सिक्किमे मुख्यमन्त्रीको आँखामा यस्तो थियो नेपाल

सिक्किमे मुख्यमन्त्रीको आँखामा यस्तो थियो नेपाल


– भरत कोइराला

सिक्किमका दिवङ्गत पूर्वमुख्यमन्त्री नरबहादुर भण्डारीको यही साउन ४ गते बुधबार राष्ट्रिय सम्मानका साथ उहाँको पुख्र्यौली थलो रानीखोलामा अन्त्येष्टि गरियो । अन्त्येष्टिअघि राज्यको तर्फबाट उनलाई २१ तोपको सलामी दिनुका साथै राज्यपाल श्रीनिवास पाटिल र मुख्यमन्त्री पवनकुमार चाम्लिङले राष्ट्रिय झन्डा ओढाएका थिए । उहाँको शवयात्रामा हरेक दल, समुदाय र वर्गका हजारौँ नरनारीको सहभागिता थियो । अपार जनसमूहले रुँदै श्रद्धापूर्वक अन्तिम बिदाइ गरे भने छोरा रोहन भण्डारीले दागबत्ती दिएका थिए । यो शवयात्रालाई सिक्किमकै ‘ऐतिहासिक’ तथा ‘भूतो न भविष्यति’ भन्ने टिप्पणी गरिन्छ । उनको निधनमा सिक्किम सरकारले एक दिन सरकारी बिदा दिएको थियो भने एक साताभिर शोक मनाउने निर्णय गरेको थियो । मुख्यमन्त्री चाम्लिङ स्व. भण्डारीका प्रबल सहयोगी थिए । भण्डारी मुख्यमन्त्री रहेका बेला उनी प्रभावशाली मन्त्री थिए । पछि दुई नेताबीच मतभेद उत्पन्न भएपछि चाम्लिङले भण्डारीको नेतृत्व एवम् सिक्किम सङ्ग्रह परिषद् परित्याग गरी सिक्किम लोकतान्त्रिक मोर्चा नामक पार्टी गठन गरेर भण्डारीलाई विस्थापित गर्दै शासन सम्हालेका हुन् । भण्डारी लगातार तीनपटक मुख्यमन्त्रीमा निर्वाचित भएका थिए भने चाम्लिङ विगत ३५ वर्षयता निरन्तर मुख्यमन्त्री रहिआएका छन् ।

आफ्नो पूर्वनेता भण्डारीप्रति श्रद्धाञ्जली अर्पण गर्दै मुख्यमन्त्री पवन चाम्लिङले भारतमा नेपाली भाषालाई संवैधानिक मान्यता दिलाउन उहाँले निर्वाह गरेको अग्रणी भूमिकाको उच्च मूल्याङ्कन गर्दै भने– स्व. भण्डारी सिक्किमको महान् नेता हुनुहुन्थ्यो । सिक्किमको नवनिर्माण र विकासमा उहाँको योगदान सदा स्मरणीय रहनेछ ।

स्व. भण्डारी सिक्किमको नेता भए तापनि नेपाली जाति, भाषा, साहित्य र संस्कृतिलाई अति स्नेह र सम्मान गर्नुहुन्थ्यो । नेपाली भाषामा उहाँले उत्कृष्ट कथा र निबन्धहरू लेख्नुभएको छ । अन्तिम क्षणसम्म गर्वसाथ भन्नुहुन्थ्यो, ‘म नेपाली हुँ ।’ नेपालप्रति उहाँको निकै आकर्षण र अत्यधिक सद्भाव थियो । भण्डारी बेलाबेलामा नेपाल आइरहनुहुन्थ्यो र भन्नुहुन्थ्यो– हामीले आफ्नो स्वाधीनताको रक्षा गर्न सकेनौँ, तर नेपालको स्वतन्त्रता कहिल्यै नगुमोस् । नेपाल सधैँ स्वतन्त्र रहोस्, शिर ठाडो पारेर बाँचोस् । नेपालले आफू बाँच्ने मात्र होइन भारत र अन्यन्त्र रहेका नेपालीप्रति पनि सरोकार राख्न सक्नुपर्छ । नेपाली जातिको शिर उच्च पार्नुपर्छ ।

