७२ प्रतिशत मत खस्यो, सहमति जुटे आजैदेखि मतगणना

७२ प्रतिशत मत खस्यो, सहमति जुटे आजैदेखि मतगणना


चितवन भरतपुर महानगरपालिका वडा नम्बर १९ मा कडा सुरक्षाका बीच मतदान जारी छ । बिहान ७ बजेदेखि नै सुरु भएको मतदान प्रक्रिया शान्तिपूर्ण रुपमा भैरहेको छ । अहिलेसम्म करिब ७२ प्रतिशत मत खसिसकेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । बिहानैदेखि वर्षा जारी रहे पनि मतदाता निर्वाध रुपमा मतदान गर्न लाइनमा उभिएका छन् ।

जेठ १४ गते राति गणनाका क्रममा मतपत्र च्यातिएपछि विवादित बनेर मुद्दा परेको भरतपुर–१९ को विषयमा सर्वोच्च अदालतले निर्वाचन आयोगको निर्णय सदर गर्दै पुनः मतदानको फैसला सुनाएपछि आजका लागि मिति तोकिएको थियो ।

भरतपुर–१९ मा तीनवटा मतदानस्थलमा छवटा मतदान केन्द्र रहेको छ ।सबै मतदान केन्द्रमा अहिले शान्तिपूर्ण रुपमा मतदान भैरहेको छ । किरण मावि, किरणगञ्ज मतदानस्थलमा एक हजार २४८, जीवनज्योति स्कुल गुञ्जानगरमा एक हजार ३०६ र शारदानगर माविमा एक हजार २४३ गरी कुल तीन हजार ८९७ मतदाता छन् ।

यसअघि भएको निर्वाचनमा करिब २८ सय मत खसेको थियो । अहिले करिब ३ हजार बढी मत खस्ने अनुमान गरिएको छ । मतदाता लाइनमा रहेकाले त्यति खस्न सक्ने अनुमान गरिएको हो । बिहान वर्षा भए पनि मतदान भने रोकिएन । वैशाख ३१ गते भएको पहिलो चरणको निर्वाचनको मतगणनाका क्रममा जेठ १४ गते राति माओवादीका दुई कार्यकर्ताले मतपत्र च्यातेपछि मतगणना स्थगित भएको थियो ।

भरतपुरका २७ वटा वडाको अन्तिम परिणामअनुसार एमालेका प्रमुखका उमेदवार देवीप्रसाद ज्ञवालीले ४० हजार ९८० मत प्राप्त गरेका छन् भने माओवादी–कांग्रेस गठबन्धनकी रेणु दाहालले ४० हजार १९४ मत प्राप्त गरेकी छन् ।

निर्वाचन आयोगले छानविनपछि पुनः मतदान गराउने निर्णय गरेको भए पनि नेकपा एमालेका दुई कार्यकर्ताले सर्वोच्चमा आयोगको निर्णयविरुद्ध रिट दायर गरेपछि लम्बिएको थियो । सर्वोच्च अदालतले पनि आयोगले दिएको निर्णय सदर गर्दै पुनः मतदान गर्ने फैसला सुनाएपछि आजका लागि मतदानको समय तोकिएको हो ।

वडा नम्बर १९ मा ३ हजार ८ सय ९७ मतदाता रहेका छन् । तीन तहको सुरक्षा घेरा बनाएर सुरक्षा व्यवस्था कडा पारिएको छ । मतदान बिहान ७ बजेबाट सुरु भएर ५ बजेसम्म हुनेछ ।