छाउको घाउ र समाजको प्रतिकार

छाउको घाउ र समाजको प्रतिकार



सुदुरपश्चिमका पहाडी ग्रामीण क्षेत्रका छाउगोठमा किशोरी तथा युवतीहरूको मृत्यु भएको समाचार बेलाबेलामा प्रकाशित–प्रसारित भइरहेका छन् । केही हप्ताअघि पनि यस्तै समाचार आयो । समाचार थियो– ‘छाउगोठमा बसेको बेला सर्पले डसेर दैलेखमा एक किशोरीको मृत्यु ।’ तर, छाउगोठभित्र हुने यस्ता त्रासद घटनाबारे हाम्रो समाज अझै संवेदनशील देखिएको छैन ।

झण्डै पाँच वर्षअघिबाट सुदुरपश्चिममा छाउपडी प्रथा उन्मुलन गर्ने उद्देश्यले त्यहाँका छाउगोठहरू भत्काउन थालियो । गैरसरकारी संस्था (गैसस) हरूद्वारा छाउगोठविरुद्ध अभियान सञ्चालन पनि भए । यस अभियानमा समाजका विभिन्न तप्कालाई सामेल गर्ने प्रयास गरियो । यो अवधिमा झण्डै पाँच करोड रुपियाँ छाउगोठ भत्काउन मात्र खर्च भएको बताइन्छ । जबसम्म बाहिरका दाताले रकम दिइरहे अभियान पनि चलिरह्यो । तर जब उताबाट रकम पठाउन छोडियो, गैससहरू जताबाट आएका थिए उतै फर्के । सबभन्दा दुःखको कुरा त… अभियानमै हिँडेका महिलाहरू पनि फेरि छाउगोठमै फर्किए ।
हाम्रो समाजमा उदेकलाग्दो विडम्बनाले जग हालेको छ । हाम्रा अभिभावक धर्म र अन्धविश्वासको आडमा छोरी, बुहारी र पत्नीलाई मृत्युको मुखमा पु¥याउन तयार छन् । उनीहरू देउता लाग्ला भनेर सडेका मान्यता बोक्न छोड्दैनन् । छाउगोठ यही अन्धताको परिणाम हो । यस्ता छाउगोठमा धेरै छोरीहरू आँधी–हुरी, बाढी, चिसो, रोग–संक्रमण, जङ्गली जनावरको आक्रमण, सर्पदंश, बलात्कार आदिका शिकार हुने गरेका छन् । डर–त्रासले उनीहरूको मानसिकतामा पर्ने घातक प्रभाव उत्तिकै छ । सुदूरपश्चिमको यो कलंक आधुनिकतातर्फ अग्रसर नेपाली समाजको गलगाँड हो । एउटै समयमा पनि मुलुकका केही भागमा एक्काइसौं शताब्दीको आधुनिक जीवनशैलीको प्रभाव छ भने सुदूरपश्चिमको छाउपडीसमर्थक समाज अझै मध्ययुगमा बाँचिरहेको छ भन्न करै लाग्छ ।

हाम्रो संविधानमा सिमाङ्कन भएअनुसार प्रदेश नम्बर ६ र सातका जिल्लाहरू (सुर्खेत, बझाङ, दैलेख, अछाम, डोटी, बाजुरा आदि) मा महिलालाई रजस्वला भएका बेलामा घरभन्दा बाहिर छाउगोठ (अँध्यारो, साँगुरो, हावा नखेल्ने, छाना चुहिने कोठा) मा राख्ने कुप्रथाले नराम्ररी जरा गाडेको छ । यो कुरा पाँच वर्षअघि शुरु गरिएको छाउगोठ भत्काउने अभियान विफल हुनुले उदाङ्ग पारेको छ । संसारभरिका सबै महिला आफ्नो यौवनकालमा मासिकश्राव वा रजस्वलाको चक्रमा रहन्छन् । रजस्वला प्राकृतिक र जैविक तथा नियमित प्रक्रिया हो । यसको पाप या धर्मसँग कुनै सम्बन्ध छैन । तर यो मान्यताले काम गर्दैन त्यहाँ । चेतनाको अभावले त्यो समाज रुढीग्रस्त र मानवद्वेषी बनेको छ । रजस्वलाबारे जैविक तथ्य र विज्ञान बुझिसकेका किशोरी तथा युवतीलाई पनि यसरी छाउगोठमा बस्नुपर्ने बाध्यता छ । घरमा अनिष्ट हुन्छ भनेर धामी र समाजले भनेपछि उनीहरू विद्रोह गर्न सक्दैनन् ।
हुनत छाउपडी कुप्रथा नियन्त्रणका लागि सरकारी प्रयास पनि नभएको होइन । सर्वोच्च अदालतले २०६२ सालमा छाउपडी प्रथालाई कुप्रथाको रुपमा व्याख्या गरेको थियो र यसको अन्त्य गर्न सरकारलाई आदेश दिएको थियो । २०६४ सालमा सरकारले छाउपडी प्रथा उन्मुलनसम्बन्धी निर्देशिका–२०६४ जारी गर्‍यो । तर हाम्रो कानुन कार्यान्वयन पक्षमा दोहोरिरहने बिडम्बना ! उक्त निर्देशिका अहिलेसम्म सरकारको कुन दराजमा थन्केर धुलोले पुरिएको छ स्पष्ट हुन सकेको छैन ।

