सही या गलत प्रस्ट हुँदै सामाजिक संस्थाका क्रियाकलाप

सही या गलत प्रस्ट हुँदै सामाजिक संस्थाका क्रियाकलाप



लगभग ६० लाख नेपाली देशबाहिर बसोबास गर्छन् । नेपाली जहाँ गए पनि नेपाल र नेपालीत्व बोकेरै गएका हुन्छन् । नेपाली भाषा, कला र संस्कृति जोगाइराख्न हरेक देशमा नेपालीको एउटा न एउटा सामाजिक संस्थाहरू खुलेका हुन्छन् र यो क्रम बढ्दो छ । यस्ता सामाजिक संस्थाको मुख्य उद्देश्य भनेकै नेपालीत्व जोगाउनु हो र सकेसम्म नेपाल र नेपालीलाई परेको बेला आवश्यक सहयोग गर्नु नै हो । बिदेसिनु नेपालीको बाध्यता हो । केहीका रहर होलान् र केहीका शिक्षा आर्जन गर्ने उद्देश्य पनि हुन सक्छ । जे–जति कारणले बिदेसिए पनि बिदेसिएपछिका व्यथा र वेदना भने प्रायः सबैका उस्तै छन् ।
नेपालबाहिर बसेपछि गाउँघरको याद आउँछ भनेको बेला घर जान पाइँदैन, चाडपर्व आउँछन् र जान्छन् । साथीभाइ वर्षाैंसम्म देख्न पनि पाउँदैनन् । त्यो सबै पीडा मेटाउन बनेको हुन्छ सामाजिक संस्था । हरेक देशमा सामाजिक संस्थाहरू मुनाफारहित र खोलिएको राज्यको नियमअनुसारको हिसाबले दर्ता गरिएका हुन्छन् । दर्ता नगरी नाम मात्रले खोलिएका संस्थाहरू आधिकारिक हुँदैनन् ।

सामाजिक संस्थाहरूमा विभिन्न पदमा आसीन पदाधिकारीको आफ्नै काम र कर्तव्य हुन्छ । समयमा विभिन्न कार्य गर्नुपर्छ । अत्यधिक समय दिनुपर्छ । समाजका हरेक बाधा–अड्चन पन्छाउन सक्नुपर्छ । सोचेजस्तो सजिलो छैन सामाजिक संस्थाको प्रतिनिधि भएर काम गर्न । समाजप्रति सच्चा भावना भएर सेवा गर्नेहरूको भीड देखिन्छ । दुःख परेको बेला आर्थिक सहयोग उठाउने, कागजी समस्याहरू समाधान गराउन लागिपर्ने, वनभोज, भेटघाट र अन्य धेरै समय र परिस्थितिअनुसारका कार्यक्रमहरू गराउने र गाउँघर छोडेर बस्दाको पीडा कम गराउने । विभिन्न सांस्कृतिक कार्यक्रमहरू गराउने । चाडपर्वहरू, रीतिरिवाज भुल्न नदिन ससाना बाबुनानीहरूलाई भाषा, कला र संस्कृतिका कार्यक्रमहरू गराइरहने । धेरै काम हुन्छन् सामाजिक संस्थामा । देखिने र नदेखिने धेरै प्रकारका काम भइहन्छन् ।