स्व. भण्डारी नेपालको परिस्थिति, समस्या र गतिविधिसँग राम्ररी परिचित हुनुहुन्थ्यो । समय–समयमा नेपाल आउने क्रममा २०४६ सालको जनआन्दोलन समाप्तिपछि, २०४७ को साउनमा काठमाडौं आएर फर्किएलगत्तै उहाँले आफ्नो नेपाल यात्राको अनुभव सुनाउनुभएको थियो । त्यसबेला म वरिष्ठ पत्रकार हरिहर विरहीद्वारा सम्पादित ‘साप्ताहिक विमर्श’को झापास्थित प्रतिनिधि थिएँ । उक्त पत्रिकाको तर्फबाट दार्जिलिङ–सिक्किम क्षेत्र पनि हेर्ने जिम्मेवारी पाएकाले मैले पठाएको विवरण ‘विमर्श’ले विस्तृत रूपमा प्रकाशित गरेको थियो । प्रस्तुछ छ, २०४७ भदौ २२ गते प्रकाशित भण्डारीको नेपाल यात्राको अनुभवको केही अंश :

आजको नेपाल यस्तो रहेछ

(सिक्किमका मुख्यमन्त्री नरबहादुर भण्डारीको हालैको नेपाल भ्रमणको अनुभव)

पशुपतिको यात्रा । तारिख ६ जुलाई १९९० को बिहान शुभचिन्तकहरूले बिदा दिए । प्रिमुला र रोशन (छोरा–छोरी)लाई पनि साथमा लिएर हिँडेँ । सिक्किम आमाको काख छोडेर बाहिर जाँदा सधैँ नरमाइलो लाग्छ ।

पश्चिम बङ्गालको सिमाना पार भयो । नेपालको पछ्यौरी समाउँदासमाउँदै स्वागत भयो । सधैँ म नेपाल यात्रा भन्थेँ, तर यसपालि पशुपति यात्रा भन्छु ।
हामी नेपाल राजमार्गका दुवैतिर हेर्दै बिस्तारै विराटनगर पुग्यौँ । सडकका दुवैतिर खेतीपाती गर्ने मान्छेहरू ठम्याउन नसकिने रहेछ । घरहरू देख्दा गरिबीको रेखामुनि हो कि माथि, त्यो पनि यसै भन्न नसकिने रहेछ । स्कुलहरूका कुरा गरौँ भने नानीहरू त सडक र खेतबारीभरि देखिन्थे । घर–घरमा बिजुली लगाउनका लागि बिजुलीका खम्बा देखिएन र जमिनमुनिबाट लगेजस्तो पनि लागेन । अस्पतालको के दशा छ, इत्यादि विषयले अल्मल्याउँदै विराटनगर बेलैमा पु¥यायो ।

विराटनगरको ‘सेभेन सिस’ होटेलमा पुगेको केहीबेरपछि नेपाल सरकारका भारदारहरू मन दुखाउँदै आए, तर हामी हाम्रै बन्दोबस्तमा बस्ने भयौँ । संवाददाताहरूले भेटे । पत्रकारहरू मुखभरि प्रश्न लिएर आएका रहेछन् । उनीहरूका प्रश्न खाब्जे परेका थिए । पहिले सिक्किमका मूल मागहरूको विषयमा चर्चा गरे र बिस्तारै नेपालको आन्दोलनको विषयमा प्रश्न उठ्यो । हुन त नेपालले जनआन्दोलन समाप्त भएको अनुभव गर्नु स्वाभाविक हो, तर वास्तवमा राजनीतिक आन्दोलनले थकाइ मारेको मात्र हो । र, राजनीतिक दलहरू पुनः बिस्तार–बिस्तार राजनीतिक रणभूमिमा सामान–सर्दाम लिएर उत्रिन लागेको देखियो । फलाक्न पनि थालेका छन् र जोखाना हेर्न पनि थालेको देखियो । भाकल त गर्छन् नै । नेपाली काङ्ग्रेस, कम्युनिस्ट, भित्रभित्रै उता पञ्चायती राजावालहरू पुनः गुनगुनाउन थालेको देखियो । यो गाउँले बाघहरू हुन् । बथानमा बसेका छन् ।

