माओवादी केन्द्रको केन्द्रीय समिति खारेज

माओवादी केन्द्रको केन्द्रीय समिति खारेज


माओबादी केन्द्रको सवै नेताको एक तह घटुवा

नेकपा माओवादी केन्द्रले केन्द्रीय समिति भंग गर्ने भएको छ । चार हजारको संख्यामा रहेको पार्टी केन्द्रीय समिति भदौभित्र विघटन गर्ने तयारी गरेको सो पार्टीले जनाएको छ । जसअनुसार प्रदेश नम्बर २, ३ र ४ अन्तर्गतको केन्द्रीय सदस्यहरूको छुट्टाछुट्टै बैठक राखेर सिंगो केन्द्रीय समिति नै विघटन गर्ने प्रस्तावलाई अनुमोदन गरिएको छ ।

माओवादी केन्द्रले केन्द्रीय नेताहरूलाई एक तह घटुवा गर्दै केन्द्रीय समिति भंग गर्ने प्रस्तावलाई प्रदेश नम्बर ३ बाट अनुमोदन गराएको हो । ३९ सय ९९ जना सदस्य रहेको भद्दा केन्द्रीय समितिले पार्टी जीवनलाई धरापमा पारेको भन्दै माओवादी केन्द्रले आफ्नो केन्द्रीय समिति भंग गर्ने प्रस्तावलाई सातवटै प्रदेशबाट अनुमोदन गराइसके पछि केन्द्रीय समिति भंग गर्ने भएको हो । यसअन्तर्गत प्रदेश नम्बर ३ अन्तर्गतको केन्द्रीय समिति भंग गर्ने प्रस्ताव अनुमोदन भइसकेको छ । पार्टीले प्रदेश नम्बर २ र प्रदेश नम्बर ४ अन्तर्गतको केन्द्रीय समिति पनि भंग गर्ने प्रस्तावलाई अनुमोदन गराइसकेको छ ।

पार्टी केन्द्रीय कार्यालय सदस्य मणि थापाका अनुसार माओवादीले प्रदेश नम्बर ५ अन्तर्गतको केन्द्रीय समितिलाई बुधबार, प्रदेश नम्बर ७ अन्तर्गतको केन्द्रीय समिति १० भदौमा, प्रदेश नम्बर ६ अन्तर्गतको केन्द्रीय समिति ८ भदौमा र प्रदेश नम्बर १ अन्तर्गतको केन्द्रीय समिति १२ भदौमा विघटन गर्ने प्रस्ताव अनुमोदन गराउने कार्याक्रम रहेको जनाएका छन् । अनुमोदनका आधारमा पार्टी हेडक्वार्टरले पार्टीको सिंगो केन्द्रीय समिति खारेज गर्ने तयारी गरेको प्रवक्ता पम्फा भुसालले जानकारी दिएकी छिन ।