एक लाख कम्पनी खारेज

एक लाख कम्पनी खारेज


कम्पनी रजिष्ट्रारको कार्यालयले एक लाख कम्पनीलाई खारेज गर्ने भएको छ । लामो समयदेखि बन्द रहेका कम्पनी खारेजीको प्रक्रिया शुरु गरेसंगै पहिलो चरणमै सो संख्याको कम्पनी खारेज नै हुने भएका छन् ।
कार्यालयले एक पटक सञ्चालन गरेर विभिन्न कारणले बन्द भएका कम्पनीहरु खरेजीको प्रक्रिया अघि बढाएपछि कम्पनी चलाउन नसकेकलाई समेत केही हदसम्म भएपनि सुख मिल्ने भएको छ ।

२०७४ बैशाख १९ गतेसम्म बन्द भएका कम्पनीले खारेजीका लागि आवेदन दिनसक्ने कम्पनी रजिष्ट्रार कार्यालयले जनाएको छ । पहिला एक पटक कारोबार गरिसकेको कम्पनी खारेज गर्न निकै झण्झट रहेको थियो । तर सरकारले सो प्रकृयालाई संशोधन गरेर सहज बनाएपछि बन्द भएका कम्पनी खारेज गर्न पाइने भएको छ । दर्ता भएर एक पटक पनि सञ्चालनमा नरहेका कम्पनी खारेजीका लागि भने साबिककै प्रक्रिया लागु हुने भएको छ । कार्यालयको यस निर्णयसँगै एक पटक संचालनमा आई विभिन्न कारण बन्द भएका १ लाख कम्पनीलाई राहत मिल्ने भएको हो ।

कम्पनी रजिष्ट्रारमा हालसम्म १ लाख ६० हजार कम्पनी दर्ता भएकोमा ६० हजार मात्र सञ्चालनमा रहेको सो कार्यालयको रेकर्डमा रहेको छ । कम्पनी खारेजी गर्दा चुक्ता पूँजीको शुन्य दशमलब ५ प्रतिशत वा कानुन बमोजिमको जरिबाना भने बुझाउनु पर्ने हुन्छ । कम्पनीले आफुलाई अनुकुल हुनेगरी जुन कम लाग्छ त्यो तिर्नसक्ने सुबिधा समेत सरकारले दिइएको छ । कम्पनी रजिष्ट्रारले कम्पनी ऐन, २०६३ को दफा १३६ ‘क’ प्रारम्भ मिति अर्थात २०७४ बैशाख १९ गतेसम्म सञ्चालनमा नरहेका कम्पनीका लागि २ बर्षसम्म खारेजी गर्न मिल्ने गरी प्रक्रिया अघि बढाएको छ ।

निष्कृय रहेका कम्पनीहले खारेज गर्न चाहेको अबस्थामा साधारणसभाबाट खारेज गर्ने निर्णय गरी निवेदन दिन सक्नेछन् । तत्कालिन उद्योगमन्त्री नबीन्द्रराज जोशीले हाल सञ्चालनमा नरहेका कम्पनीलाई खारेजीको प्रक्रियामा लैजना विशेष योजनानै ल्याउने घोषणा समेत गरेका थिए ।  निवेदनको ढाँचा कम्पनीको वेबसाइटमा राखिएको छ । सो साइटबाट फर्म डाउनलोड गरि भरेर बुझाउन सक्ने व्यवस्था कार्यालयले गरेको छ ।
कम्पनी खारेज सम्बन्धी निवेदन र संलग्न कागजात कार्यलयको वेबसाइट लगइन गरी कम्पनीको युजर नेमबाट अनलाइन आवेदन दिनुपर्ने छ ।

हाल युजर नेम तथा पासवर्ड नलिएकाहरुले कार्यालयको प्रबिधि शाखाबाट लिन सक्नेछन् । निवेदन दिँदा चाहिने कागजात कम्पनी दर्ता खारेज गर्न चाहनेहरुका लागि सञ्चालक समिति र साधारण सभाको कम्पनीको दर्ता खारेज गर्ने निर्णयको प्रति, कम्पनी दर्तापछि हालसम्मको साधारण सभाको प्रतिवेदनको प्रति, कर चुक्ता प्रमाणपत्रको प्रति, लेखापरीक्षणको प्रतिबेदनलगायतका कागजात अनिर्वाय रुपमा बुझाउनु पर्ने व्यबस्था समेत गरेको छ ।