लोकमानसिंह कार्की भन्नुहुन्छ- ‘हत्याको षड्यन्त्र भएपछि परदेशिन बाध्य भएँ’

लोकमानसिंह कार्की भन्नुहुन्छ- ‘हत्याको षड्यन्त्र भएपछि परदेशिन बाध्य भएँ’


तात्कालिक प्रधानन्यायाधीश सुशीला कार्कीको कोपभाजनमा परेर पदमुक्त गरिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तात्कालिक प्रमुख आयुक्त लोकमानसिंह कार्कीले आफ्नो हत्या गर्ने षड्यन्त्र रचिएको सुइँको पाएपछि देश छोड्न बाध्य भएको बताउनुभएको छ । केही महिनायता प्रवासमा रहँदै आउनुभएका कार्कीले दूरभाष–संवादका क्रममा ‘तपाईंले देश किन छोड्नुभएको हो’ भन्ने घटना र विचारको प्रश्नमा जवाफ दिँदै भन्नुभयो, ‘मैले देश छोडेको होइन, छोडाइएको हो । मलाई मेरो देश प्राणभन्दा प्यारो लाग्छ र अहिले म जहाँ छु त्यहाँ आफ्नो देश सम्झेर तड्पिरहेको छु । देश बर्बाद गर्नेहरू र देश लुट्नेहरूले मलाई आफ्नो मातृभूमिमा रहनै नसक्ने परिस्थिति सिर्जना गरेका हुन् । मेरो माटोसँग टाढिएर रहनुपर्दा मलाई जुन छटपटी भएको छ, त्यो पीडा म यहाँ शब्दमा व्यक्त गर्न सक्दिनँ ।’

० कसले–कसरी तपाईंलाई देश छोड्न बाध्य तुल्याए, स्पष्ट गरिदिन सक्नुहुन्छ ?
– केही पुराना व्यापारिक घरानाका व्यक्ति, केही राजनीतिक दलका नेता र उच्च तहबाट अवकाशप्राप्त केही प्रहरी अधिकृतहरूले मेरो हत्या गर्नेसमेतको षड्यन्त्र रचेको सुइँको पाएपछि म नेपाल छोड्न बाध्य भएको हुँ । जसले मुलुकमा ब्रह्मलुट गरिरहेका छन् र जो लोकतन्त्र आफ्नो कब्जामा लिएर मनपरीतन्त्र चलाउँदै छन्, तिनले ममाथि दागा धरे । विदेशी लगानीमा आफ्नो जीवन निर्वाह गरिरहेकाहरूले मलाई विस्थापित गर्न सम्भव भएसम्मका उपाय अवलम्बन गरे । सतीले श्राप दिएको देशमा भीमसेन थापाहरू सेरिए, म खेदिएँ ।

० तपाईंले राज्यसँग सुरक्षा माग्न पनि त सक्नुहुन्थ्यो नि ?
– हेर्नुस्, मेरो कामका कारण ममाथि उत्पन्न सुरक्षा थे्रटलाई लिएर विश्लेषण भयो र मलाई आजीवन विशेष सुरक्षा दिने भनी मन्त्रिमण्डलले निर्णय पनि गरेको हो । तर, मलाई जब सुरक्षा चाहियो, तब सबै सुरक्षा व्यवस्था हटाइयो । मैले आफ्नो सुरक्षाको लागि विभिन्न च्यानलबाट राज्यसँग अनुनयविनय गरेँ । क्याबिनेटले गरेको निर्णय मात्र कार्यान्वयन गरिदिए हुन्छ भनेर पनि पटक–पटक भनेँ । तर, कुनै सुनुवाइ भएन । हामीले त्यसबेला जो–जसलाई कारबाहीको दायरामा ल्याएका थियौँ, जसमाथि निगरानी बढाएका थियौँ र जो अनुसन्धानको दायरामा परेका थिए, ती सबै घोषित या अघोषित रूपले एक भएछन् । मलाई टेलिफोनमा ज्यान लिनेलगायतका धम्की आउन थाल्यो, मेरो मुभमेन्ट हुने सम्भावित ठाउँहरूमा शङ्कास्पद मानिसका गतिविधि बढ्न थाल्यो । त्यस्तो अवस्थामा मैले आफू हुँडारहरूको बीचमा फसेको हरिणझैँ महसुस गरेँ र ज्यान जोगाउन अनेक उपाय गर्ने क्रममा बिदेसिन पुगेँ ।

