देउवाका तीन पटकको भारत भ्रमण यस्ता थिए

देउवाका तीन पटकको भारत भ्रमण यस्ता थिए


प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको मिति औपचारिक घोषणा हुन बाँकी छ । ‘यस्ता थिए देउवाका विगतका भ्रमण’ शिर्षकमा आजको नयाँ पत्रिकामा यो खबर छ ।

पहिलो : माओवादीको सशस्त्र युद्ध घोषणा
पहिलोपटक प्रधानमन्त्री हुँदा देउवाले ०५२ माघ २८ देखि ५ फागुनसम्म भारतको सातदिने औपचारिक भ्रमण गरेका थिए । त्यसवेला प्रधानमन्त्री देउवा भारतमा रहेकै वेला माओवादीले १ फागुनमा रोल्पा, रुकुम, सिन्धुली र गोर्खामा आक्रमण गरेर सशस्त्र युद्ध घोषणा गरेको थियो । तत्कालीन प्रधानमन्त्री पिभी नरसिंह रावको निमन्त्रणामा भारत गएका देउवाको समयमा भारतसँग २१ बुँदे संयुक्त समझदारीपत्र भएको थियो । त्यसअघि भएको महाकाली सन्धिको शीघ्र कार्यान्वयन र परियोजनामा निजी लगानीसमेत आकर्षित गर्ने सहमति भएको थियो । महाकाली सन्धिको २२ वर्षपछि दिल्ली जाँदै गरेका देउवाले सन्धि कार्यान्वयनलाई जोड दिने तयारी गरेका छन् ।

दोस्रो : माओवादीलाई आतंककारी घोषणा
दोस्रोपटक प्रधानमन्त्री हुँदा देउवा ०५८ चैत ७ देखि ११ सम्म भारतको औपचारिक भ्रमणमा गएका थिए । तत्कालीन प्रधानमन्त्री अटल बिहारी बाजपेयीको निमन्त्रणामा भएको भ्रमणमा माओवादीविद्धको लडाइँमा देउवाले भारतसँग सहयोगको प्रस्ताव गरेका थिए । त्यसवेला माओवादीलाई सरकारले आतंककारी घोषणा गरेको थियो भने नेपालमा संकटकालको अवस्था थियो । भारतले पूर्व–पश्चिम रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने सहमति त्यतिवेलै गरेको थियो । त्यसवेला महाकाली सन्धिको कार्यान्वयनलाई दुवै सरकारले उच्च प्राथमिकतामा राखेको संयुक्त वक्तव्यमा उल्लेख थियो ।

तेस्रो : माओवादीविरुद्ध सहयोगको माग
एमाले र कांग्रेस प्रजातान्त्रिकको संयुक्त सरकार गठनपछि देउवाले प्रधानमन्त्रीका रूपमा ०६१ भदौ २३ देखि २७ सम्म भारत भ्रमण गरेका थिए । प्रधानमन्त्री डा. मनमोहन सिंहको निमन्त्रणामा भएको भ्रमणका वेला २५ बुँदे संयुक्त समझदारीपत्रमा हस्ताक्षर भएको थियो । त्यसवेला देउवाले माओवादीविरुद्धको सरकारी लडाइँमा सहयोगका लागि आग्रह गरेका थिए । भारतीय तत्कालीन प्रधानमन्त्री सिंहले सहयोगको वचन दिएका थिए । त्यसवेला भारतले प्रहरीसहित सुरक्षाफौजलाई मद्दत गर्ने वचन दिएको थियो ।

चौथो : माओवादी परराष्ट्र मन्त्रीसँगै भ्रमणमा
संयोगले देउवाको यसपालिको भारत भ्रमणमा साथमा परराष्ट्रमन्त्रीका रूपमा माओवादी नेता कृष्णबहादुर महरा साथमा हुनेछन् ।