समस्त देशवासी साह्रै होसियार हुने बेला आएको छ । राजनेताहरूले ओल्याई, पक्षपात, सङ्कुचित विचार राख्ने बेला छैन । नेपाल देशको नयाँ संविधान बनिने भएको छ । यो संविधानअन्तर्गत देशमा चुनाव हुनेछ । नेपाल देश र जनताको अस्तित्व र भविष्य त्यसैमा आधारित हुन्छ । नेपाल देशको संविधान कस्तो ढाँचाको बनिने हो, बनिन त देश र जनताकै पक्षमा बनिन्छ, तर अहिल्यै ‘राजा–प्रजा’ मा शङ्का उब्जन लागेको छ । त्यसर्थ, नेताहरूमा निद्रा छैन । नेपालको संविधान बनिएर जनताका अघि आउँछ र त्यस संविधानले लोकप्रियता प्राप्त गर्दछ वा गर्दैन भन्न अप्ठ्यारो छ । नेपालको संविधानमा ‘धर्मनिरपेक्षता’ र ‘राजाको भूमिका’ कस्तो हुनेछ त्यस्ता विषयले संविधान निर्माताहरूको ध्यान आकर्षित गर्दछ । सर्प पनि मरोस् लठ्ठी पनि नभाँचियोस्, अनि भित्र र बाहिरको स्वार्थ नहोस् भन्ने आमजनताको भावनाको कदर हुनुपर्छ । वास्तवमा नेपालभरि हेर्दा दुई पक्षका मानिस देखिए ।

यसरी नेपालको नयाँ संविधानको लेखाजोखा राम्ररी गर्दै जाँदा महाराजाधिराजको राजनीतिक भूमिका र वर्तमान राजनेताहरूको दूरदर्शिता फेला पार्नु अति आवश्यक छ । यस देशको संविधानमा नेपालको आँखीझ्याल सदाका लागि बन्द हुने हो वा जस्केलोसम्म खुला राख्ने (?) मूल ढोका त बन्दजस्तो लाग्यो । …‘नेपालको देशव्यापी आन्दोलन केवल बाबुछोराको बन्डापत्रको झगडा हो !’– प्रश्नोत्तरलाई दोहो¥याएर ‘जीवनी’ पनि छ ?

वास्तवमा म तीर्थयात्रा गर्न हिँडेको । तीर्थयात्रामा जाँदा दुःख गर्नुपर्छ । हार्दिक बधाई र शुभकामना चढाउँदै नेपालको राजधानी काठमाडौं पुगियो । नेपालको राजमार्ग हेर्दा समस्त नेपालका जनताले मात्र आन्दोलन गरेनछन् । बाटाघाटाले पनि आन्दोलन गरेर होला– साह्रै सोचनीय रहेछ । कुनै पनि देशमा आन्दोलन हुँदा यस्तै हुन्छ । यी सब धनजन गएर पनि देश सप्रिय भावी सन्तानले गुण गाउँछन् । तर, हाम्रो त जनआन्दोलनले देशको अस्तित्व गुम्यो र भावी सन्तानको चिहानमा मुत्ने काम भयो । प्रहरीहरूको सोही दशा रहेछ । आन्दोलनमा सबैभन्दा ज्यादा दुःख प्रहरीलाई हुन्छ, तर आन्दोलनपछि ब्याख्नु पनि प्रहरी नै हुन्छन् । सिक्किममा पनि प्रहरीहरूको त्यही दशा भएको थियो । तसर्थ, स्थानीय जनता र राजनेताहरूले प्रहरी विभागको भूमिका र परिस्थिति बुझिदिनुपर्ने हो ।

