स्वस्थ मनको ढोका खोल्ने यस्तो छ उपाय

स्वस्थ मनको ढोका खोल्ने यस्तो छ उपाय


– स्वामी आनन्द अर्हत

मानव शरीर सबैभन्दा अद्भूत यन्त्र हो । यति ठूलो देखिने वस्यक मानव शरीर करिव सय खर्ब कोषहरू मिलेर बनेको यन्त्रशाला हो । एउटा कोषको केन्द्रमा करिब ६ अर्ब डीएनए अर्थात शरीरको जनेटिक कोडहरू भएका ‘सीडी’ हुन्छन् । अति जटिल संरचना र व्यापक सञ्जालका कारणले मानिसको टाउकोबाट मात्रै ४० देखि ५० प्रतिशत उष्मा (हिट) खर्च हुन्छ । त्यसैले भावनात्मक रूपले अनियन्त्रित स्थिति उत्पन्न हुँदा हामी विशेष शब्दले त्यो स्थितिको चित्रण गर्छौं । अति रिस उठेको बेला कन्चट तातेको, पारो चढेको, आगो भएको जस्ता शब्दहरूले टाउकोमा तातो बढेको जनाउँछन् ।

हाम्रो शरीरमा सबैभन्दा लामो आयु भएका कोषिकाहरू मस्तिष्कका कोषिकाहरू हुन् । शरीरको जम्मा तौलको २ प्रतिशत तौल भएको मस्तिष्कले हामीले लिएको अक्सिजनको २५ प्रतिशत भाग आफैले उपभोग गर्छ तथा शरीरको जम्मा उर्जाको २० प्रतिशत । सबैतिरको पीडा महसुस गर्ने मस्तिष्कका कोशिकाहरूको आफ्नै पीडा भने महसुस गर्ने संयन्त्र हुँदैन ।

हाम्रो शरिरको आधारभूत क्रियाकलाप कोषहरूले गर्छन् । यसैभित्र हामीलाई चाहिने उर्जा बन्छ । हाम्रो शरीरले पाउने उर्जा कोषहरूमा हुने रासायनिक प्रक्रियाबाट उत्पन्न हुन्छ । खाएको खानाबाट पाएको ग्लुकोजलाई अक्सिजनको मद्दतले टुक्र्याइन्छ । जसबाट बनेको कार्वनडाइअक्साईड श्वासबाट बाहिर फालिन्छ । यसै टुक्र्याइने क्रममा पानी, शक्ति र उष्मा (हिट) पनि बन्छ । पानी प्रवाहमान प्रणालीको भाग बन्छ जसले शरीरमा घुलाउने र स्नेहक तेल (लुब्रिकेन्ट्स्) को भूमिका निभाउँछ । उष्माले शरीरको तापक्रमलाई रेखदेख गर्छ । शक्ति शरीरका महत्वपूर्ण क्रियाकलाप जस्तै पाचन, मांसपेशीको संकुचन जस्ता अरु अनेकौा कार्यहरूमा प्रयोग हुन्छ । यो सारा प्रक्रियालाई कोषको श्वासप्रश्वास पनि भनिन्छ ।

मानिस आराम गरिरहेको बेला उसको हृदयबाट खुट्टासम्म रगत पुग्न करिब एक मिनेट लाग्छ भने अलिक कठिन व्यायाम गरेको बेला करिब १० सेकेन्डमै यो प्रक्रिया पुरा हुन्छ । साधारणता मुटुको बाया भेन्ट्रिकले ४ देखि ७ लिटर रगत पम्प गर्छ भने अलिक मेहनतिलो व्यायाम गर्दा मुटुले ३० लिटरसम्म रगत पम्प गर्छ । त्यसैले शारिरीक श्रम, अभ्यास र व्यायाम गरेका बेला शरीरमा रगत दौडिने क्रम बढ्छ जसबाट शरीरका सबै भागहरू सक्रिय हुन्छ र उर्जाको सञ्चार हुन्छ । यो स्वास्थ्यको आधारभूत आवश्यकता पनि हो । सबै कोषिकाहरूले आ–आफ्नो कार्यमा सर्मपित भएर एक लयबद्धतामा कार्य गर्नुपर्ने भएकोले यसले शरीरमा समग्र जीवन्तता ल्याउँछ । शरीर शुद्धी र पुष्टी तथा अन्य सबै कार्यहरु रक्तसंचारका माद्यमले हुने भएकोले नियमित रुपले आफ्नो शरीरको क्षमता, आयु र समय अनुसारको व्यायाम तथा अभ्यास गर्नाले मानिसमा तन्दुरुस्ती र स्फूर्तिको स्तर कायम भइरहन्छ । यो सफलताको एक अमोघ मापदण्ड हो ।

