बीपी र एलिट क्लब

बीपी र एलिट क्लब


पढ्न–लेख्न जान्ने मान्छेहरू अति नै कम भएको अवस्थामा विराटनगरमा केही स्नातक युवाहरूले एलिट क्लबको सुत्रपात गरे । स्नातक हुनु भनेको त्यो बेला धेरै ठूलो कुरा हुने गर्दथ्यो, नेपालमा मात्र हैन ज्ञानगंगाको धारा बग्दै गरेको भनेर भनिने भारत संघमा पनि । अझ भनौँ भने विश्वमै स्नातक हुनु मात्र पनि अन्य भन्दा फरक भएको मानिने युग थियो त्यो । अहिले विद्यावारिधि गरेकाले गर्वले नामको सामुन्ने डा. लगाउने गरेको जस्तो बीए, एमए, शास्त्री, आचार्य जस्ता उपाधि लगाउने युगमा विराटनगरका पढेलेखेकाहरूका क्लब नभन्दै एलिटकै क्लब थियो र नाम सही थियो । त्यसैले एलिट क्लबमा व्याख्यान दिनु त्यो कालमा सबैको निमित्त एक प्रकारको सपना नै थियो ।

स्थानीय भएर पनि आफ्नो जीवनको धेरै कम समय विराटनगरमा बिताएका बीपी कोइरालाले पहिलोपल्ट एलिट क्लबमा गरेको संबोधनको घटना त्यति सम्झेको पाइन्न । बरु सुन्दरीजलबाट मुक्त भएर भारत स्वनिर्वासनमा जानुभन्दा पहिले एलिट क्लबमा गरेको संवोधनको प्रसङ्ग बारम्बार निकालेका छन् । तेश्रोपल्ट जनमत संग्रहको प्रचार क्रममा पनि एलिट क्लबको कार्यक्रममा उनले लामो व्याख्यान दिएका छन् । तर त्यो व्याख्यानलाई उनले धेरै स्थानमा विराटनगरमा दिएको व्याख्यान भनेका छन् । अर्थात् बीपीको निमित्त २०२५ साल माघ २३ गतेको भाषणमा एलिट क्लबको महत्व रह्यो ।

यो अत्यन्त स्वभाविक नै हो, पहिलो भाषण २०१५ सालतिर गर्दा सायद आमनिर्वाचन भइसकेको थियो । सम्भवतः उनी नेपालको जननिर्वाचित प्रधानमन्त्री भइसकेका थिए । त्यो नभए पनि प्रधानमन्त्री हुने निश्चित भइसकेको थियो । विराटनगर उनको गृहनगर र निर्वाचन मतदान क्षेत्र पनि थियो त्यसैले विराटनगरले उनलाई आफ्नो ठान्छ । यस्तोमा त्यसबेलाका एलिट क्लबका जिम्मेवारहरूले पनि उनलाई आफ्नो मानेका थिए । हुन त एलिटका संस्थापकहरूमा वामपन्थी पनि थिए, तैपनि त्यसबेलासम्म एलिटले आफुभित्र आस्थाको भिन्नता पस्न दिएको थिएन । बीचबीचमा कुनै अपवादका घटना भए पनि अध्यावधि एलिट क्लबले यो परम्परा जीवित राखेको छ । त्यसैले क्लबको निमित्त त्यो गौरवको विषय भए पनि बीपीको निमित्त दैनिकीजस्तै घटना थियो, उल्लेख गर्नैपर्ने महत्व नभएको ।

