि उच्च अदालतका केही न्यायाधीश आफ्नो जागिरको रक्षा गरिपाऊँ भनी शक्तिकेन्द्रहरूमा धाउन थालेका छन् । गत अङ्क (साउन १८ गते) को घटना र विचारमा यससम्बन्धी समाचार प्रकाशित भएपछि न्यायिक क्षेत्रमा हलचल पैदा भएको बुझिएको छ ।

गत बुधबार समाचार प्रकाशित भएलगत्तै डडेलधुराका तेज रावल (अधिवक्ता) मार्फत समय लिएर बिहीबार नित्यानन्द पाण्डेलगायतका उच्च अदालतका न्यायाधीशहरू प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न पुगेका थिए । भेटका अवसरमा प्रधानमन्त्रीसँग न्यायाधीश पाण्डेले उच्च अदालतमा भएको असीजना न्यायाधीशको नियुक्ति बदर गर्न लागेकोले त्यस्तो हुन नदिन आग्रह गरेका थिए ।

उनको भनाइ थियो– ‘नियुक्ति बुझेर सबैले आ–आफ्नो तोकिएको स्थानमा गएर काम गर्न थालिएको पनि महिनौँ भइसक्यो, अब यसलाई बदर गर्ने काम भयो भने राम्रो सन्देश जाँदैन, धेरैले दुःख पाउँछन्, जसरी भए पनि उच्च अदालतका न्यायाधीश नियुक्तिलाई यथावत् राखिदिनुपऱ्यो ।’ पाण्डेका कुरामा अन्य न्यायाधीशहरूले पनि सहमति जनाएका थिए । न्यायाधीशको कुरा सुनेपछि प्रधानमन्त्री देउवाले आफूलाई केही थाहा नभएको भन्दै बुझेर के गर्नुपर्छ गरौँला भन्ने जवाफ फर्काएका थिए ।

प्रधानमन्त्रीसँगको भेटपछि न्यायाधीशको टोली कानुनमन्त्री यज्ञबहादुर थापालाई पनि भेट्न पुगेको थियो । उनीहरूले मन्त्री थापासँग पनि आफ्नो जागिर जोगाइदिन आग्रह गरेका थिए । मन्त्रीले पनि यस विषयमा आफूलाई थाहा नभएको भन्दै बुझेर के गर्नुपर्छ गरौँला भन्ने जवाफ दिई न्यायाधीशहरूलाई फर्काइदिएका थिए ।

ज्ञातव्य छ, तात्कालिक प्रधानन्यायाधीश सुशीला कार्कीले नियम–कानुन र प्रक्रिया पूरा नगरी मध्यरातमा आफ्नै निवासस्थानमा मनपरी किसिमले उच्च अदालतका न्यायाधीश नियुक्तिको निर्णय गरेपछि यससम्बन्धी विषयलाई लिएर महान्यायाधिवक्ताको कार्यालयमा कार्यरत सरकारी वकिलले नै सर्वोच्च अदालतमा एक रिट निवेदन दर्ता गरी उक्त निर्णय बदर गर्न माग गरेका छन् । मुद्दाको सुुुनुवाइ अहिलेसम्म भएको छैन ।