समाज परिवेश : खाल्डाखुल्डी कहिले पुरिन्छन् ?

समाज परिवेश : खाल्डाखुल्डी कहिले पुरिन्छन् ?


– चित्र केसी

केही दिनअघि सामाजिक सञ्जालमा काठमाडौंको शहरका खाल्डाखुल्डीबारे निकै चर्चा भयो । पानी परेपछि मनमैजुमा तीन कक्षामा पढ्ने विनिता फुयाँलको मृत्यु भयो भने सामाखुसीमा सत्या सापकोटा ढलबाट बगेर पनि मृत्युलाई जित्न सफल भइन् । यी दुईजना प्रतिनिधि पात्र मात्र थिए । नेपालको राजधानी काठमाडौ जहाँको बाटोघाटोको अवस्था यति दयनीय छ, देख्दा पनि लाज लागेर आउँछ ।

देशका सबैभन्दा ठूला मान्छे राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, सभासद्लगायतका उच्चपदस्थ व्यक्ति बस्ने ठाउँ हो, दिनहुँ यही सडक प्रयोग गर्दछन्, हिलो पानी र खाल्डाखुल्डीले सहज तरिकाले हिँड्न सक्ने अवस्था छैन, तर उनीहरूलाई यसबारे कुनै चिन्ता, चासो र लज्जा छैन । यो सडक केही दिनअघि मात्र बिग्रिएको भने पक्कै होइन । विगत २०–२५ वर्षदेखि यही हालत छ । तर, यो बीचमा दर्जनौँ प्रधानमन्त्री र मन्त्री भए, तर यो विषयलाई सुधार गरेर राम्रो शहरीकरण गर्नुपर्दछ भन्ने ध्यान कसैको देखिएन ।

केही दिनअघि प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौं शहरभित्रका खाल्डाखुल्डी १५ दिनभित्रमा पुरिसक्न निर्देशन दिए । सरकारले विकास योजना ल्याउँदा जहिले पनि दीर्घकालीन र टिकाउ हुने किसिमले ल्याउनुपर्छ । एक दिन मिडियाले कुनै कुरालाई इस्यु बनाइदियो भन्दैमा केही गरेजस्तो गरेर जनताको आँखामा छारो हाल्ने काम राज्यले गर्नुहुँदैन । दैनिक रूपमा राज्यका विकास निर्माणलाई चुस्त र दुरुस्त बनाइराख्न सडक विभाग, यातायात विभाग, विद्युत् प्राधिकरणजस्ता विभागको किन यस्ता कुरामा ध्यान नगएको हो ? उनीहरूको काम राजाको काम कहिले जाला घाम भन्ने पाराको छ, यसबारेमा माथिल्लो निकायबाट उनीहरूको कामकारबाही किन निगरानी हुँदैन ।

सायद विरलै होलान् नेपालका प्रधानमन्त्री, राष्ट्रपति, मन्त्री सभासद् भएका व्यक्ति विकसित मुलुकको भ्रमण र सेमिनारमा नगएको । त्यहाँ पुग्दा उनीहरूले त्यहाँको विकास सडकको पूर्वाधारजस्ता अन्य विकासको संयन्त्रबारे कुनै अनुभूति गर्दैन या बुझी–बुझी बुझपचाएर ‘यस्तै चलेगा’ भन्ने मनसाय भएर हो या मतलब नराखेर हो, अन्य विकसित मुलुकको विकास सडक देखेर आफ्नो देशको बिजोग देखेर अलिकति पनि हीनताबोध हुँदैन है हाम्रा उच्चपदस्थ व्यक्तिहरूलाई !

म जुन देशमा छु युनाइटेड अरब एमिरेट्स, यस देशको छोटो समयको विकासको प्रगति देख्दा इच्छाशक्ति र चाहना हुनुप¥यो, विकास गर्नलाई समयले छेक्दैन । १२–१५ वर्षको छोटो समयमा नै यूएईले गरेको विकास युरोप, अमेरिकालगायत अन्य कुनै मुलुकको भन्दा कम छैन, सराहनीय खालको छ ।
जबसम्म राज्यको पहुँचमा पुगेका व्यक्तिहरूको मनभित्र केही गरौँ भन्ने इच्छाशक्तिको भावना जागृत हुँदैन तबसम्म हामी अगाडि बढ्न सक्ने अवस्था देखिँदैन । यसका लागि भिजनसहितको सकारात्मक सोच भएको व्यक्ति नेतृत्वमा आउनुपर्ने देखिन्छ । सोचमा पूर्ण परिवर्तनको खाँचो देखिन्छ । जनताको समस्याप्रति किन्चित चासो र चिन्ता छैन । विकसित मुलुकमा जनताको आधारभूत आवश्यकताको जिम्मा राज्यले लिएको हुन्छ, आफ्नो योग्यताअनुसारको हैसियत हुन्छ । नेपालबाट चाहिँ रोजगारीका लागि दैनिक हजारौँ युवाशक्ति खाडी मुलुक जान्छन् । उनीहरूले त्यहाँ पाउने दुःख र सास्ती अनेक छन् । यो सबै जानेर पनि सरकारले उनीहरूको सुरक्षाका लागि केही गरिरहेको छैन, जिम्मा लिइरहेको छैन । उल्टै बरु सरकारका कर्मचारीबाट तिनै खाडी मुलुक जाने युवालाई अध्यागमन विभागमार्फत लुट्छ, दोहन गर्छ । जबसम्म वैदेशिक रोजÞगारीमा गएका युवाशक्तिलाई स्वदेश फर्काएर उनीहरूको सीप र योग्यताको आधारमा रोजÞगारी दिने कामको पहल या सुरुवात हुँदैन तबसम्म देशको विकास कसरी सम्भव होला र ?

अहिलेसम्म सम्बन्धित निकायले लाखौँ युवालाई स्वदेश फर्काउनेबारे न कुनै सोच बनाएको छ न त उनीहरूको बारेमा कुनै नीति नै छ । यो विषयमा राज्य गम्भीर बन्न ढिला भइसकेको छ । नेपाली वैदेशिक रोजगारको लागि अन्य मुलुकमा श्रम गर्दा हेपिने, अपमानित हुने र गरिब देशको नागरिक भनेका नेपाली हुन् भनेर अन्य देशका नागरिकले हेप्ने प्रवृत्तिको अन्त्य कहिले हुन्छ सरकार ? देशका नागरिकको भावनामा ठेस पुग्ने र अपमान हुनबाट बचाउने काम राज्यको होइन र ? यसप्रति गम्भीर भई तत्काल उचित सम्बोधनको कदम अघि सारियोस् । राज्यले आफ्नै नागरिकमाथि दर्शाएको उदासीनता र विभेदपूर्ण व्यवहारसँग सडकका यी खाल्डाखुल्डीको साइनो गाँसिएको छ । सुन्दा अटपटजस्तो लागे पनि थोरै मात्र गम्भीर भई विचार गरे यस कुराको चुरो फेला पर्छ । सरकार गम्भीर बन । किनकि, सरकार भनेको नागरिकको हितकै लागि त हो ।