यस्तै, सामाजिक संस्थाहरू एकपछि अर्काे गर्दै अहिले धेरै देशमा हातमा गन्न नसकिने संस्था स्थापना भएका छन् । यसै क्रममा नेपाली राजनीति, नेपाली जात र धर्मसँग सम्बन्धित संस्था पनि प्रशस्त खोलिएका छन् । त्यतिले मात्र नपुगेर अहिले जिल्लाको नाम गरेरसमेत संस्थाहरू धमाधम खुल्न थालेका छन् । संस्था खुलेपछि त्यसमा कार्यसमिति हुन्छ । कार्यसमितिमा केही व्यक्ति प्रमुख पदहरूमा पदासीन हुन्छन् । प्रत्येक संस्थाको विधान हुन्छ र सम्बन्धित निकायमा दर्ता हुन्छ । यी सबै प्रक्रियाअनुरूप भएपछि मात्र त्यस संस्थाले संस्थाको हितका लागि विधानअनुरूप आर्थिक क्रियाकलाप गर्न पाउने प्रावधान हुन्छ । कुनै पनि संस्थाको कार्यसमितिको निश्चित कार्यअवधि हुन्छ । त्यो समयमा संस्थाको विधानअनुरूप वार्षिक अथवा पञ्चवार्षिक जे विधानले तोकेको छ नयाँ कार्यसमिति गठन गर्नुपर्छ । सामाजिक संस्थाको नयाँ कार्यसमिति गठन गर्दा विधानले सदस्यहरू किटान गरेको छ भने सदस्यहरू सबैलाई खबर गरिएको हुनुपर्छ । त्यस्ता संस्थाले कोठामा दुई–चारजना बसेर नयाँ कार्यसमिति गठन गर्ने अधिकार हुँदैन । उक्त क्रियाकलापविरूद्ध उजुरी गरी सम्बन्धित निकायबाट कमिटी खारेज हुन सक्छ ।

सामाजिक संस्थाहरू समाजसेवाको उद्देश्यले मात्र खोलिने भए पनि हिजोआज के सबै संस्थाले आफ्नो कर्तव्य निभाएका छन् कि छैनन् भनेर चासो राख्नु हामी सबै समाजसँग सम्बन्धितहरूको कर्तव्य हुन्छ । सामाजिक संस्थाको साख, पदको दुरुपयोग, सम्मानको लालचले गर्दा हरेक साल नयाँ संस्था गठन भइरहेका छन् । सामाजिक संस्था खोल्ने र वर्षाैंसम्म कुनै क्रियाकलाप नै नगरी प्रमुख पदहरूमा आसीन भएर दोसल्ला मात्र थापिरहने सामाजिक संस्थाहरू किन र केका लागि खोलिएका हुन् भन्ने आवाज उठ्नुलाई अन्यथा लिनैपर्दैन । समाजसेवाका लागि संस्थाको पद ग्रहण गर्नु र पदका लागि समाजसेवा गर्नुमा अन्तर छ । सामाजिक संस्थाले सार्वजनिक रूपमा आर्थिक पारदर्शिता देखाउन सकेन भने, समयमा वार्षिक साधारणसभा राख्न सकेन भने र वर्षाैंसम्म केही नगरी पद ओगटेर बसिरहन्छ भने त्यो सामाजिक संस्थाको यथार्थ बुझ्न त्यो समाजसँग जोडिने जोकोहीको पनि कर्तव्य हुन्छ ।

सामाजिक संस्थाको साख, पदको दुरुपयोग, सम्मानको लालचले गर्दा हरेक साल नयाँ संस्था गठन भइरहेका छन् । सामाजिक संस्था खोल्ने र वर्षाैंसम्म कुनै क्रियाकलाप नै नगरी प्रमुख पदहरूमा आसीन भएर दोसल्ला मात्र थापिरहने सामाजिक संस्थाहरू किन र केका लागि खोलिएका हुन् भन्ने आवाज उठ्नुलाई अन्यथा लिनैपर्दैन । समाजसेवाका लागि संस्थाको पद ग्रहण गर्नु र पदका लागि समाजसेवा गर्नुमा अन्तर छ । सामाजिक संस्थाले सार्वजनिक रूपमा आर्थिक पारदर्शिता देखाउन सकेन भने, समयमा वार्षिक साधारणसभा राख्न सकेन भने र वर्षाैंसम्म केही नगरी पद ओगटेर बसिरहन्छ भने त्यो सामाजिक संस्थाको यथार्थ बुझ्न त्यो समाजसँग जोडिने जोकोहीको पनि कर्तव्य हुन्छ ।