हाम्रो जीवन साना–साना कुराले बनेको छ । ठूला कुरा मनका मात्र हुन् । तपाईंको रक्तचाप, भोजन पचाउने क्षमता, मनको शान्ति, सामाजिक सद्व्यवहार यो सबै प्राथमिक रुपमा तपाईंको शरीरसँग जोडिएको छ । अनन्त विश्व–ब्रह्माण्डको लघु रूप बोकेको यो जटिल शरीरलाई उसले काम गर्ने सहज स्थिति बनाइदियौँ भने यसले पनि तपाईंलाई सकेसम्म आपतमा पार्ने छैन । स्वस्थ शरीरले स्वस्थ मनको ढोका खोल्छ ।

खास गरेर एकै स्थानमा बसेर लामो समय कार्य गर्ने व्यक्तिहरूले आफ्नो जीवनमा व्यायामलाई समावेश नगरेमा उसका शरीर कोही नबस्ने परित्यक्त, राम्रो देखभाल नभएको घरजस्तै हुन पुग्छ । त्यस्तो घरमा माकुराले जालो लगाउने, भित्ताहरूमा दाग, टाटा पैदा हुने, भुईंमा लेउ जम्ने तथा पर्खाल मक्किने त्यसका स्वाभविक परिणती हुन् । अचेल अतिशय तनावको ठूलो कारण मध्ये शरीरले सम्यक व्यायाम नपाउनु पनि एक हो । एकै स्थानमा बसेर काम गर्ने मानिस एकै किसिमको मानसिक स्थितिमा बसिरहने संभावना हुन्छ । मस्तिष्कले जुन कुरा दोहर्‍याउँछ त्यही कुरा उसको अचेतनको स्वभाव बन्छ । अर्थात उसलाई फेरि फेरि त्यही गर्न मन लाग्छ । यस्तो बानीले मानिस लतमा फस्ने, सृजनात्मकतामा ह्रास आउने तथा मन एकोहोरिने हुन्छ ।

अमेरिकन कलेज अफ स्पोर्ट्सको सर्वेक्षणले के देखाएको छ भने प्रत्येक दिन भौतिक अभ्यास जस्तै, हिाड्ने, व्यायाम गर्ने व्यक्तिहरूको हृदय रोग घटेको, कार्यक्षमतामा वृद्धि भएको, स्वासप्रश्वास प्रणाली मजबुत भई उर्जावान् भएको महसुस भएको, शारिरीक तथा मानसिक रुग्णतामा कमी आएको, मृत्युदर घटेको, स्व–भावना स्थिर र राम्रो भएको, मनोदशा शान्त रहेको, कार्यक्षमता बढेको, बुढेसकालमा लड्ने तथा चोटपटक कम लाग्ने तथा शारिरीक कार्यदक्षता तथा स्वतन्त्र जीवनयापनको संभावनामा बृद्धी भएको देखिएको छ ।

