प्रचण्डको खुलासा : ‘धर्मको सहारामा राजा ल्याउने खेल’

प्रचण्डको खुलासा : ‘धर्मको सहारामा राजा ल्याउने खेल’


नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले धर्मनिरपेक्षताको विरोध गर्दै राजतन्त्र उल्टाउने खेल चलिरहेको बताएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका उनले भने, ‘परिवर्तन उल्ट्याउनका लागि देशभित्र र बाहिरका शक्तीहरुले ठूलो कसरत गरिरहेका छन् ।

परिवर्तनका एजेन्डा उल्ट्याउने कोसिस भइरहेका छन् । पार्टीको तीन नम्बर प्रदेश स्तरीय बैठक तथा प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले देशमा ठुल्ठुला दुर्घटनाको तयारी भइरहेको पनि दाबी गरे । धेरै ठुल्ठुला शक्तिहरु धर्मनिरपेक्षता उल्ट्याउनेमा छन्, यो धेरै अघि बढिसकेको छ। धर्मनिरपेक्षताको विरोधको डिब्बामा राजा आउनेवाला छ ।’

तपाईंहरुले हेर्दाहेर्दै माओवादी जनयुद्ध राजनीति हैन, यो अपराधकर्म हो भनेर तपाईं हामीलाई सताउनेवाला छन् । आत्मसमर्पण गरे पनि यिनले सुख दिनेवाला छैनन् ।’ उनले आफू पनि बिस्तारै मानसिक रुपले दोस्रो बिद्रोहको मानसिकता बनाउँदै गरेको बताए ।

उनले आफ्ना नेता कार्यकर्तालाई मानसिक रुपमा दोस्रो विद्रोहका लागि तयार हुन अपिल समेत गरे । प्रचण्डले पार्टी निर्माण गरेर यस्ता दुर्घटनाविरुद्ध लड्न सकिने तर आफूहरु पार्टी नै बनाउन नसक्ने जस्तो अवस्थामा पुगेकोमा चिन्ता व्यक्त गरे । ‘ठेकेदारका पछि लागेर पैसा लिने र आफ्ना साथीलाई नङ्ग्याउन हामीलाई मज्जा आइरहेको छ, हाम्रो यो रोग अब उपचार गर्न नसक्ने भइसक्यो,’ उनले भने, ‘ अब हाम्रो दबाइ विरोधीहरुले गर्नेवाला छन् ।