शुक्रवारसम्म नारायणघाट-मुग्लिन सडक नखुल्ने

शुक्रवारसम्म नारायणघाट-मुग्लिन सडक नखुल्ने


नारायणगढ–मुग्लिन सडक खण्डमा १० भन्दा बढी ठाउँमा पहिरो झरेपछि शुक्राबार बिहानसम्म सडक नखुल्ने भएको छ ।सो ठाउँमा काठमाडौँबाट इलाम जान आउँदै गरेको ना६ख ७१२१ नंको यात्रुबाहक बस र बा १५ च ९३८१ नंको स्करपियो पहिरोले पुरिएका थिए । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक सन्तोष पन्तका अनुसार अलपत्र परेका सवारीसाधनलाई पहिरो पन्छाएर गन्तव्य तर्फ लगिएको छ ।

उनका अनुसार बुधबार साँझदेखि विभिन्न ठाउँमा गएको पहिरोले सडकको बीचबीचमा १२५ भन्दा बढी सवारीसाधन अलपत्र परेका थिए । अहिले पनि पानी परिरहेकाले पहिरो खस्ने क्रम जारी छ । पहिरो खसिरहेकोले शुक्राबार बिहानसम्म सडक सञ्चालनमा ल्याउन नसकिने पन्तले बताए। पहिरो पन्छाउन लोडर र एक्साभेटर गरी आधा दर्जन साधन परिचालन गरिएको छ ।

सडक बुधबार साँझदेखि अवरुद्ध बनेको हो । साँझ ७:३५ बजे कालीखोला नजिकै तीनकिलो भन्ने ठाउँमा पहिरो खसेपछि सडक अवरुद्ध बनेको हो । सो ठाउँमा काठमाडौँबाट इलाम जान आउँदै गरेको ना६ख ७१२१ नंको यात्रुबाहक बस र बा१५च ९३८१ नंको स्करपियो पहिरोले पुरिएका थिए ।

बस त्रिशूलीमा खसेर बेपत्ता छ भने स्करपियो पहिरोमा पुरिएको छ । पहिरो खसेको देखेपछि चालकले गाडी रोकेर चालक र यात्रु भागेर बाँच्न सफल भएका थिए । घटनास्थल मुग्लिनबाट तीन किलोमिटर नारायणगढतर्फ कालीखोला नजिकै पर्छ । त्यसैगरी उक्त सडकखण्डको चेपाङडाँडामा गएराति रोकिराखेका दुई ट्रक माथिबाट झरेको लेदोले पुरिएका छन् ।

ट्रक चालक भने भागेर बाँच्न सफल भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालका अनुसार सो सडकको दुईकिलो, तीनकिलो, सेतीदोभान, घुमाउनेलगायतका १० भन्दा बढी ठाउँमा ठूला पहिरा खसेका छन् ।