अरू देशको तुलनामा अस्ट्रियामा नेपालीसँग सम्बन्धित सामाजिक संस्थाहरू धेरै छैनन्, हातमा गन्न सकिने नै छन् । विशेषगरी प्रायः सामाजिक संस्थाहरूको नियमित क्रियाकलापले समाजमा भेटघाट, सांस्कृतिक कार्यक्रम र अन्य क्रियाकलापले गर्दा समाजमा केही गर्नुपर्छ भन्ने भावना बाँचिरहेको छ । ती सामाजिक संस्थाहरूले नेपाल र नेपालीको भाषा, कला र संस्कृतिलाई जोगाउन धेरै मद्दत पुगेको छ । समाजमा अन्य संस्था पनि छन् । पूर्ण रूपमा नेपाल र नेपालीसँग सम्बन्धित पनि छन् । आर्थिक क्रियाकलाप पनि गरेका छन् । नियमित अन्य संस्थाको कार्यक्रमहरूमा फलानो संस्थाको प्रतिनिधि भनेर दोसल्ला ओढाइन्छ । परर्र ताली बज्छ, तर यी संस्थाले के गरिरहेका छन् भनेर कसैले एक शब्द आवाज उठाउने हिम्मत गरेका थिएनन् । कसैलाई वास्तै छैन । छैन भन्दा पनि आजसम्म थिएन भनौँ ।

अचानक भियनामा लामो समयदेखि बसोबास गर्दै आउनुभएका एकजना युवा सागर सुवेदीले सामाजिक संस्थाहरूको क्रियाकलाप, आर्थिक पारदर्शिता, साधारणसभा र साधारण सदस्यका विषयलाई लिएर केही सामाजिक संस्थाप्रति सामाजिक सञ्जालमा व्यापक खण्डन गर्न थालेपछि मानिसहरूको ध्यान सामाजिक संस्थाको क्रियाकलापप्रति खिचिएको छ । उहाँको माग छ– आर्थिक पारदर्शिता, साधारणसभा र संस्थाका क्रियाकलापको विवरण । यस मागले गर्दा संस्थाका प्रतिनिधिमा हचलच नै ल्याइदिएको अवस्था छ । यद्यपि सागर सुवेदीलाई खुलेर उहाँका मागलाई नैतिक समर्थन गर्ने समाजसेवीको भने व्यापक अभाव देखियो । कसैले पनि यस विषयलाई खुलेर समर्थन गर्न सकेनन् । कुराकानीमा मात्रै सागरको राम्रो काम हो भन्न सक्नेहरू आगामी कार्यकालको चुनावमा असर पर्ने भएकाले कुनै समर्थन खुलेर गर्न नसक्ने केही बुद्धिजीवीको राय छ ।

मसँगको व्यक्तिगत कुराकानीमा सागर सुवेदीको माग ठीक भए पनि कुनै पनि सार्वजनिक विचार व्यक्त गर्न नचाहने र समर्थन गर्न नसकिने समाजका केही प्रतिनिधि भन्नुहुन्छ । तर, समाजमा अरू पनि सामाजिक संस्था छन् तिनीहरूको छवि, व्यवहार, कार्यविधिहरू सबै राम्रा छन्, ती सामाजिक संस्थाका प्रतिनिधिले बुझ्नुपर्ने हो । सागर सुवेदीले संस्थाको आर्थिक पारदर्शिताको माग गरेका हुन्, कुनै गलत गरेका होइनन् । साधारणसभाको माग गर्नु सामाजिक अपराध होइन । किन हिम्मत भएन अरू सामाजिक व्यक्तित्वहरूको समर्थन गर्न ?