० त्यसो भए अब तपाईं कहिल्यै नेपाल फर्कनुहुन्न त ?
– म पनि तपाईंलाई प्रश्न गर्छु– के नेपालमा कहिल्यै सुशासन र मानवराज वहाली हुँदैन र ? सधैँ यस्तै बेथिति र विकृति रहिरहला र ? असल मानिसले राम्रो काम गर्ने दिन पनि आउला नि नेपालमा ! देशमा राम्रा मानिसले शासन गर्ने दिन अवश्य आउनेछ र त्यतिबेला मुलुकमा कसैले पनि अन्याय महसुस गर्नुपर्ने छैन । म र मजस्ता मानिस जो देशभित्रै असुरक्षित महसुस गरेर बाहिरिनुपरेको छ तिनले स्वदेशका निम्ति केही गर्ने अवसर पाउने छन् । तर, मैले देशको अवस्था राम्रो भएपछि मात्र फर्कन्छु भन्न खोजेकोचाहिँ होइन, मेरो ज्यान सुरक्षित रहन्छ भन्ने विश्वास भएका दिन म स्वदेश फर्कन्छु । त्यो भोलि नै पनि हुन सक्छ र थप केही समय लाग्न पनि सक्छ ।

० मरिन्छ कि भन्ने खुब डर लाग्छ तपाईंलाई, होइन ?
– म मर्नबाट डराउँदिनँ । मर्न डर नलाग्नुको अर्थ हुँडारहरूको सिकार बनेर मर्नु पनि त होइन नि । लोकतन्त्रको स्थापनापछि कानुनी राज र सुशासन स्थापना हुने मेरो अपेक्षा थियो । सुशासनकै निम्ति अख्तियार प्रमुखका रूपमा मैले जुन आकार–प्रकारका मानिसमाथि अनुसन्धान र निगरानीको कानुनी प्रक्रिया सुरु गरेको थिएँ, त्यतिबेलै मैले मातृभूमिका लागि आवश्यक परे ज्यान अर्पण गर्ने निर्णय लिएको थिएँ । तर, मर्न तयार हुनुको मतलब अपराधीका हातबाट सडकमै मर्नु त होइन नि । मैले देशका लागि अझै केही गर्नुछ, केही गर्नका लागि पनि बाँच्नुपर्ने भयो ।

० तपाईंलाई यो देशले फेरि कुनै महत्वपूर्ण जिम्मेवारी देला जस्तो लाग्छ ?
– देशमा मानवराज सुरु हुनेमा म विश्वस्त छु । त्यस्तो अवस्थामा देशका निम्ति केही गर्न खोज्ने÷चाहने राम्रा मानिसको खोजी हुन्छ । म मात्र होइन, सबै असल, इमानदार र क्षमतावान मानिसले देशसेवाको मौका पाउने छन् ।

० यसको मतलब अहिलेको व्यवस्था नै परिवर्तन हुनुपर्छ भन्ने तपार्इंको भनाइ हो ?
– होइन । व्यवस्था जे भए पनि अवस्थाचाहिँ परिवर्तन हुनैपर्छ भन्ने मेरो भनाइ हो । अवस्था बदलिनुपर्छ र बदलिन्छ ।

० काङ्ग्रेस, एमाले, माओवादी र राप्रपाजस्ता प्रमुख राजनीतिक शक्ति तपाईंका विरुद्ध एकमतझैँ देखिन्छन् । यिनलाई विस्थापित गर्न सक्ने कुनै विकल्प यहाँ पैदा हुन सकेको पनि छैन । अवस्था परिवर्तन पनि यिनै काङ्ग्रेस–कम्युनिस्टले नै गर्नुपर्ने त होला ?
– मेरोविरुद्धमा काङ्ग्रेस, एमाले, माओवादी, राप्रपा र राजपालगायत कुनै पनि दल छैनन् । ती दलभित्रका केही भ्रष्टाचारीहरू मात्र मेरोपछाडि हात धोएर लागिपरेका हुन् । राजनीतिक दलहरूले त मलाई सर्वसम्मत रूपमा सिफारिस गरेर अख्तियार प्रमुख बनाएको हो नि । फेरि मलाई दलहरूले महाअभियोग प्रस्ताव संसद्बाट पारित गरेर हटाएको पनि होइन । व्यक्तिगत कुण्ठाले ग्रस्त व्यक्तिलाई भ्रष्टाचारी र आपराधिक मनोवृत्तिका केही मानिसले उपयोग गरेर मलाई अन्यायपूर्वक हटाइएको हो । सर्वोच्च न्यायालयबाट न्याय पाउने आशा मैले गरेको छु । त्यसैले सबै दलहरू मेराविरुद्ध छन् भन्न मिल्दैमिल्दैन । मलाई दलका इमानदार नेता–कार्यकर्ता र इमानदार प्रशासकहरूले सधैँ साथ दिएका छन्, भविष्यमा पनि दिनेछन् ।

