आनन्द उपलब्धिका उपायहरू

आनन्द उपलब्धिका उपायहरू


यदि हामीले पृथ्वीका पुराना आध्यात्मिक संस्कृति र धर्महरूलाई हेर्‍यौँ भने बाहिरी सतहमा धेरै कुराहरू फरक देखिए पनि तिनको आधारमा केही कुरामा तात्विक समानता पाइन्छ । उनीहरूले के देखे भने मानिसको साधारण मनको अवस्था एक भ्रमित स्थितिमा हुन्छ । यो अवस्थालाई धेरै नजिकबाट नियालेको हिन्दु दर्शनले यस्तो दोषपूर्ण मानसिक अस्वस्थतालाई ‘माया’ भनेको छ । बुद्ध धर्मले मनको यो स्थितिलाई दुःख पैदा गर्ने बेहोस यन्त्रको रूपमा व्याख्या गरेको छ । यस्तो मनले जे सोचे पनि, जे गरे पनि, जे पाए पनि उसले त्यसको परिणति दुःख नै हुन्छ । इशाई धर्मले यसलाई मूल पाप ‘अरिजिनल सिन’ भनेको छ । वास्तवमा यसको अर्थ गलत तरिकाले बुझिएको र अथ्र्याइएको छ । भाषिक रूपमा पाप ‘सिन’को अर्थ ग्रीकमा निसाना चुक्नु भन्ने बुझिन्छ । यसको अर्थ जीवनको वास्तविक अर्थ नबुझेर या नखोजेर भड्किनु भन्ने हो ।

जीवनका अनेक आयाममा यति धेरै विकास गरेर पनि बेहोसी र बुद्धीहीन स्थितिमा हामी फसेको देखिरहका छौँ । डर, लोभ र शक्तिको होडमा हाम्रो इतिहास दासत्व, यातना र असिमीत हिंसाको लामो श्रृङ्खलाले भरिएको छ । आज आउने खबरहरूको श्रृङ्खलामा हामी ९० प्रतिसत समाचार यसैको सेरोफेरोमा आएका पाउँछौँ । यस्तो समाचार मात्र चल्छ भनेर मुख्य सञ्चारमाध्यमहरूमा यस्ता समाचार आएको हुन्छ रे ! आखिर के हामी यस्तै हत्या, हिंसा, लुट, बेइमानी, युद्धकै खबरमा मात्रै रमाउने प्राणी हौँ कि वास्तवमै आङ्खनो दिव्य सम्भावनाबाट चुकेका हौँ ? आफैभित्र खोज्नुपर्ने भएको छ ।

वास्तवमा यस्तो दुःखपूर्ण अवस्थाको मूल कारण हाम्रो बेहोसी हो । यो साधारण मनको चल्तीको अवस्था हो । यो अवस्था भय, दुःख, पीडा, अवसाद, लोभ, क्रोध र अनिश्चितताबाट निर्देशित हुन्छ । हाम्रो समाजमा सामान्य बाँच्ने रणनीति यही असाधारण दोषपूर्ण मानसिक र भावनात्मक स्थितिहरूबाट परिचालित हुन्छन् । समाजको यो विशाल भवन यस्तै स्थितिहरूसँग जुझिरहेका इँटारूपी मानिसको इकाइले बनेको हुन्छ । तर मानिस एक विचारशील प्राणी भएकोले यो समस्या अझ जटिल हुँदै जान्छ । धेरै इँटहरू मिलेर बसेको समाजरूपीे यो भवनमा जब केही इँटहरू आफूलाई अरु भन्दा अलि विशिष्ट ठान्न थाल्छन् र त्यो प्रमाणित गर्न बल लगाउँछन् अनि त्यो भवनमा उपद्रव मच्चिन्छ, घर चर्किन्छ र भवन ढल्न थाल्छ । अब यति मात्रै भएर के पुग्थ्यो त्यो घरलाई ढल्नबाट कसरी जोगाउने भनेर सिद्धान्त र वादहरू आइपुग्छन् । ती सिद्धान्त र वाद ल्याउनेहरूको मानसिक र भावनात्मक स्थिति त्यो भिडको भन्दा तात्विक फरक हुँदैन । किनभने तिनीहरू पनि त्यही विक्षिप्तताको संघारमा पुगेको समाजका सकृय पात्रहरू हुन् । बुद्धहरूका कुरा त्यहाँ अप्रासङ्गिक लाग्छन् । दुःख र पीडाले छट्पटिएका साधारणजनमा उनीहरूले एक सामुहिक सुखको सुनौला सपना बुनिदिन्छन् ।