स्वर्ण महोत्सवको बेलामा निकालिएको एलिट स्मारिका २०६७ मा संस्थापक सदस्य राधाप्रसाद घिमिरेले टड्कारो रूपले बीपीले ‘मलाई यस्ता एगहेडहरूको क्लब मनपर्छ’ भनेको सम्झनु भएको छ । त्यो पहिलो भाषणका अन्य कुराहरू के थिए, विषय–वस्तु के तियो त्यसबेला सुन्नेहरूको स्मरणमा छैन । यसको अर्थ जसरी त्यो घटना बीपीको निमित्त औपचारिकता थियो त्यसै गरेर बीपीको भाषण पनि औपचारिक नै थियो । निमन्त्रणा स्विकार थियो अनि एलिट क्लबको निमित्त पनि प्रथम जननिर्वाचित प्रधानमन्त्रीको भाषण गौरव बन्यो । पहिलो अति विशिष्ट पाहुना भएकोले एलिट क्लब त्यही सम्बोधनको घटनालाई ज्यादा महत्व दिन्छ । दोश्रो र तेश्रो उनको उपस्थिति त्यसपछिका महत्वपूर्ण घटना हुन् ।

स्वभाविक रूपले बीपीको तेश्रो उपस्थिति केवल उनको थिएन । जनमत सङ्ग्रह घोषणा भएको अवस्थामा विभिन्न विचार भनाई आदिलाई प्रस्फुटन हुन दिनु एलिट क्लबको नैतिक दायित्व थियो । यही दायित्व निर्वाहको क्रममा आयोजित गोष्ठी थियो त्यो, एलिटको प्राङ्गणमा नअट्ने भएर बाहिर गरिएको गोष्ठी । अर्थात्, पहिलोपल्ट बीपी निर्वाध बोल्न पाउँथे अनि तेश्रोपल्ट उनले निर्वाध आफ्नो कुरा राख्नैपर्ने थियो जनमत सङ्ग्रहमा बहुदलपक्षको हितमा । तर, दोश्रोपल्टको वेलामा बीपीलाई अपदस्त गरेर राखिएको नजरबन्दबाट भर्खर मुक्त भएको बेला । अनिश्चय यति धेरै कि नेपाल बसाई उनले आफ्नो निमित्त खतरा देखेका थिए, अनि स्वनिर्वासनमा जाने अठोट गरिसकेका थिए ।

एलिट क्लब आफुसँग सम्बोधनको कुनै टिपोट नभए पनि निकै परिश्रम गरेर पछिल्ला दुई सम्बोधन प्राप्त गर्न सफल भएको छ । यो दुबै सम्बोधन ‘एलिट जर्नल–२०७४’ मा समेट्न सफल भएको छ । दोश्रो सम्बोधन २०२५ माघ २५ गतेको नेपाल टाइम्समा आउन भ्याएको रहेछ । तेश्रो त जनमत सङ्ग्रहको सन्दर्भ भएकाले गिरिराज आचार्यले ‘जनमतसङ्ग्रह दर्पण’ समेट्न भ्याएका छन् । गरिएको रेकर्डमा राम्रो नसुनिएर हो वा अन्य कारणले अन्तिमतिर केही शब्दको स्थानमा खालि ठाँउ छोडिएको भएता पनि त्यो अनुमान गर्न कठिन हुन्न ।

एलिट जर्नल २०७४ को पेज ६३ मा बीपीकोे त्यो भाषण छ, जो सायद त्यसबेला त्यो कार्यक्रममा भएकाले मात्र सुने अनि सीमित पत्रकारहरूले टिप्न भ्याए । यी कुरा गरेमा दण्डित हुन सकिन्छ भन्ने डर मनमा भएको बेला बीपीलाई आफ्नो कुरा राख्ने अवसर एलिट क्लबले दियो, त्यसैले उनले यो कुराको प्रशस्त उल्लेख गरेका छन् । यो भाषणमा बीपीको द्विविधा प्रष्ट महसुस गर्न सकिन्छ । साथै प्रघानमन्त्री बीपीको सबै काम जनताको प्रतिनिधि भएकोले मेरो मात्र हो भन्ने कुरा पनि बदलिएको पाइन्छ । उनले भनेका छन्, ‘कतिपय व्यक्तिहरू राजा र प्रजालाई सँगसँगै उभ्याउन चाहँदैनन् । साँचो प्रजातान्त्रिक आदर्श हासिल गर्नका लागि राजा र प्रजा सँगै बसेर राष्ट्रिय समस्याहरू र तिनीहरूको राष्ट्रिय समाधानका उपाय खोज्नुपर्दछ ।’