० सुरक्षा त नदिनेहरूबाट साथ पाउने आशा गर्दै हुनुहुन्छ ?
– मैले भनिहालेँ नि, मुलुकमा सधैँ यस्तै अवस्था रहनेछैन र देश बर्बाद गर्नुमा सबै राजनीतिज्ञ तथा सबै कर्मचारी प्रशासकहरू बराबर दोषी या जिम्मेवार छन् भन्ने पनि होइन । राम्रा मानिसले मलाई हरेक अवस्थामा राम्ररी साथ दिनेछन् र दिँदै आएका पनि छन् । यतिबेला केही प्रतिकूलताको स्थिति भए पनि अन्ततः मलाई सुरक्षा दिनेछ मेरो राज्यले, यो मेरो विश्वास हो ।

० तपाईंसँगको निकटताकै कारण कर्मचारी चूडामणि शर्माले दीप बस्नेतको डण्डा खानुप¥यो भन्छन्, तपाईं नै नेपाल आउँदा झन् तपाईंलाई सुरक्षा होइन सास्ती दिइन्छ भन्ने लागेको छ कि छैन ?
– कानुनको राज सुरु नभएको अवस्थामा मैले मात्र होइन धेरैले सास्ती पाउने स्थिति हुन्छ । राज्यसँग मैले ‘सुरक्षा’ खोजेको कारण पनि यही नै हो । जहाँसम्म चूडामणिको कुरा छ, उनलाई मेरै निकटका मानिस भएकोले दुःख दिएकोजस्तो लाग्दैन । यदि हो भने त्यो दुर्भाग्य हो । मेरो सबभन्दा निकटका मानिस त दीप बस्न्यात नै हुन् नि । हामीले धेरै काम सँगै गरेका हौँ । उनले मेरो निकटकालाई खोजी–खोजी कारबाही गर्लान् भन्ने मलाई लाग्दैन । सर्वोच्च अदालतमा पनि पहिलेझैँ अराजकता छैन र अदालतबाट न्याय मिल्ने विश्वास बढेको छ ।

० देशका भ्रष्टाचारीहरू एक भएर तपाईंलाई दुःख दिएको भन्ने तपाईंको दाबी छ । तर, तपाईं ती को–को हुन् र तपार्इंले के गर्न लाग्नुभएको हुनाले उनीहरू एक भएर तपाईंका विरुद्ध जाइलागेका हुन् भन्ने विषयमा केही बताइरहनुभएको छैन, किन ?
– मैले राष्ट्रपतिसमक्ष गोपनीयताको शपथ खाएको छु । त्यसैले कानुनले तोकेको, बाध्य तुल्याएको या देशमा असामान्य स्थिति उत्पन्न भएको अवस्थामा मात्र मैले कानुननिर्दिष्ट स्थानमा गएर मुख खोल्ने हो । जहाँ पायो त्यहीँ बोलेर हिँड्ने कुरा भएन । संसद्को महाभियोग समितिमा बोलाएर सोधिएको भए म सम्मानित संसद्का माननीय सदस्यहरूसमक्ष आफ्ना कुराहरू राख्न तयार थिएँ र छु । समितिले मेरो स्पष्टीकरणसमेत नराखीकन प्रतिवेदन बनाएको र रेकर्डमा राखेको भन्ने सुनेर म स्तब्ध भएको छु । वास्तवमा मेरो भनाइसमेत नसमेटीकन प्रतिवेदनले पूर्णता पाउन सक्ने म ठान्दिनँ । एक न एक दिन मलाई यसबारेमा सत्य प्रकट गर्न पाउने कानुनी अवस्था र अवसर मिल्ने विश्वास छ । त्यस्तो अवसर आउँदा सबै तथ्यहरू कानुनसम्मत ढङ्गले म बाहिर ल्याउनेछु । कोही गैरजिम्मेवार र पूर्वाग्रही भए भन्दैमा मैले पनि गैरजिम्मेवार बन्न मिल्दैन ।