आइतबार बिहानै तीर्थ सुरु भयो । ‘स्वयम्भू, बुढानीलकण्ठ, बौद्ध र महांकालको दर्शन–पूजा सम्पन्न भयो । सोमबार बिहानै पशुपति र दक्षिणकाली अनि शेषनागको दर्शन आराधना सम्पन्न भयो । यो सोमबार अरूजस्तो सोमबार होइन अनि यस्तो पुनीत बारमा पूजा गर्ने साइत आफैँ आफैँ परेछ ।
विशेष हिन्दुू धर्मावलम्बीहरू यसरी तीर्थ गर्न जान्छौँ । नेपाल समस्त हिन्दू मात्र होइन, तर बौद्ध धर्मावलम्बीहरू पनि धाएर जान्छौँ । अभाग्यवश, मन्दिर, गुम्बा जत्तिकै पवित्र र विश्वसनीय भए तापनि सही रूपमा सफा–सुग्घरमा ध्यान पटक्कै दिएको छैन र पाठपूजा गर्ने पुजारी पशुपति मन्दिरशिवाय अरूमा छैनन् । जब मन्दिर र गुम्बामा पुजारी छैनन् अनि सफासुग्घर छैन भने अरू के आशा राख्नु ?

सोमबारको ठीक ३ बजे नेपालका प्रधानमन्त्रीलाई भेट्न गयौँ । बडो खातिरपूर्वक उहाँका निजी सचिवले भित्र्याउनुभयो । प्रधानमन्त्रीलाई हार्दिक बधाईपश्चात् चियाचमेना र कुराकानी भयो । विशेष नेपालीभाषा विषयमा बातचित भयो । हामी हार्दिक शुभकामना चढाउँदै बिदा भयौँ ।

सायद आन्दोलनको प्रभावले होला, राजधानीको अवस्था अति शोभनीय थियो । पर्यटकहरू सारै देखिएनन् । शहरबजार न्यास्रो देखिन्थ्यो । भाउ बिक्री राम्रो थिएन । सरसामानहरू सारै महँगो । राजतन्त्र र प्रजातन्त्रको बीचमा चेप्टिएर होला नसप्रिएकोजस्तो अनुहार रहेछ काठमाडौंको, र मानिस पनि मणि हराएको सर्पजस्ता भएछन् । व्यापारीहरू हारेका जुवाडेजस्ता देखिन्थे । ‘क्यासिनोे’ हेर्ने रहर ग¥यो छोराले र गयौँ पनि । तर, सारै नराम्रो लाग्यो । देश र राज्यका जनता बिगार्नु हो भने ‘क्यासिनो’ खेल्नुपर्ने रहेछ । क्यासिनो सबभन्दा नराम्रो जुवा हो, … त्यहाँ अति धूम्रपान हुन्छ, …त्यहाँ मद्यपान हुन्छ, त्यहाँ जमघट नराम्रा भ्रष्टाचारीहरूको हो… समाजद्रोहीहरूको हो । सिक्किममा पनि ‘क्यासिनोे’ खोल्ने सुझाव आएको छ । यो अब सिक्किम आमाको काखमा खोल्ने त के कुरा, नाम लिनु पनि अपराध सम्झन्छु । क्यासिनो खोल्नुपरेको खण्डमा सिक्किमका जनतालाई प्रतिबन्ध लगाउनुपर्दछ ।

पशुपतिको यात्राको अन्तिम रात्रिभोज नेपालका गृहमन्त्री र अरू साथीहरूसँग होटेलको नाचघरमा भयो । त्यहाँ नेपालका थरीथरीका नृत्य तथा सङ्गीत कला पनि प्रस्तुत भए र मिश्रित नृत्यमा नाच्नुपर्छ भन्ने आग्रह आयो मैले भने– ‘… मलाई नाचुँ भन्ने तथा नाच्नुपर्छ भन्ने मेरो परम् शत्रु हो ।’ हाम्रो खाना खाइसकेपछि बिदा भयौँ, यो रात अन्तिम र बिहानबिहानै फर्कनुपर्ने हतारमा निद्रा त त्यत्तिकै भयो ।

भेलिपल्ट बिहान ७ बजे सबैसित बिदा लिएर काठमाडौं शहर छोड्यौँ । त्यही पट्टाइलाग्दो राजमार्गमा सिकारु झाँक्री नाचेजस्तै गाडीमा फर्कंदै थेचारिँदै हेटौँडाछेउको नहरमा बसेर केही नरुचेका गाँस कोचरेर सीधै सिलगढी होटेलमा १५ घन्टाको बाटो पार गरेर आयौँ र अधपिल्चो भएर बास बस्यौँ । भोलिपल्ट ११–७–९० का दिन सिक्किम आमाको गोदमा आड लिन पुग्यौँ । पशुपतिको यात्रा…।