यस विषयमा सोधपुछ गर्न मैले सागर सुवेदीसँग टेलिफोन सम्पर्क गरी सोधेँ । उहाँ भन्नुहुन्छ– जबसम्म दर्ता भएका सामाजिक संस्थाहरूले आफ्नो मुख्यतया क्रियाकलाप र आर्थिक पारदर्शिता नेपाली समाजमा छर्लङ्ग पार्नुहुन्न म यो अभियान जारी राख्ने छु । अस्ट्रियन सरकारको सामाजिक संस्थाहरू हेर्ने विभागसम्म पुगेर विभिन्न संस्थाहरूको बारेमा बुझ्नसमेत पछि पर्नुभएन सागर सुवेदीजी । यसको मतलब उहाँले नेपाली समाजलाई संस्थाहरूको आर्थिक पारदर्शिता दिलाएरै छोड्न अरूले साथ दिए पनि नदिए पनि पछि नहट्ने वाचामा प्रतिबद्ध हुनुभएको देखिन्छ ।

सुवेदीजी थप भन्नुहुन्छ– अहिलेसम्म हामी लामो सङ्घर्षपछि विदेशी भूमिमा वैधानिक रूपमा दह्रोसँग खुट्टा राख्ने प्रयासमा नै छौँ, तर केही पदलोलुप नेपाली २–४ जना मान्छे जोड्यो अनि संस्था खोल्यो, नेपाली समाजका कार्यक्रमहरूमा प्रतिनिधि भएर पुग्यो र खादा ओढ्यो यो प्रवृत्तिको अन्त्य हुनुपर्छ । मलाई यही विचारले विगत १० वर्षदेखि सताइरहेको थियो । मेरो उद्देश्य भनेकै नेपाल र नेपालीका नाममा खोलिएका संस्थाहरूलाई नेपाल र नेपालप्रति जवाफदेही बनाउने र यस्ता संस्थाको आर्थिक पारदर्शिता अस्ट्रियामा बस्ने नोपलीबीचमा सार्वजनिक गराउने नै हो । अस्ट्रियामा एउटा यस्ता संस्थाका प्रतिनिधि पनि भेटिए जसलाई आफ्नो संस्थाको विधान छ या छैन समेत थाहा छैन । संस्थाको अध्यक्षको काम मात्र सार्वजनिक कार्यक्रममा पुग्ने, खादा ओढ्ने र संस्था जीवित राख्ने । जब मैले संस्थाबारे सार्वजनिक रूपमा सामाजिक सञ्जालमा प्रश्न उठाएपछि नाटकीय रूपमा केही नजिकका साथीलाई बोलाएर साधारणसभाको नाटक गरियो र पनि संस्थाको आर्थिक र अन्य क्रियाकलापलाई पारदर्शी गराउने कार्यमा भने मैले सफलता पाएँ । अहिले अर्काे संस्थाको जानकारी बटुल्ने कार्यमा व्यस्त छु । छिट्टै अरू थप क्रियाकलाप अगाडि आउनेछ । आशा छ– सबैको साथ हुनेछ । केही साथीले नैतिक समर्थन गरे पनि खुलेर लाग्न भने सकेका छैनन् । उनीहरूको समाजमा आगामी कार्यसमितिमा चुनाव लड्न असर पर्ने राय छ । मलाई यसमा कुनै मतलब भएन । यथार्थ मागहरू कानुनी या सामाजिक कुनै पनि तरिका अपनाएर म आफ्नो उद्देश्य पूरा नगरी पछि हट्नेछैन ।

संसारभर रहने नेपाली जहाँ तपाईंहरू हुनुहुन्छ तपाईं वरपर पनि सामाजिक संस्थाहरू पक्कै छन् । यदि कुनै पनि क्रियाकलापमा तपाईंलाई विश्वास छैन भने सागर सुवेदीको अभियानलाई पछ्याउन सक्नुहुनेछ र समाजलाई सूचित गर्ने समाजसेवी बन्न सक्नुहुनेछ ।

– भियना (अस्ट्रिया)