राप्रपा फुट्नुको यस्तो छ रहस्य

राप्रपा फुट्नुको यस्तो छ रहस्य


वर्तमान सरकारमा उपप्रधानमन्त्रीको खोजेको दर्जासहित भाग नपाएका कारण पार्टी अध्यक्ष कमल थापा प्रतिपक्षी नेकपा एमालेतिर लहस्सिएपछि राप्रपा विभाजित हुन पुगेको छ । यो विभाजनले कमल थापाको राजनीतिक भविष्यलाई चरम सङ्कटमा पुर्‍याएको छ । आउँदा निर्वाचनहरूपछि थापालाई राजनीतिक परिदृश्यमा देख्न नपाइने सङ्केत यस घटनाले गरेको छ ।

गत वर्ष राप्रपाको एकीकरण हुँदा सम्भवतः कमल थापाले आफू पशुपतिशमशेर राणा र डा. प्रकाशचन्द्र लोहनीलगायतका सिनियर नेताहरूमाथि ‘सवार भएर’ चौथो ठूलो दलको नेता बन्ने सपना देखेका थिए । अहिले उनको सपना चकनाचुर भएको छ र आफैँले सांसद बनाएका झन्डै एक दर्जनले थापाको साथ छोडेका छन् । २५ सांसदको नेता बनेका उनी अब केवल दर्जन सांसदको नेता बन्ने स्थितिमा आइपुगेका छन् ।

किन यस्तो भयो ?
राप्रपाको एकता वर्ष दिन पनि नटिक्नुको मुख्य कारण कमल थापा आफैँ बनेका छन् । थापाको एकलकाँटे चरित्र र अप्रजातान्त्रिक व्यवहार पार्टी विभाजनको कारण बनेको देखिएको छ । गत वर्ष पार्टी एकीकरण भएलगत्तै थापाको व्यवहारप्रति आपत्ति जनाउँदै डा. प्रकाशचन्द्र लोहनी अलग्गिएका थिए । अहिले पशुपतिशमशेर राणा र दीपक बोहोरालगायत सबैजसो सिनियर नेताहरूले थापाको साथ छोडेका छन् । यसरी पार्टी विभाजन हुने स्थिति कमल थापाले गत वैशाखमा सुरुवात गरेका थिए ।

प्रचण्ड नेतृत्वको सरकारमा स्थानीय मन्त्रालयसहित उपप्रधानमन्त्रीको हैसियत लिएर सामेल भएका कमल थापाले राष्ट्रपति विद्या भण्डारीसँग भेटेर रहस्यमयी तवरमा सरकार छोडेका थिए । तात्कालिक प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरिएकोमा विरोध जनाउँदै थापाले उपप्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए । त्यसबेला थापाले न राष्ट्रपतिसँगको भेटबारे पार्टी नेताहरूलाई जानकारी गराएका थिए न सरकार छोड्ने विषयमा नै पार्टी नेताहरूसँग छलफल गरेका थिए । यस घटनापछि राप्रपाका सिनियर नेताहरू थापासँग झस्किएका हुन् । त्यसअघि निर्वाचन आयोगले राप्रपाको विधानमा रहेको ‘राजसंस्था पुनर्वहाली र हिन्दूराष्ट्र स्थापना’को प्रावधान हटाउन भनेको र त्यसक्रममा विरोध जनाउन निर्वाचन आयोगको कार्यालय पुगेका नेताहरूमाथि व्यापक प्रहरी दमन हुँदा पनि सरकारमा बसिरहनुलाई राप्रपाका नेताहरूले गम्भीर र आश्चर्यजनक मानेका थिए । उक्त घटनामा वरिष्ठ नेता पशुपतिशमशेर राणालगायत दर्जनौँ नेता–कार्यकर्ता सख्त घाइते भएका थिए ।

त्यसरी आफैँ संलग्न सरकारको निर्देशनमा प्रहरीबाट व्यापक दमन भएपछि कमल थापाले त्यसको ठूलै प्रतिवाद गर्ने र आवश्यक परे सरकार नै छोड्ने अपेक्षा नेता–कार्यकर्ताले गरेका थिए । तर, कमल थापाले कुनै प्रकारको प्रतिवाद गरेनन्, आफ्नै पार्टीका नेताहरूलाई ‘ह्युमिलिएट’ गरेर चुपचाप सरकारमा बसिरहे । त्यसबेला पनि राप्रपाका नेताहरूले कमल थापासँग चित्त दुखाएका थिए । आफ्नो पार्टीका नेताहरूमाथि घातक हमला हुँदा सञ्चो मानेर सरकारमा बसिरहने कमल थापाले सुशीला कार्कीविरुद्ध महाअभियोग दर्ता गरिँदाचाहिँ पार्टीमा सल्लाह नै नगरी राजीनामा दिनुलाई राप्रपा नेताहरूले रहस्यमयी ठानेका थिए । त्यसपछि शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन हुने क्रममा कमल थापा सरकारको पक्षमा उभिए । पार्टीमा सल्लाह भएर नै देउवाको पक्षमा उभिएका कारण त्यसबेला उनी विवादमा परेनन् । तर, त्यसपछि प्रधानमन्त्री देउवा र सत्ता–साझेदार नेता प्रचण्डसँग गुप्त रूपमा भेटघाट गरी आफूलाई उपप्रधानमन्त्री पद दिन माग गर्न थाले ।

राप्रपा सरकारमा सहभागी हुने पक्षमा भए पनि कमल थापालाई पुनः सरकारमा पठाउने पक्षमा थिएन । उता प्रधानमन्त्री देउवा पनि राप्रपालाई उपप्रधानमन्त्री दिने मानसिकतामा थिएनन् । उपप्रधानमन्त्री लिएर सरकारमा सामेल हुन गरेको प्रयासमा राप्रपाका नेता र प्रधानमन्त्री देउवा बाधक बने । यसैबीच मन्त्रिमण्डल विस्तार गरी सरकारलाई पूर्णता दिँदा कमल थापाको नाम मन्त्रिमण्डलमा परेन । यसले राप्रपा नेताहरूलाई प्रसन्न तुल्याएको थियो भने कमल थापालाई दुःखी । मन्त्रिमण्डल गठन हुनेबित्तिकै कमल थापाले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरे । तर, राप्रपा नेताहरूको बहुमत सरकारलाई साथ दिने पक्षमै थियो ।

सरकारलाई दिएको निर्णय फिर्ता लिएको घोषणा गरेलगत्तै कमल थापा एमाले नेताहरूसँग गुप्त भेटवार्तामा संलग्न हुने गरेको जानकारी राप्रपाका नेताहरूले पाए । गत स्थानीय निर्वाचनमा एमालेसँग तालमेल गर्नुलाई पनि राप्रपा नेताहरूले गलत कदमका रूपमा लिएका थिए । अहिले आएर पार्टीको मूल नेतृत्व नै एमाले नेताहरूसँग गुप्त साँठगाँठमा लागेको सुराक प्राप्त भएपछि राप्रपाका नेताहरू कमल थापासँगसँगै जान नसकिने निष्कर्षमा पुगेका हुन् । यसैको परिणामस्वरूप राप्रपा विभाजन हुन पुगेको छ, कमल थापा आफ्नै रागले चाउरिएको मरिच बनेका छन् ।