तारजालीको घेरामा दलका प्रतिनिधि !

तारजालीको घेरामा दलका प्रतिनिधि !


बिभिन्न राजनीतिक दलका प्रतिनिधिले यसपाली तारजालीको घेरामा बस्नुपर्ने छ भने तिनका सबै गतिविधि क्यामेराबाट नियालिने छ । प्रसङ्ग भरतपुर स्थित भएको पुनःनिर्वाचनको हो । जहाँ बिगतमा मतपत्र च्यात्नेसम्मको घटना भएपछि यसपटक निकै सावधानी अपनाइएको छ । भरतपुर महानगरपालिका वडा नं. १९ र २० को मतगणना अब भने सिसि टिभीको निगरानीमा हुने भएको हो ।

मतगणना स्थल भरतपुरमा रहेको कवर्डहलमा आज निगरानीका लागि चार वटा सिसि टिभी जडान गरिएको सहायक निर्वाचन अधिकृत गम्भिर घिमिरेले जानकारी दिएका छन । उनले राजनीतिक दलका प्रतिनिधिहरुलाई यस पटक कडा निगरानी गरिने बताए ।

उनका अनुसार यसपटक दलका प्रतिनिधिहरुलाई तारको घेरामा राखिने छ । जसका कारण मतगणनाको क्रममा मतपत्रमा क्षति नहुने दावी गरिएको छ । यसअघि वैशाख ३१ को निर्वाचनमा कडा सुरक्षा नहुँदा त्यँहा रहेका राजनीतिक दलका प्रतिनिधिहरुले मतपत्र च्यातेका थिए ।