सुखी समाजलाई ठूलो सपना देखाउन गार्‍हो छ, तर दुःखी समाजलाई भविष्यको सुखको महासागर आशा देखाएर मन्त्रमुग्ध गर्न सकिन्छ । किनभने दुःखमा आशा नै जीवन हो । मनको सामान्य अवस्था के हो भने दुःखबाट हामी बच्न चाहन्छौँ । त्यसबाट टाढै रहन चाहन्छौँ । तर धेरै समयको सुख पनि सुख जस्तो हुन छोड्छ । जबसम्म शान्तिको लागि सचेतन प्रयास गरिँदैन सुखको पट्यारलाग्दो अवस्थाबाट निस्कन फेरि नयाँ दुःख सृजना गर्नुपर्छ । आजको मानिसको चित्त यही विरोधाभासी स्थितिबाट आक्रान्त छ । अस्कर वाइल्डले यो विचित्रतालाई चित्रण गर्दै लेखेका छन्, ‘मेरो जीवन खास केही रहेनछ, एक उपद्रवबाट अर्को उपद्रवको यात्रा मात्र ।’

मानिसले आफ्नो भविष्य सुखको सपनाले बुनेको हुन्छ । उसका हरेक क्रियाकलाप यही आशाले रङ्गिएका हुन्छन् । यो प्राप्तिका लागि उसले चालेको हरेक कदममा सुखको बिज रोप्दै ऊ अघि बढिरहेको हुन्छ । मिहिनेत र प्रयासले उसले आफ्नो लक्ष्य हासिल पनि गर्छ तर किन आखिर त्यसको प्राप्तिपछि पनि उ सुखी हुँदैन ?

यसको जवाफ खोज्न धेरै टाढा जानु पनि पर्दैन । शास्त्रहरूलाई धेरै खोतल्नु पनि पर्दैन । आफ्नै अनुभवहरूलाई राम्ररी नियालेर हेरे पुग्छ । एक रूपैयाँबाट शुरु गरेको व्यापार एक करोड पुग्दा, खरदार सुब्बाबाट उच्च अधिकृतसम्म पुग्दा, कार्यकर्ताबाट मन्त्रीसम्म हुँदा या अन्य कुनै उपलब्धिहरू हासिल हुँदा मानिसले धेरै मिहिनेत गर्छ, पसिना बगाउँछ । यो सबको पछाडि आनन्दको आशा हुन्छ । तर यी सबै प्राप्तिको अवस्थामा पनि प्रायः सबै मानिस स्थिर, आनन्दित देखिँदैन ।

मानिसको महत्वाकांक्षाको उपलब्धि विचारात्मक हो । यो आफैले आफुलाई प्रमाणित गर्ने एक मनको खेल हो । मन भनेको बितेको क्षणको सम्झना अनि भविष्यको कल्पनाको नाम हो । ठेगाना नभएको बादल झैँ हो मन । मनको एक अकाट्य गुण के हो वर्तमानको यो क्षण बाहेक यो सबै ठाउँमा पुग्छ । तर सुख, शान्ति र आनन्द भने भावनात्मक तथ्य हो । यो यही क्षणमा घटित हुन्छ । उपलब्धि भविष्यको कल्पना हो र सधैं यो कल्पनामै सीमित हुन्छ । तर, जुन दिन उपलब्धिले गुणात्मक छलाङ लिन्छ अनि वर्तमानको क्षणमा यसले सकारात्मक भाव ल्याउँछ, त्यो मानिसमा प्रज्ञाको जन्म हुन्छ । हाम्रो वर्तमान अवस्था हाम्रो यस क्षणको समग्र भावनात्मक स्थितिको जोड हो । यो क्षण तपाईंको भावनात्मक स्थितिको ऐना हो । तपाईंका विचार, क्रियाकलाप, वाणी, शरीरको हाउभाउ र संकल्प यसै भावद्वारा सञ्चालित हुन्छन् । भाव केन्द्र हो भने यसको वरिपरी चलिरहने क्रियाकलापहरू यस परिधि हुन् ।

मनोविज्ञान र आध्यात्मको फरक पनि यही हो । आध्यात्मकले भाव भन्दा पनि भित्र अझ गहन केन्द्रतिर मानिसलाई फर्काउछ भने मनोविज्ञानले मनका कृयाकलापहरूलाई परिवर्तन गर्न उत्प्रेरित गर्छ । यी दुबै आयामहरू एक अर्काका परिपुरकका रूपमा उपयोग हुन सक्छन् ।

