जनताको न्याय र रेणुको भाग्य

जनताको न्याय र रेणुको भाग्य



वडा नं. १९ मा पुनः चुनाव हुने भएपछि धेरैजसो बुद्धिजीवी र आमपत्रकार जगतले भरतपुर महानगरको सन्दर्भमा आफ्नो अभिमत जाहेर गर्दै निर्वाचन आयोग र सर्वोच्च अदालतले कानुन मात्र हेरेको, तर जनताले अब न्याय दिने कुरा बढी चर्चामा ल्याए । जनताले न्याय त दिए, तर त्यो न्याय बुद्धिजीवी र आमपत्रकार जगत्ले सोचेजस्तो भएन । जनताको त्यो न्याय एमाले उम्मेदवार देवी ज्ञवालीका निम्ति पराजयको विगुल बन्न पुग्यो भने काङ्ग्रेस–माओवादी उम्मेदवार रेणु दाहालको निम्ति विजयको शंखनाद । न्यायको नौ सिङ त सबैले देखे, तर लोकतन्त्रको लाखौँ सिङ त नभनौैँ लाखौँ ‘रङ’ हुन्छ भन्ने तथ्यचाहिँ सबैसामु छर्लङ्ग भयो ।

लोकतन्त्रको सुन्दरता भनौँ वा ‘नेसेसरी डेभिल’ भनौँ, लोकतन्त्रमा जनता नै जनार्दन हुन्छन् । लोकतन्त्रमा जनताले मन परिवर्तन गर्न पाउँछन् । हिजो भोट दिएकालाई आज दिन्न भन्न पाउँछन् । हिजो ‘आई लभ यु’ भनेकालाई आज ‘आई हेट यु’ भन्न पाउँछन् । हिजो ‘आई हेट यु’ भनेकालाई आज ‘मैले सरी भन्न ढिला त गरिनँ नि है !’ भन्दै लहसिन पाउँछन् । वैशाख ३१ गते चुनाव हुँदा जनताले रेणु दाहाललाई तत्कालीन प्रधानमन्त्री प्रचण्डकी पुत्रीका रूपमा बढी चिने । साउन २० गतेको चुनावमा जनताले उनलाई तमाम प्रतिकूलताका बाबजुद आफ्नो पहिचान बनाउन सङ्घर्षरत एक सामान्य घरकी छोरीका रूपमा बुझे । जनताको सहानुभूति रेणुतर्फ मोडियो र उनले चुनाव जितिन् । क्रिकेटमा आधारित कुनै चलचित्र हेरेजस्तै भयो भरतपुर महानगरपालिकाको चुनाव । अझ भनौँ, पाँचदिने टेस्ट क्रिकेटको नतिजा पाँचौँ दिनमा, त्यो पनि खेल सकिनुभन्दा केही क्षण मात्रै अगाडि दिउँसोको साढे चार बजेतिर आएजस्तै भयो । यस नतिजाका मुख्य खेलाडीहरू थिए– निर्वाचन आयोग, सर्वोच्च अदालत, माओवादी केन्द्र, नेपाली काङ्ग्रेस अनि नेकपा (एमाले) ।

निर्वाचन आयोगको सन्दर्भमा भन्नुपर्दा यो संवैधानिक निकायले कानुनभन्दा एक इन्च पनि पर्तिर जान मिल्दैनथ्यो । कानुनमा जे लेखिएको थियो, त्यही फैसला आयो र वडा नं. १९ मा पुनः चुनाव गराउने निर्णय भयो । तर, सर्वोच्च अदालतमा मुद्दा परेपछि सर्वोच्चले कानुनको व्याख्या गर्न सक्थ्यो । यदि ९० मतपत्र च्यातिएको हो भने ९० मतपत्रलाई होल्डमा राखी बाँकी मत गणना सम्पन्न गर्ने र ९० भन्दा कम मत अन्तरले जितहार हुने अवस्था आएमा मात्र पुनः मतदान गराउने गरी व्याख्यासहितको फैसला गर्न सक्थ्यो । त्यो एक सबैले रुचाएको आदर्श फैसला हुने थियो । तर, अहिलेको फैसलालाई पनि अलोकप्रिय त भन्न सकिएला, तर गलत नै चाहिँ भन्न सकिन्न । सर्वोच्चले कानुनको लिकभन्दा बाहिर गएर मनपरी फैसला गरेको छैन । कानुनमा जे छ, त्यही बोलिदिएको छ ।

सर्वोच्चको फैसलालाई मानिसको स्वभावसँग तुलना गर्न सकिन्छ । धेरैजसो मानिसको स्वभाव ‘कज एन्ड इफेक्ट’ (घटना र परिणाम) को सामान्य दर्शनमा आधारित हुन्छ । मतपत्र च्यातियो, यस ‘घटना’को कानुनी ‘परिणाम’ पुनः मतदान हुन्छ – सर्वोच्चले अँगालेको सामान्य दर्शन यही नै हो । सर्वोच्चकै कुनै–कुनै फैसला भने भूत, वर्तमान र भविष्य जोड्ने गरी बृहत् व्याख्यासहित आएको पाइन्छ । जस्तो कि, गिरिजाप्रसाद कोइराला अथवा मनमोहन अधिकारीले अलग–अलग मितिमा गरेका संसद् विघटनका निर्णयहरू । ती फैसलाको व्याख्या हेर्दा सर्वोच्च अदालत ‘घटना र परिणाम’को सामान्य दर्शनभन्दा निकै पर पुगेर ‘ई इक्वल्स् टु एमसी स्क्वेर्स’कै छेउछाउमा पुगेजस्तै भान हुन्छ ।