अनलाइनमा बसेर, टेलिभिजन हेरेर तनाव कम हुने र मुड ठिक हुने कुरा यसो हेर्दा ठिकै लागे पनि शारिरीक व्यायाम या योग सबैभन्दा लाभदायक र परिणाममूखी हुन्छ । शारिरीक व्यायाम या योगले मांसपेशी र मुटुलाई मजबुत बनाउँछ । शरीरमा लचकता, सन्तुलन, समन्वय, गति, सामथ्र्य र कुनै कुराको प्रतिक्रियामा छरितो बनाउँछ । ल्यान्चेटमा प्रकासित तथ्यांकले के देखाएको छ भने मानिसहरू जो एकै ठाउँमा लामो समयसम्म बसेर काम गर्छन् उनीहरूलाई शारिरीक रुपले सक्रियताले काम गर्ने भन्दा १२५ प्रतिसत बढी ह्दयाघात हुने सम्भावना रहन्छ ।

उर्जाका सक्रियताको दृष्टिले शारिरीक व्यायाम तीन किसिममा वर्गीकृत गरिएको छ– हल्का, मध्यम र सशक्त । विस्तारै हिँड्ने जस्तै घरको वरिपरि, पसलसम्म पुग्नलाई हल्का, ४–५ किमी हिाड्ने लाई मध्य तथा त्यो भन्दा बढी ७–८ किमीसम्म हिँड्ने या दौडिनुलाई सशक्त व्यायाम मानिन्छ । यो मानिसले आफ्नो क्षमता, उमेर हेरेर निर्धारण गर्नुपर्छ । या यो विषयमा दक्ष व्यक्तिसँग सल्लाह लिने या सिक्ने गर्नुपर्छ ।

अब अफिसको माहोलमा कसरी स्फूर्तिलाई बनाइराख्ने ? फोन उठाउँदा उठेर कुरा गर्ने, एउटै कार्यायमा भए आफ्नो कलिग या मित्रलाई फोनमा भन्दा गएर भेट्ने, बसेर मिटिङ गर्ने भन्दा उठेर बोल्ने या उठेर एकअर्काको कुरा सुन्ने किसिमको व्यवस्था गर्ने, ट्वाइलेट या वाथरुमा जाँदा आफ्नो तला नगई माथि या तलको तलामा जाने, अलिक टाढाको प्रिन्टर प्रयोग गर्ने, सम्भव भएसम्म लिफ्ट्को प्रयोग भन्दा हिँडेर जाने जस्ता बानीले अफिसमा एकै ठाउँ लामो समय बसेर कार्यदक्षता घट्ने स्थितिलाई कम गर्दै यसलाई बढाउन सकिने खोजहरूले देखाएका छन् । यसमा मानसिक स्वास्थले ठूलो भूमिका खेल्छ । त्यसको बारेमा हामी अर्को लेखमा चर्चा गर्नेछौं ।

हाम्रो सबैभन्दा नजिकको सधै भर गर्ने मित्र शरीर नै हो । सित्तैमा पाएकोले यसको महत्व ऋण लिएर किनेका गाडी जति पनि छैन । हामी हाम्रो गाडी प्रत्येक महिना सर्भिसिङमा पठाउाछौ तर शरीरको त्यति पनि सौभाग्य नहुन सक्छ । आश्चर्य यो पनि छ कि यसलाई व्यायाम र स्वस्थ आराम दिने भनेको समयको व्यर्थको बर्बादी हो भन्ने मानिसको पनि कमी छैन । तर जब त्यसमा समस्या आउँछन् सबै कुरा छोडेर यसलाई ठिक पार्न लाग्नु पर्ने सबै मानिसको बाध्यता हो । हाम्रो जीवन साना–साना कुराले बनेको छ । ठूला कुरा मनका मात्र हुन् । तपाईंको रक्तचाप, भोजन पचाउने क्षमता, मनको शान्ति, सामाजिक सद्व्यवहार यो सबै प्राथमिक रुपमा तपाईंको शरीरसँग जोडिएको छ । अनन्त विश्व–ब्रह्माण्डको लघु रूप बोकेको यो जटिल शरीरलाई उसले काम गर्ने सहज स्थिति बनाइदियौँ भने यसले पनि तपाईंलाई सकेसम्म आपतमा पार्ने छैन । स्वस्थ शरीरले स्वस्थ मनको ढोका खोल्छ ।

(लेखक ओशो तपोवनका आवासीय ध्यान प्रशिक्षक हुन् ।)