काठमाडौं उपत्यकामा गाइजात्रा शुरु

काठमाडौं उपत्यकामा गाइजात्रा शुरु


काठमाडौं उपत्यकामा मनाइने परम्परागत सांस्कृतिक उत्सव ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने गाइजात्रा पर्व एक वर्षभित्र दिवङ्गत आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आआफ्ना इलाकामा परिक्रमा गराइने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गर्ने परम्पराका लागि विख्यात छ । मानिसलाई गाईका रूपमा सिँगारी नगर परिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्ति वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ ।

गाइजात्राको इतिहास राजा प्रताप मल्लसँग जोडिएको छ । पुत्रशोकले विह्वल आफ्नी रानीलाई प्रताप मल्लले दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन जनतालाई आआफ्नो मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनू भनी आज्ञा दिएका थिए । तर यत्तिले पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारका प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रम समेत गराउने आदेश दिएअनुरूप जात्राको प्रचलन चलेको इतिहासकारहरु बताउँछन् ।

उता साताव्यापी रुपमा मनाइने गाइजात्रा भक्तपुरमा चाहिँ हिजो सोमबारदेखि नै सुरु भएको छ । जनैपूर्णिमाका दिन अपराह्न तौमढीस्थित भैरव मन्दिरबाट गुठी कार्यालयको घिन्ताङघिसी नाच निकालेर भक्तपुर परिक्रमा गरिएपछि जात्रा सुरु भएको हो । मुख्य रुपमा जनैपूर्णिमाको भोलिपल्ट दिवंगत व्यक्तिको सम्झनामा नेवार समुदायको घर घरबाट गाईजात्रा निकाल्ने परम्परा छ । अन्य दिनमा भने घिनताङ घिसीनाच र व्यङ्ग्य प्रस्तुत गरेर गाईजात्रा मनाइन्छ । गाइजात्रामा घिनताङ घिसी, हनुमान, माकप्याख र जंगली नाच र व्यङ्ग्यचित्र प्रदर्शन गर्दै टोल टोल घुमाउने गरिन्छ । गाईजात्राको अन्तिम दिन श्रीकृष्ण जन्माष्टमीमा भैरव मन्दिरमा नेवारी पोशाक हाकुपटासी लगाएर लामबद्ध सयौँ महिलाले टोलटोल घुमेर बत्ती दिने परम्परा छ । इतिहासकारहरुका अनुसार भक्तपुरको गाईजात्रा काठमाडौंको भन्दा पनि पुरानो रहेको छ ।