रेणु दाहालको सन्दर्भमा भन्नुपर्दा संविधानसभाको चुनावका काठमाडौंबाट हारेकी उनले यसपालि दह्रै भाग्य लिएर आएकी रहिछिन् भन्ने तथ्य बाहिर आएको छ र यसको मूल्य भने एमाले उम्मेदवार देवी ज्ञवालीले चुकाएका छन् ।

तर, यी सबै समय–समयका कुराहरू हुन् । समय, काल, परिस्थिति एकनास रहन्न । सर्वोच्चबाट हरेक समय ठूलो अपेक्षा राख्नुहुन्न । सर्वोच्चबाट ‘रुटिन’ निर्णयहरू पनि आउँछन् भन्ने तथ्य सबैले बुझ्नुपर्छ । सर्वोच्चबाट हरेक समय आइन्स्टाइनको भौतिकशास्त्रको सिद्धान्तजस्तै बृहत् व्याख्या आउँछ भनेर नसोच्नु नै राम्रो हुन्छ । चाहिनेभन्दा बढी अपेक्षा गर्नु पनि एक भूल नै हो ।

रेणु दाहालको सन्दर्भमा भन्नुपर्दा संविधानसभाको चुनावका काठमाडौंबाट हारेकी उनले यसपालि दह्रै भाग्य लिएर आएकी रहिछिन् भन्ने तथ्य बाहिर आएको छ र यसको मूल्य भने एमाले उम्मेदवार देवी ज्ञवालीले चुकाएका छन् । एमालेमा मतपत्र च्यातेकाले जिते भन्ने आक्रोश छ, तर अब चुनावको परिणाम नै आइसकेको अवस्थामा यसका सकारात्मक पक्षहरूमा नै बढी केन्द्रित हुनु आवश्यक देखिन्छ ।

स्थानीय चुनाव सम्पन्न भएका महानगर र उपमहानगरहरूमध्ये महिला मेयर चुनिएको भरतपुरमा मात्रै हो । यसले महिला सशक्तीकरणलाई थप बल पु¥याउनेछ । महिला सशक्तीकरण र समानताको सवालमा नेपाल दक्षिण एसियाकै लिडर हो । नेपालको यो लिडलाई रेणुले एक कदम अगाडि लगेकी छिन् । माओवादी नेता प्रचण्डलाई आफ्नो लेगेसी छोरा प्रकाश दाहालले कुनै न कुनै रूपमा थामिदिन सकेनन् भन्ने ठूलो पिर थियो । प्रचण्डको त्यो लेगेसी एक विजयी मेयरको रूपमा छोरी रेणुले थामिदिएकी छिन् । पारिवारिक वियोगका एकपछि अर्को घटना व्यहोरेका प्रचण्डलाई यस विजयले लोकतन्त्रमा इन्गेज भइराख्ने अनि लोकतन्त्रप्रतिको आस्थालाई मजबुत बनाउँदै लग्ने बलियो आधार प्रदान गरेको छ ।

काङ्ग्रेस सभापति शेरबहादुर देउवाले पनि रेणु दाहालको अभिभावकत्व स्वीकार गरेर, उनको उम्मेदवारीलाई समर्थन गरेर आफ्नो उदार दिलको परिचय दिएका छन् । प्रचण्ड र बाबुरामलाई जङ्गलबाट शान्तिप्रक्रिया अनि लोकतन्त्रको मूलधारमा ल्याउन गिरिजाप्रसाद कोइरालाले जुन भूमिका खेलेका थिए, त्यही हाराहारीको भूमिका अहिले देउवाले खेलेका छन् । यस अर्थमा देउवाले कोइरालाको शान्तिप्रतिको प्रतिबद्धता अनि राष्ट्रप्रतिको कर्तव्यको लेगेसी ग्रहण गरेका छन् ।

एमालेको सन्दर्भमा भन्नुपर्दा स्थानीय चुनावमा जनताले एमालेलाई सबैभन्दा बढी मत दिएका छन् र सबैभन्दा ठूलो पार्टी बनाइदिएका छन् । टर्रो सुपारीका दाना फल्ने रूख त अररो भएर सीधै माथि गएकै हुन्छन्, तर सयौँ आँप फल्ने छाहारीयुक्त रूख त लटरम्म मीठा फलसहित नुहेकै हुन्छ । एमालेको महानता नुहिनुमा नै छ । ‘डाउन टु अर्थ’ हुनु भनेको वास्तवमा ‘अप इन द स्काई’ नै हो । एमालेले यो तथ्य बुझेकै हुनुपर्छ । मेयरको दौडमा जित्दाजित्दै हार्न पुगेका देवी ज्ञवालीलाई भने गहिरो चोट परेकै हो । पार्टीले उनलाई उचित स्थान र उचित सम्मान दिनु राम्रो हुन्छ । तर, उनले पनि यो जित रेणु दाहालको होइन, लोकतन्त्रको हो भन्ने तथ्य बुझेकै हुनुपर्छ ।

समग्रमा सबै पक्षले लोकतन्त्रको जितमा आफ्नो–आफ्नो ठाउँबाट योगदान पु¥याएको देखिन्छ । हामी सबै नेपाली लोकतन्त्रलाई जरैदेखि मजबुत बनाउने अभियानमा थियौँ । त्यो अभियान स्थानीय चुनावका दुई चरण सफलतापूर्वक सम्पन्न भएसँगै एक हदसम्म पूरा भएको छ । कामहरू अझै पनि असरल्ल बाँकी नै छन्, तैपनि अहिलेसम्मको कामका लागि सबैलाई बधाई, अनि सबैलाई शुभकामना !

– न्युयोर्क