नातिनीप्रति पूर्व श्री ५ को बेग्लै चिन्ता

नातिनीप्रति पूर्व श्री ५ को बेग्लै चिन्ता


पोथी सिंहले आफ्नो बच्चा भाले सिंहबाट जोगाउन लुकाउने गरेको त सुनिएको हो, तर मानिसले बाबुबाट सन्तानको रक्षा गराउन लुकाएको भने सितिमिति सुनिँदैन । नेपालको उच्च राजनीतिक परिवारले बाबुको सङ्गतबाट जोगाउन सन्तानलाई टाढा पुर्‍याउनुपरेको समाचार घटना र विचारलाई प्राप्त भएको छ ।

पूर्व श्री ५ महाराजाधिराज ज्ञानेन्द्र अहिले बैंककमा हुनुहुन्छ । छोरा पारसबाहेक पूर्वराजा ज्ञानेन्द्र, रानी कोमल, बुहारी हिमानी र नातिनातिनी गरी पूर्वराजपरिवारका सबै सदस्य यतिबेला बैंककमा छन् । सपरिवार बैंकक पुग्नुलाई कतिले स्वास्थ्य उपचारका लागि भन्ने अनुमान गरे पनि उहाँहरू स्वास्थ्य उपचार या घुमघामका लागि बैंकक पुग्नुभएको भने होइन । प्राप्त जानकारीअनुसार ‘राजा’ ज्ञानेन्द्र आफ्नी जेठी नातिनी पूर्णिका राज्यलक्ष्मी शाहको कलेज भर्नाका लागि बैंकक जानुभएको हो । यसैपटक एसईई सकेकी आफ्नी नातिनी पूर्णिकालाई आफ्नै देशमा पढाउने उहाँको इच्छा थियो, तर समयक्रममा उक्त इच्छालाई मार्दै आफ्नी अति प्रिय नातिनीलाई बैंककसम्म पुर्‍याउन उहाँ बाध्य हुनुभएको छ ।

पारिवारिक स्रोतका अनुसार, पूर्णिकाका लागि बैंककको फुकेटस्थित ब्रिटिस सम्बद्धता भएको कलेज चयन गरिएको छ । आफूहरूले लन्डनमा अध्ययन गरेको भए पनि राजा ज्ञानेन्द्र आफ्ना नातिनातिनीलाई नेपालमै पढाउन चाहनुहुन्थ्यो । सकेसम्म नेपालकै स्वास्थ्य संस्थामा उपचार गर्ने र नेपालकै शिक्षण संस्थामा बच्चाहरू पढाउने पूर्वराजपरिवारको चाहना रहेको बताइएको छ । तर, आफ्ना ‘टिनएजर’ छोराछोरीलाई बाबु पारसले हप्तैपिच्छे डिस्कोमा लिएर जान थालेपछि राजपरिवारमा एकप्रकारको त्रास फैलिएको बताइन्छ । अगुल्टाले हानेको कुकुर बिजुली चम्किँदा तर्सन्छ भनेझैँ आफ्नो छोराको विगतबाट त्रसित बाबुले नातिनातिना कुसङ्गतमा नलागुन् भनेर यस्तो निर्णय गर्नुपरेको हो ।

बच्चाहरूसँगको छोरा पारसको सामीप्यलाई पूर्वराजाले सकारात्मक रूपमा लिँदै आउनुभएको पनि थियो । पूर्वयुवराज्ञी हिमानीले पनि बच्चाहरूलाई बाबुका साथमा पठाउन कुनै हिच्किचाहट गर्नुभएको थिएन । तर, बच्चाहरूलाई लिएर डिस्को जान थालेपछि र डिस्को गएको फोटोहरू मिडियामा आउन थालेपछि भने उहाँहरू झस्किनुभएको र बाबुबाट टाढा राख्नका लागि अन्ततः मुलुकबाहिरै पठाउने निर्णयमा पुग्नुपरेको हो ।

बैंककमा अनेक काण्डमा मुछिएर आफूले आफैँलाई चिन्न गाह्रो हुने अवस्थामा नेपाल फर्किएका पारस आफ्ना बाबु पूर्व श्री ५ ज्ञानेन्द्र र श्रीमती हिमानीसँग टाढिएको भए पनि छोराछोरीसँग नजिक छन् । छुट्टीका दिन बच्चाहरूलाई लिएर घुम्न मन पराउने पारस फुर्सद हुनासाथ बच्चाहरूलाई आफू भए ठाउँ बोलाउने या घुम्नका लागि भन्दै बाहिर लिएर जान थालेका थिए । एउटा बाबुका रूपमा उनले गरेको उक्त कार्य गलत होइन । सुरक्षा स्रोतका अनुसार बच्चाहरूसँगको छोरा पारसको सामीप्यलाई पूर्वराजाले सकारात्मक रूपमा लिँदै आउनुभएको पनि थियो । पूर्वयुवराज्ञी हिमानीले पनि बच्चाहरूलाई बाबुका साथमा पठाउन कुनै हिच्किचाहट गर्नुभएको थिएन । तर, बच्चाहरूलाई लिएर डिस्को जान थालेपछि र डिस्को गएको फोटोहरू मिडियामा आउन थालेपछि भने उहाँहरू झस्किनुभएको र बाबुबाट टाढा राख्नका लागि अन्ततः मुलुकबाहिरै पठाउने निर्णयमा पुग्नुपरेको हो ।

पारस लामो समयसम्म बैंककमा बस्नुभएको भए तापनि ‘क्रिमिनल एक्टिभिटी’मा संलग्न भई प्रहरी हिरासतमा समेत परिसकेका कारण फेरि फर्किएर बैंकक जान पाउने स्थिति छैन । बाबुले भेट्नै नपाउने ठाउँमा छोरीलाई पढ्न पठाएकोमा पूर्वराजपरिवारमा एकप्रकारको सन्तुष्टि छाएको बुझिएको छ । पूर्णिकालाई कलेजमै बस्ने व्यवस्था गरिएको छ । पढाइमा अब्बल उहाँले एसईईमा ए प्लस ल्याउनुभएको थियो ।

यही साउन १४ गते नाति हृदयेन्द्रको १६औँ जन्मदिन मनाएर बच्चाहरूका साथ १८ गते राजपरिवार बैंककतर्फ प्रस्थान गरेको हो । ‘राजा’ ज्ञानेन्द्र साउनको पहिलो हप्ता नर्भिक अस्पतालमा उपचार गराई डिस्चार्ज हुनुभएको थियो । मुटुमा समस्या देखिएपछि उहाँ अस्पताल भर्ना हुनुभएको थियो । ससाना स्वास्थ्य समस्या देखिँदा जचाउन नेताहरू विदेश जाने गरेको सन्दर्भमा पूर्वराजाले स्वदेशमै उपचार गराउनुलाई प्रशंसनीय मानिएको छ । तर, पारिवारिक सन्तुष्टि भने छोराकै कारण उहाँले पाउन सक्नुभएको छैन । छोराको आचरणमा सुधार ल्याउन गरिएका अनेकौँ प्रयास असफल भएपछि छोराको सङ्गतबाट नातिनातिनीलाई जोगाउन आफूले नचाहेको कदम चाल्न उहाँ बाध्य हुनुभएको छ ।