अखेटोपहारसहित अभियुक्त प्रहरी नियन्त्रणमा

अखेटोपहारसहित अभियुक्त प्रहरी नियन्त्रणमा


भक्तपुरको सूर्यविनायक नगरपालिका–९ पलासेस्थित वाटर किङडम रिसोर्टबाट चितुवाको छाला एक थानसहित तीन जनालाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्युरो काठमाडौंको प्रहरी टोलीले पक्राउ गरेको छ । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१० शिखरपुर बस्ने २७ वर्षीय जीवन तामाङ, दोलखाको तामाकोशी गाउँपालिका–२ बस्ने २७ वर्षीय सुरेन्द्र पाख्रिन र दोलखाकै भिमेश्वर नगरपालिका–९ बस्ने २० वर्षीय सिंहवीर तामाङ पक्राउ परेका हुन् । उनीहरुलाई प्रहरीले जिल्ला बन कार्यालय भक्तपुरमा बुझाएको प्रहरीले जनाएको छ ।

उक्त घटना सम्बन्धमा प्रारम्भिक अनुसन्धानको क्रममा दोलखाको भिमेश्वर नगरपालिका–९ जसमन्ते बस्ने बमबहादुर श्रेष्ठले चितुवा मारी छालासहित उनीहरुलाई बिक्री गरेको भन्ने जानकारी गराएपछि जिल्ला प्रहरी कार्यालय दोलखा र प्रहरी चौकी खरिढुङ्गाबाट खटिएको प्रहरीले बमबहादुरको घर खानतलासी गरेको थियो । सो क्रममा ओच्छ्यानको तन्नाभित्र लुकाई राखेको अवस्थामा संरक्षित चितुवाको ढाडको भागको हड्डी, चितुवाको सुकुटी, दुम्सीको दाँतसहितको दाह्रा १ थान, दुम्सीको काँडा १ सय २५ थान र दुम्सीको भुँडीसहित फेला पारी उक्त बन्यजन्तु चितुवाको अखेटोपहार छिपाई राख्ने बमबहादुर समेतलाई पक्राउ गरेको प्रहरीको भनाई छ ।

उता गौर नगरपालिका–३ कबिरचोकस्थित चपुरबाट गौरतर्फ जाँदै गरेको बिआर ०५ पिए ०९१२ नम्बरको सुमो गाडीमा सवार गौर नगरपालिका–७ बस्ने २१ वर्षीय सरोज राय यादव र गाडी चालक गौर नगरपालिका–३ बीपीचोक बस्ने २४ वर्षीय दिनानाथप्रसाद गुप्तालाई अवैध रूपमा ल्याएको सुनसहित शुक्रबार प्रहरीले पक्राउ गरेको छ । हालको मुल्यअनुसार करीव ४६ लाख ७२ हजार ५ सय रुपैयाँ मुल्य बराबरको १ किलोग्राम सुनसहित अभियुक्तहरूलाई नियन्त्रणमा लिइएको हो ।