राजस्व छली नियन्त्रण गर्न भन्सारमा ट्रयाकिङ स्टिकर

राजस्व छली नियन्त्रण गर्न भन्सारमा ट्रयाकिङ स्टिकर


विभिन्न भन्सार कार्यालयबाट व्यापारीहरुले थोरै मुल्याङकन गरि धेरै सामान ल्याएर राजस्व छलीको अन्त्य गर्न वाणिज्य विभागले नयाँ प्रविधि प्रयोगमा ल्याउने भएको छ । नेपालको भन्सार कार्यालयबाट हुने चुहावट बढेपछि वाणिज्य विभागले भन्सार विभागसंग मिली नयाँ प्रविधि जडान गरि राजस्व छलीमा नियन्त्रण गर्ने भएको हो । भारतमा प्रभावकारी देखिएको यो प्रविधि नेपालमा कार्यान्वयनका लागी वाणिज्य विभाग र भन्सार कार्यालयले भदौ अन्तिम सातासम्म यसको प्रयोग गर्ने गरी काम अघि बढाइने भएको छ ।

भारतीय भन्सारबाट नेपालका लागी छुटेका धेरै मालवाहक ट्रक कन्टेनरहरु दशगजाबाटै गायव हुन थालेपछि सो कार्य रोक्न यस्तो प्रविधि प्रभावकारी हुने देखिएको हो । भारतीय भन्सार पास लिएर छुटेको यस्ता मालवाहक साधन नेपालको भन्सार कार्यालय नै नपुगी गायब हुने घटनाका सम्बन्धमा नेपाल राष्ट्र बैंकले केही समयअघि तयार पारेको प्रतिवेदनमा ट्रयाकिङ सिस्टमको अभावमा यस्तो चुहावट बढेको उल्लेख गरेको थियो । अहिले कार्यान्वयनमा आउन लागेको इन्टरनेशनल कार्गाे ट्रयाकिङ सिस्टम नामको प्रविधिले भारतीय भन्सार कार्यालयमा भएको चेकजाँचदेखी नेपालको राजस्व कार्यालय पार गर्नेबेला सम्म मालवाहक साधनमा टाँसिएको स्टिकरको आधारमा सम्बन्धित साधनको निगरानी गर्ने भएको छ ।

ट्रयाकिङ गर्ने स्टिकर जडित मालवाहक साधनले नेपालको भन्सार कार्यालय नपुगी दशगजाबाटै अन्यन्त्र लागे सोही स्टिकरका आधारमा जुन ठाँउ पुगेपनि समात्न सजिलो हुनेछ । अहिले यस्तो प्रविधिको अभावमा भारतीय भन्सार पास लिएर नेपालको भन्सार कार्यालयसम्म नपुग्दै राजस्व छली ३० प्रतिशत सामान गायव गरिने गरेको छ ।