करोडौँ युनिट विद्युत् कसरी खेर गयो ?

करोडौँ युनिट विद्युत् कसरी खेर गयो ?


नेपाल विद्युत् प्राधिकरण हेटौँडा वितरण केन्द्रअन्तर्गतका आठ वितरण केन्द्रमा मात्रै १७ करोड १९ लाख २२ हजार ५४ युनिट विद्युत् खेर गएको छ ।

आर्थिक वर्ष २०७३/७४ मा सो वितरण केन्द्रलाई एक अर्ब ११ करोड ७२ लाख तीन हजार ९६ युनिट विद्युत् उपलब्ध गराएको थियो ।

त्यसमध्ये उक्त परिमाणको विद्युत् खेर गएको भन्दै प्राधिकरणले गम्भीर चासो व्यक्त गरेको छ ।
चुहावट नियन्त्रणको प्रयास निरन्तर अगाडि बढे पनि उल्लेख्य मात्रामा चुहावट भइरहेको भन्दै आगामी छ महिनाभित्र परिणाम देखिने गरी चुहावट नियन्त्रण नगरे सम्बन्धित वितरण केन्द्र र क्षेत्रीय प्रमुखलाई कारबाहीको दायरामा ल्याउने प्राधिकरणले जनाएको छ ।

उक्त क्षेत्रीय कार्यालयलाई आव २०७२/७३ मा ८१ करोड ३१ लाख ८१ हजार ७२५ युनिट विद्युत् उपलब्ध गराएकामा १४ करोड ८४ लाख ४७ हजार ९७४ युनिट विद्युत् खेर गएको छ । सो आवमा सो क्षेत्रीय कार्यालयले ६६ करोड ४७ लाख ३३ हजार ७५१ युनिट विद्युुत् बिक्री गरेको थियो ।

प्राधिकरणका अनुसार गौरमा तीन करोड ७६ लाख ५२ हजार ५८१ युनिट विद्युत् खेर गएको छ । सिमरामा एक करोड ३० लाख नौ हजार ८१७ युनिट, पालुङमा ११ लाख ६८ हजार ६८९, वीरगञ्ज चार करोड ३० लाख ७८३, कलैयामा चार करोड एक लाख ७५ हजार ५८४, हेटौँडामा एक करोड ८७ लाख ५९ हजार ५४६, टाँडीमा ८३ लाख १० हजार ७२१ युनिट र भरतपुरमा ९८ लाख ४४ हजार ३३३ युनिट विद्युत् खेर गएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले हेटौँडा  क्षेत्रीय कार्यालय मातहतका वितरण केन्द्रले दुई प्रतिशत चुहावट घटाउनु भनेको अन्य क्षेत्रीय कार्यालयको तुलनामा दश प्रतिशतभन्दा बढी हुने भएकाले जुनसुकै शर्तमा पनि चुहावट नियन्त्रण गर्नुपर्ने बताउनुभयो ।

प्राधिकरणले कलैया वितरण केन्द्रलाई दिएको योजनाअनुसार चुहावट घटाउन असफल भएको छ । सो वितरण केन्द्रको आव २०७२÷७३ मा ५०.३६ प्रतिशत चुहावट रहेकामा आव २०७३/७४ मा ६.७० प्रतिशत बढेर ५६.७० पुगेको छ ।