सत्ता ‘दाउ’ ले राप्रपा विभाजित

सत्ता ‘दाउ’ ले राप्रपा विभाजित


पार्टी अध्यक्ष कमल थापा र वरिष्ठ नेता पशुपतिशमशेर राणाबीच सरकारमा सहभागी हुने आआफ्नै दाउले राप्रपा विभाजित भएको छ ।

आठ महिनाअघि मात्रै थापा नेतृत्वको राप्रपा नेपाल र राणा नेतृत्वको राप्रपा एकीकरण भएको थियो । फागुन ६ देखि ९ गतेसम्म राजधानीमा एकता महाधिवशेन गरेको राप्रपा विभाजन र एकताको यो १८ औं शृंखला हो ।

कांग्रेस-माओवादी केन्द्र गठबन्धन सरकारमा कसले नेतृत्व गर्ने भन्ने विवाद साम्य पार्न नसक्दा राप्रपा विभाजन भएको नेताहरूले दाबी गरेका छन् ।

अध्यक्ष थापाले शेरबहादुर देउवा नेतृत्वको सरकारमा उपप्रधानमन्त्रीसहित आफैंले नेतृत्व गर्न खोज्दा राणा समूहले ‘उपप्रधानमन्त्री पद नदिन सत्ता गठबन्धनलाई दबाब दिएको’ र आफूले नेतृत्व नपाउने भएपछि ‘सरकारबाट सम्मानजनक व्यवहार’ नभएको भन्दै थापाले राणा समूहका सांसदलाई सरकारमा जानबाट रोकेपछि विवाद चुलिएको थियो ।

आफूलाई उपप्रधानसहित मुख्य मन्त्रालय दिएर मन्त्रिपरिषद् विस्तार नभएपछि थापा सरकारलाई दिएको समर्थन फिर्ता लिनेमा पुगेका थिए । अन्नपूर्णका अनुसार, थापालाई रोकेर मन्त्रीको ‘सपना देखेका’ सांसदहरू चिढिएर पार्टी विभाजन गरेको थापानिकट नेताहरूले दाबी गरे ।

वरिष्ठ नेता राणाको नेतृत्वमा आइतबार नै निर्वाचन आयोगमा ‘राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक’ नामसहित नयाँ पार्टी दर्ता भएको छ । राणाको अध्यक्षतामा गठन भएको राप्रपा प्रजातान्त्रिकमा राप्रपाका ६६ केन्द्रीय सदस्य र १९ सांसदको हस्ताक्षर छ । यद्यपि, राणा समूहले २२ सांसदको समर्थन रहेको दाबी गरेको छ ।