जय स्त्री-कृष्ण !

जय स्त्री-कृष्ण !


भारत पुरीस्थित जगन्नाथ मन्दिरको कृष्ण, सुभद्रा र बलरामको मुर्ति हेर्दा राधाले देब्रे नाकमा, कृष्ण र बलरामले दाहिने नकमा नथ्थी लगाएका हुन्छन् । यसको वबरेमा त्याहाँका पुजारीलाई सोध्दा पुजारी भन्छन्- ‘भगवान कृष्णले रासलिला गर्दा महिलाले लगाउने सबै बस्त्र-आभुषण लगाउनुहुन्छ। नाकमा नथ्थी मात्र होइन कानमा झुम्का र एक चुल्ठा कपाल पनि बाट्नुहुन्छ। आँखामा गाजल र गोडामा पाउजु, साथै पैतलामा नर्तकीले लगाउने रातो रंग पनि पोतिएको हुन्छ। कृष्ण यस्तो पुरुष भगवान हो जो महिलाको भेषमा पनि सहज रमाउनुहुन्छ।’

नेपाल तथा भारतका विभिन्न मन्दिरहरुमा कृष्णका अनेक भेषमध्ये स्त्री भेष पनि एउटा हो जसमा भगवानले महिलाको भेष धारण गर्नुभएको हुन्छ। कृष्णलाई सारी, चोलो र महिलाको गहनामा सजाइएको हुन्छ। कसैले यस रुपलाई मोहिनी अवतार भन्छन् भने कसैले कृष्णले आमा यशोधालाई चकित पर्नका लागि यस्तो स्त्रीभेष धारण गरेको पनि भन्छन्। कसैले त कृष्णलाई गोपिनीहरुले सजाय दिएको पनि भन्छन्।

कथा अनुसार, भएछ के भने, एकदिन कृष्णको जिस्क्किने तथा ठट्टामजाक गर्ने बानीबाट आजित भएर गोकुलका महिलाहरुले एकपटक एकजुट भएर कृष्णलाई सजायस्वरुप महिलाको बस्त्र धारण गराउने ठानेछन् ।

गोपिनीहरुले ठुम्री रागमा गाएको एक निकै चलेको गीत पनि छ, ‘नर को नारी बनाओ !’ (नेपलीमा उल्था : पुरुषलाई महिला बनाइदेऊ)

गोपनीहरुले कृष्णलाई समातेर घांगर, चोली अनि हात र गोडामा मेहन्दी पनि लाउन लगाउँछन्। कृष्ण रिसाउलान् भनेको त उल्टै दंग पो हुन्छन् । यो देखेर गोपिनीहरु त अचम्मै पर्छन् । ‘अरु थप गहना लगाइदेऊु- कृष्ण माग गर्छन्, ‘सृङ्गार राम्रोसंग गर मेरो ।’ त्यसैले, जो सजाय भनेर सुरु गरेको त रमाइलो, लीला, उत्सवमा पो परिणत हुन्छ।

अर्को कथामा, जस्लाई ‘गोरे ग्वालाको लीलाु भनेर पनि चिनिन्छ, राधा र कृष्णले एकअर्काको लुगा साटासाट गर्छन् । कृष्णले राधाको भेष धारण गर्छन्, राधाले कृष्णको भेष। र यो राधाको अनुरोधमा गरिएको हुन्छ, किनकि राधालाई ‘मलाई प्रेम गर्दा कृष्णको अनुभुति कस्तो हुँदोरहेछ तु भन्ने जान्न मन लाग्छ। तर उनलाई अनुभूत हुन्छ- ‘मैले कृष्णको भेष धारण गरे पनि मन त मेरो राधाकै छु र भन्छिन्- ‘हे कृष्ण ! तिमी मजस्तो देखिन त सक्छौ तर तिमीसँग छुट्टिँदाको मेरो मनको पीडा तिमीले कहिल्यै बुझ्न सक्दैनौ।’ त्यसैले कोहि भन्छन् आफ्नी प्यारी राधाको सम्झनामा कृष्णले स्त्रीभेष धारण गर्ने गर्छन् भनेर।

अर्को व्याख्या अनुसार, एक रात राधा-कृष्णको मिलनपछि जब विहान उज्यालो भएको पत्तो लाग्छ, दुवैले झटपट लुगा लगाउँदा एकले अर्काको लुगा लगाउन पुग्छन्। र, हरेक गाउँले अचम्भित हुन्छन् ‘कि यति सुन्दर काली गोपिनीको रहिछ र को हो यो नयाँ गोरो सुन्दर गोपाल ?’भनेर।

भारतको तमिलनाडु राज्यका तेस्रोलिङ्गिहरु, जस्लाई स्थानीय भाषामा ‘अलि’ वा ‘अरभानी’ भनेर चिनिन्छ, को विचमा एउटा कथा प्रचलित छ। माहाभारतका अर्जुनका छोरा अरभानलाई बलि चडाउनुपर्ने हुन्छ यूद्ध जित्नका लागि। तर भरखर १७ बर्षका अरभानले विवाह सुख नभोगी आफू बलि नचड्ने अडान राख्छन् । एक रातका लागि अरभानको विवाह गरिदिने निधो हुन्छ, तर कुनै राजकुमारीले पनि विवाह गर्न नमानेपछि कृष्णले नै मोहिनी रुप धारण गरेर अरभानसंग विवाह गर्छन् । अरभान र कृष्णको एक रातको सुहागरातपछि अरभानको बलि चढाइन्छ र कृष्ण रुँदै विधवा हुन्छन्, सेतो सारी लगाउँछन्। त्यसैको परम्परास्वरुप आज पनि हरेक साल तमिलनाडुमा तीनदिने मेला लाग्छ, अरभानी (तेस्रोलिंगी) र पुरुषहरु जमघट हुन्छन्, भोलिपल्ट विवाह हुन्छ र पर्सिपल्ट अरभानीहरु रुँदै सेतो सारी लगाएर विधवा हुने परम्परागत चाड आजसम्म पनि मनाइँदैछ। यो मेला पोण्डिचेरिको कोथान्दवार मन्दिरमा पनि लाग्छ हरेक वर्ष।

कृष्णको यो स्त्री रुपमा समेत रमाउने भावले प्रेम, आकर्षण र लीलाको महत्व दर्शाउँछ जो आजका ‘पण्डित’हरुको नियन्त्रण गर्ने र टीकाटिप्पणि गर्ने रुढीवादी सोच भन्दा बिल्कुलै भिन्न छ।

(देवदत्त पटनायकको लेखबाट प्रोत्साहित)