आफ्नै छवि धुमिल बनाउँदै मन्त्री

आफ्नै छवि धुमिल बनाउँदै मन्त्री


राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केशवकुमार विष्टले युवा तथा खेलकुद मन्त्री राजेन्द्रकुमार केसीसमक्ष परिषद्का विवादास्पद कर्मचारी कमल खनालले राजीनामा नदिए आफू कारवाही गर्न बाध्य हुने बताएको खुलासा भएको छ । पुल्चोकस्थित मन्त्री क्वाटरमा हिजो विहिबार मन्त्री केसी र सदस्यसचिव विष्टबीच भएको गोप्य वार्तामा विष्टले सो अवगत गराएको स्रोतको दाबी छ ।

वार्ताका क्रममा मन्त्री केसीले कमल खनालको बारेमा चर्चा गर्दै विभागीय प्रमुख वासुदेव आचार्यको बारेमा सोधपुछ गरेपछि खनालको कीर्तेको कर्तुतको खुलासा गर्न बिष्ट बाध्य भएका थिए । गोप्यवार्तामा मन्त्री केसीले आचार्यतर्फ सङ्केत गर्दै ‘तपाईंले आर्थिक फाँटको मान्छेलाई प्रशासनको विभागीय प्रमुख बनाउनुभएको रहेछ नि’ भनी जिज्ञासा राखेका थिए । मन्त्रीको आसय उनै विवादास्पद कर्मचारी खनाललाई प्रशासन विभागको नेतृत्व सुम्पने रहेको सुत्रको दाबी छ ।

मन्त्रीको यस्तो आसय बुझेपछि सदस्यसचिव विष्टले खनालको नियुक्ति नै गैरकानुनी भएको, खेलकुदको ऐन–नियममै नभएको दोश्रो श्रेणीमा नियुक्ति लिएको, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उनीबारे उजुरी परेको, अख्तियारले खनालको नियुक्तिको छानविन गर्न युवा तथा खेलकुद मन्त्रालयलाई निर्देशन दिएको, विधिविज्ञान प्रयोगशालाले खनालको नियुक्तिलाई कीर्ते प्रमाणित गरेको, राखेपले छानविन गरी प्रतिवेदन बुझाइसकेको र खनाललाई सफाईको लागि समय समेत दिइसकेको तथ्यबारे मन्त्री केसीलाई जानकारी गराएका थिए । विष्टको प्रष्टोक्तिपछि मन्त्री केसीले मौनता साँधेको स्रोत बताउँछ ।
यतिबेला कीर्ते कार्य गरेर खेलकुदमा वदनाम भएका खनाललाई विभागीय प्रमुख बनाउन राष्ट्रिय खेलकुद कर्मचारी संघका अध्यक्ष रञ्जन थापा र महासचिव फणिन्द्र पौडेल ज्यान छोडेर लागेका बुझिएको छ । यतिबेला थापा र पौडेल खनाललाई काँध हालेर कहिले मन्त्री क्वाटर त कहिले खेलकुद मन्त्रालयको दौडाहा गरिरहेका छन् ।

तर, मन्त्रीको आसय राम्रोसँग बुझेका सदस्यसचिव विष्टले आफू कुनै हालतमा पनि खनाललाई विभागीय प्रमुख बनाउन तत्पर नहुने मन्त्री केसीलाई खरो ढङ्गले बताएका थिए । विवादास्पक छवी भएको र कारवाहीको दायरामा परेका व्यक्तिलाई विभागीय प्रमुखको जिम्मेवारी दिनुभन्दा खनालले राजीनामा दिए सबैको कल्याण हुने तर्कसहितको सुझाव विष्टले मन्त्रीलाई दिएको बुझिएको छ । यस्तो अवस्थामा खनाललाई च्याप्न खोजेमा स्वच्छ छवी भएका मन्त्री केसी नै विवादमा तानिने र करिअरको आरम्भमै दाग लाग्ने खेलकुदका विज्ञजनहरू बताउँछन् ।