सारा समाज, मातापिता, शासन व्यवस्था, गुरु शिक्षकले बनाएको व्यवस्था नै भयमा टिकेकोले पागलहरूको संख्या समाज बढ्नु कुनै उदेक लाग्ने कुरा भएन । त्यसैले प्रत्येक दिन शान्तिप्राप्तिको सचेतन प्रयास आज अपरिहार्य भएको छ । सत्संगको माहोलमा बस्ने, प्रकृतिमा समय बिताउने, ध्यान सिक्ने, सबैको कल्याण होस् भाव गर्ने, तुरुन्तै प्रतिक्रिया नगर्ने, दिनमा केही क्षण श्वास आएको गएको थाहा पाउने, शरीरको स्थितिलाई सचेतन रूपले महसुस गर्ने, यो क्षणमा धन्यताको भावले उपस्थित रहने र यो संसारमा सबै क्षणभंगुर छ भन्ने तत्वबोधमाथि ध्यान गर्नाले भ्रमहरू टुट्छन् । र, तपाईंको भाव र सोचमा एक तादात्म्यको अवतरण हुन्छ । यो भित्री सामन्जस्यता नै आनन्दको अनुभूति शुरुआत हो ।

ध्यानमा वर्तमान क्षणप्रति होस राख्ने प्रयास भनेको विचार र भावनात्मक दुबै उर्जालाई चेतनाको एक शान्त पृष्ठभूमिमा संयुक्त हुने सम्भावनाको द्वार खोल्नु हो । यसबाट जीवन उर्जाको नयाँ प्रवल प्रवाह शुरु हुन्छ । यो स्व–रूपान्तरणको अचुक विधि हो । धेरै मनोरोग र भाव विकारबाट मुक्ति पाउन, शान्ति प्राप्ति गर्न, मस्तिष्कको सन्तुलित क्रियाकलापको लागि यो विधिको उपयोगिता वैज्ञानिक रूपले पनि प्रमाणित भएको छ ।

मनुष्यको मस्तिष्कको भित्री कार्यप्रणालीको सुक्ष्म अध्ययनले पनि के देखाएको छ भने मानिसको मस्तिष्कको भित्रपट्टी दायाँबायाँ दुबैतिर भावनियन्त्रक शक्तिशाली बदाम आकारको अमिगडाला हुन्छन् । लक्ष्य निर्धारण गर्ने, योजना बनाउने, क्रियाकलापहरूलाई निर्देश दिने कार्य गर्ने मस्तिष्कको भाग भने टाउकोको अघिल्लतिर निधारभित्रको भाग हो । यो भागलाई पनि यो अमिगडालाले नियन्त्रण गरिरहेको हुन्छ । तपाईंको अहिलेको विचार तपाईंको भित्री भावनात्मक अवस्थाको उपज हो । तर त्यो भावबाट विचार आउने काम भने अवचेतन मनबाट भइरहेकोले हामीलाई भावको अलिकति हेक्का त हुन्छ तर त्यसबाट आइरहेको विचारले हामीलाई कहाँ लगिरहेका छन् भन्ने होस नै हुँदैन । किनभने यो सबै प्रक्रिया तपाईं थाहै नपाइकन अचेतनमा भइरहेको हुन्छ । विचार उत्पन्न भएको देख्ने क्षमताको विकासको लागि साधनामा जीवन नै समर्पित गरेकाहरूलाई त यसले छक्काइरहन्छ भने यसमा रुचि नभएका र विचार नै म हुँ भन्नेहरूको लागि यो अचेतन प्रक्रिया एक ठूलो समस्या हो ।

मस्तिष्कको कुरा गर्दा, भावहरूको ‘अलार्म घण्टी’ अमिगडाला भावनात्मक रूपले बलशाली या नकारात्मक भाव उत्तेजनामा सक्रिय हुन्छ । अमिगडालाबाट त्यसमाथिको मस्तिष्कमा जाने तन्त्रिकाहरूको संख्या मस्तिष्कबाट अमिगडाला जाने तन्त्रिकाभन्दा धेरै बढी हुन्छ । अर्थात्, भावको प्रवलता विचार भन्दा धेरै ठूलो हुन्छ । यसरी भावहरूले जहिले पनि हाम्रो विचारलाई प्रत्येक क्षण रङरोगन र तोडमरोड गरिरहेका हुन्छन् । विचारमा अति ज्ञानी लाग्ने मान्छेले पनि भावनाको उछाल या सङ्कटमा अति मुर्खतापूर्ण काम गरेका हामी देख्छौँ । रिसको झोक तथानाम गाली गर्ने, मारपिटमा उत्रिने या सानो कुरामा आवेशमा आएर हत्यासम्म गर्ने गरेको हामी सुनिरहन्छौँ । यस्तो हुने कारण पनि मानिसको भावनात्मक केन्द्र वैचारिक केन्द्रभन्दा धेरै शक्तिशाली भएर हो ।

