मेलम्ची खानेपानीको काम फेरि किन रोकियो ?

मेलम्ची खानेपानीको काम फेरि किन रोकियो ?


बहुचर्चित मेलम्ची खानेपानी आयोजनको काम फेरी रोकिएको छ । स्थानीय सहायक ठेकेदारहरुले आयोजनामा तालाबन्दी गरेसंगै आयोजनाको काम अघि बढ्न नसकेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।

स्थानीय ठेकेदार, निर्माण व्यवसायीहरु, सामान आपूर्तिकर्ताहरु तथा स्थानीय कामदारहरुले सम्झौता अनुसारको रकम नपाएको भन्दै तालाबन्दी गर्दा काम रोकिएको समितिद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।

मेलम्ची खानेपानी विकास समितिले गत ०७० सालमा भएको सम्झौता अनुसार मुख्य ठेकेदार कम्पनी सिएमसीलले पाउनुपर्ने रकम समयमै भुक्तानी भैरहेको जनाएको छ ।
समितिले अन्य सहायक कन्ट्रयाक्टर एवम् आपूर्तिकर्ताहरुको रकम भुक्तानी लगायतका विषयहरु मुख्य ठेकेदारको नै दायित्व हुने बताएको छ ।

आयोजनाको कार्यमा संलग्न नेपाली निर्माण व्यवसायीहरु,सामान आपूर्तिकर्ताहरु तथा कामदारहरुका भुक्तानी लगायतका समस्याहरु अविलम्ब समाधान गरी काममा तिव्रता ल्याउन समितिले मुख्य ठेकेदार कम्पनीलाई निर्देशन दिएको उल्लेख छ ।

१९ फ्रेवुअरी,३ मार्च,२१ मार्च ,१५ मे,११ जुन, मा लिखित रुपमा डिजाइन तथा सुपरभिजन परामर्शदाता कम्पनी मार्फत निर्माण व्यवसायीलाई पटक पटक निर्देशन दिएको समितिले जनाएको छ । साथै २०७४ साउन २२ गते समितिको कार्यालयमा बोलाइ स्थानीय व्यवसायीहरुका समस्या अविलम्ब समाधान गर्न लिखित निर्देशन दिएको समेत विज्ञप्तीमा उल्लेख छ ।

सरोकारवाल पक्षलाई निर्माण व्यवसायीसंग भएको सम्झौता अनुसार दुवैपक्ष बसी आपसी विवादमा समाधान खोज्न र जिम्मेवार हुन आग्रह समेत गरेको छ ।