झण्डै पाँच वर्षअघिबाट सुदुरपश्चिममा छाउपडी प्रथा उन्मुलन गर्ने उद्देश्यले त्यहाँका छाउगोठहरू भत्काउन थालियो । यस अभियानमा समाजका विभिन्न तप्कालाई सामेल गर्ने प्रयास गरियो । यो अवधिमा झण्डै पाँच करोड रुपियाँ छाउगोठ भत्काउन मात्र खर्च भएको बताइन्छ । जबसम्म बाहिरका दाताले रकम दिइरहे अभियान पनि चलिरह्यो । तर जब उताबाट रकम पठाउन छोडियो, गैससहरू जताबाट आएका थिए उतै फर्के । सबभन्दा दुःखको कुरा त… अभियानमै हिँडेका महिलाहरू पनि फेरि छाउगोठमै फर्किए ।

छाउपडी नियन्त्रण गर्ने मामिलामा सबभन्दा बढी हाम्रै समाज चुकेको छ । धर्मप्रति आस्था र विश्वास हुनुपर्छ तर अन्धविश्वास हुनु हुँदैन । अन्धविश्वासले व्यक्ति र समाजलाई सकारात्मक भन्दा नकारात्मक मार्गतिर डो¥याउँछ । के धर्मले कसैलाई पनि पीडा दिने र मार्ने कुराको व्याख्या गर्छ र ? के आधा जनसंख्याको समस्या समाजको समस्या होइन ?

हाम्रो ग्रामीण समाजमा मानिस तथा पशुपंक्षी बिरामी पर्दा, गाईभैंसीले दुध नदिँदा धामीकोमा हेराउन जाने चलन अझै छ । धामीले यताउती नहेरी सिधै छाइछुइको कारणले भएको भनिदिन्छन् र राम्ररी बार्नु अर्थात् महिनावारी भएका महिलालाई छाउगोठमा सुताउनु भनिदिन्छन् । चाहे ती धामी महिला नै किन नहुन्, निर्धक्कसँग त्यस्तो सुझाव दिन्छन् । गाउँले समाज धामीप्रति आँखा चिम्लेर विश्वास गर्छ । अन्धधर्म र रुढीको भ्रममा यस्तो विश्वासको जग बन्छ र त्यही जगमा किशोरी र युवतीहरूको हत्या हुन्छ ।

हाम्रो समाज छाउ नबारेर अरुलाई छुने, घरभित्र बस्ने गरेमा देवीदेउता रिसाएर शरिर बाङ्गिने, हातखुट्टा सुन्निने, अन्य बिरामी हुने, घरमा अनिष्ट हुन्छ भन्ने भ्रमपूर्ण धारणा पालेर बसेको देखिन्छ । यसकारणले गर्दा नै हो त्यहाँको समाज महिलाप्रति एकदम निर्दयी र कठोर बनेको छ । त्यस्तो छाउगोठमा रजस्वला भएकी महिलाले पाँच दिनसम्म बस्नुपर्छ र सुत्केरीले तेह्र दिनसम्म बस्नुपर्छ । त्यति मात्र कहाँ हो र ! त्यहाँ भित्र सुत्नका लागि खाट होइन, पराल वा खर ओछ्याउन र थोत्रो कम्मल मात्र ओढ्न दिइन्छ ।

छाउपडी कुप्रथाविरोधी अभियान असफल हुनुमा हाम्रा गैरसरकारी संस्थाहरूको कमजोरी स्पष्ट देखिन्छ । यस्ता अभियानलाई अनुचित आर्थिक लाभको बाटो ठान्नु यसको त्रुटि हो । यस कुप्रथालाई नियन्त्रण गर्नका लागि केही काम गर्न सकिन्छ जो समाजको मूलजरोसम्म पुगोस् । जस्तै, ती क्षेत्रका गाउँलेहरू धामीझाँक्रीको वचनलाई विश्वास र शिरोधार्य गर्छन् । तसर्थ छाउपडीविरुद्धको अभियानमा धामीझाक्रीलाई नै सहभागी गराउन सक्नुपर्छ । अर्को, खासगरि हिन्दुधर्मका व्याख्याकार, ज्ञाता, पण्डित, विश्लेषकहरूलाई यो अभियानमा सामेल गराउनुपर्छ । उनीहरूको मुखबाट मासिक श्राव हुनुका पछाडी धर्मसँग कुनै पनि सन्दर्भ र सम्बन्ध छैन साथै मानिसलाई पीडा दिने र मृत्युको मुखमा पु¥याउने प्रथा धर्म हुन सक्दैन भनेर प्रचार र प्रसार गराउनु पर्छ । त्यसैगरि शैक्षिक पाठ्यक्रममा शरिरको वैज्ञानिक पक्षको अन्तरवस्तु हुनुपर्छ । त्यस्तै गरी स्थानीयलाई चेतना जगाउन गैससले पनि काम गर्नसक्छ । र अन्त्यमा सरकारको भुमिका पनि महत्वपूर्ण हुन्छ । सरकारले कानून बनाएर र बनेका कानुनको प्रभावकारी कार्यान्वयन गराएर यसलाई नियन्त्रण गर्न सक्छ । आखिर कुनै समयमा सतिप्रथालाई पनि कानुन बनाएर नै सरकारले समाप्त पारेको होइन र ?

सबभन्दा महत्वपूर्ण कुरा समाजले आपराधिक प्रथाप्रति विद्रोह गर्ने आँट गर्नसक्नु पर्छ । के अब सबै हाम्रा किशोरी र युवतीले सामुहिक विद्रोहका लागि ऐक्यवद्धता जनाउने बेला भएन ?