अध्ययनहरूले के देखाएका छन् भने अति आक्रामक व्यक्तिहरूको मस्तिष्कको सही गलतको आँकलन गर्ने र सोच्ने भाग अरुको भन्दा सङ्कुचित हुन्छ भने सानोमा आमाबुबाबाट परित्यक्त, हिंसाको शिकार भएका बच्चाहरूमा अमिगडालाको आकार ठूलो हुन्छ । यी दुवै अवस्थामा मानिस भावनात्मक रूपले अनियन्त्रित हुन्छ । नराम्रा बानीहरूबाट मुक्त हुने अभ्यासमा लाग्नेहरूले सही विचार र समझको कार्यान्वयनबाट नराम्रा भावहरू अतिरेकलाई नियन्त्रण गरी परिवर्तन ल्याउन सक्छन भन्ने देखिएको छ ।

भावहरूलाई सबैभन्दा नकारात्मक असर पार्ने उत्तेजना हो– भय । धेरै मनोरोगको मुल कारण भयमा नै आधारित हुन्छ । छोटो समयमा पैदा हुने भयले केही क्षण हामीलाई आपतकालीन अवस्थामा पु¥याए पनि पछि हामी पुरानै स्थितिमा फर्किन्छौँ । जीवन रक्षाको लागि यो भय राम्रै हो जस्तै सर्प या हिंस्रक जनावर देख्दा भाग्ने, भूकम्पमा एक्कासी उठेर भाग्ने । यो खतरा टरेपछि हामी फेरि पुरानै अवस्थामा फर्किन्छौँ । तर जब यो जीवन रक्षाका लागि नभएर मानसिक बन्न जान्छ यो समस्या हो । तनाव बढ्दै जादा चिन्ता बन्छ, चिन्ता गहिरिएर भय बन्छ । जब यो लामो समय भित्रभित्रै गहिरिएको चिन्ता अकारणै पैदा हुने भयमा परिणत हुन्छ यो समस्या हो । यसबाट डिप्रेसन र अन्य मनोरोगहरू लाग्न थाल्छन् ।

भगवत् गीताको १६ औं अध्यायमा दैवी र आसुरी गुणहरूको चर्चा छ । त्यसमा आश्चर्य लाग्ने के कुरा देखिन्छ भने दैवीगुणमा पहिलो गुण तपस्या, दान, प्रेम, यज्ञ, अहिंसा होइन अभयलाई मानिएको छ । यो गहन दृष्टि हो । सारा समाज, मातापिता, शासन व्यवस्था, गुरु शिक्षकले बनाएको व्यवस्था नै भयमा टिकेकोले पागलहरूको संख्या समाज बढ्नु कुनै उदेक लाग्ने कुरा भएन । त्यसैले प्रत्येक दिन शान्तिप्राप्तिको सचेतन प्रयास आज अपरिहार्य भएको छ । सत्संगको माहोलमा बस्ने, प्रकृतिमा समय बिताउने, ध्यान सिक्ने, सबैको कल्याण होस् भाव गर्ने, तुरुन्तै प्रतिक्रिया नगर्ने, दिनमा केही क्षण श्वास आएको गएको थाहा पाउने, शरीरको स्थितिलाई सचेतन रूपले महसुस गर्ने, यो क्षणमा धन्यताको भावले उपस्थित रहने र यो संसारमा सबै क्षणभंगुर छ भन्ने तत्वबोधमाथि ध्यान गर्नाले भ्रमहरू टुट्छन् । र, तपाईंको भाव र सोचमा एक तादात्म्यको अवतरण हुन्छ । यो भित्री सामन्जस्यता नै आनन्दको अनुभूति शुरुआत हो ।

ओशोले भन्नुभएको छ, ‘प्रत्येक दिन एक घण्टा ध्यानमा विचारहरूलाई असंलग्न भएर हेर्ने अभ्यास भएन भने पागलपन र उन्माद हाम्रो नियति हुनेछ । यसमा आश्चर्य मान्नु पर्दैन ।’

(लेखक ओशो तपोवनका आवसीय ध्यान प्रशिक्षक हुन् ।)