फिर्ता लिने भए प्रचण्डले लिए हुन्छ-सभापति सुशील कोइराला

फिर्ता लिने भए प्रचण्डले लिए हुन्छ-सभापति सुशील कोइराला


नेपाली काङ्ग्रेसको बाह्रौँ महाधिवेशन आइपुग्न १५ दिन बाँकी रहँदा कार्यवाहक सभापति सुशील कोइराला अत्यन्त व्यस्त हुनुहुन्छ । बिहानदेखि रातिसम्म मेचीदेखि महाकालीसम्मका कार्यकर्तासँग भेट गरिहनुभएको छ । महाधिवेशनमा सभापतिको उम्मेदवारसमेत रहनुभएका कोइराला आफ्नो जितमा निश्चिन्त हुनुहुन्छ । त्यागी र सङ्घर्षशील नेता कोइरालासँग पार्टीलाई अगाडि बढाउने प्रस्ट विचार पनि देखिन्छ । उहाँसँग घटना र विचारका लागि ऋषि धमलाले गर्नुभएको कुराकानी ः
० काङ्ग्रेसको बाह्रौँ महाधिवेशनको मुख्य एजेण्डा के हो –
– नेपाली काङ्ग्रेसको बाह्रौँ महाधिवेशन ऐतिहासिक एकताको महाधिवेशन हुनेछ । नयाँ विचार र मेलमिलापले पार्टीलाई एकताका साथ नयाँ ढङ्गले अघि बढाउनेछ । आर्थिक, सामाजिक र राजनीतिक रूपमा देशलाई नेतृत्व दिनेतर्फ महाधिवेशन केन्द्रित हुनेछ । शान्ति, समृद्धि, लोकतान्त्रिक संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नका लागि महाधिवेशन महत्त्वपूर्ण हुनेछ ।
० महाधिवेशनपछि काङ्ग्रेस कस्तो बन्ला –
– काङ्ग्रेस ऐतिहासिक पार्टी हो । यसले मुलुकमा तीनपटक क्रान्ति गर्‍यो । यो निरङ्कुश राजतन्त्रको अन्त्य र सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणापछिको पहिलो महाधिवेशन हो ।
यसले पार्टीलाई अनुशासित बनाउनेछ । लोकतान्त्रिक विचार, मूल्य र मान्यताका लागि नयाँ मार्ग पहिल्याउनेछ । जनतामा यसले काङ्ग्रेस विशाल पार्टी भएको सन्देश दिनेछ । अन्तर्राष्ट्रिय समुदायले पनि यसलाई चासोका साथ हेरिरहेको छ । काङ्ग्रेस लोकतान्त्रिक मूल्य र मान्यता आत्मसात् गर्ने सशक्त पार्टी बन्नेछ ।
० नेपाली काङ्ग्रेस बेलाबेलामा दिशाहीन हुने गरेको आरोप छ नि –
– यस्तो कुरा मलाई नसोध्नोस् । काङ्ग्रेस कहिल्यै पनि दिशाहीन छैन । यसले जे गरेको छ, लोकतन्त्र, नेपाली जनता र शान्तिका निम्ति गरेको छ । यस्तो भरपर्दो र लोकतान्त्रिक पार्टी नेपालमा अरू छँदै छैन । काङ्ग्रेसलाई दिशाहीन भन्नु यसलाई नबुझ्नु हो, यसको इतिहासको अवमूल्यन हो । हामी सबैलाई प्रजातान्त्रिक बाटोतर्फ डोहोर्‍याउन चाहन्छौँ ।
० माओवादीलाई चाहिँ काङ्ग्रेसले कसरी हेर्छ त –
– माओवादीलाई मेरो आग्रह छ- विगतमा भएका १२ बुँदे समझदारीदेखिको सहमति र सम्झौता कार्यान्वयन नहुँदाखेरि मुलुकमा यस्तो स्थिति आइपरेको छ । त्यसैले माओवादीले सत्ताकब्जाको रणनीतिलाई त्यागेर हतियारविहीन नागरिक पार्टीमा रूपान्तरण हुन आग्रह गर्न चाहन्छु । यदि पहिले गरेको सहमति र सहकार्य पूरा गर्ने हो भने मुलुकमा देखिएको राजनीतिक अन्योल हट्ने छ । अहिले जति पनि समस्या आएको छ, त्यो माओवादीकै कारण आएको हो । काङ्ग्रेस प्रस्ट छ, नीति र कार्यक्रममा पनि भनेका छौँ- माओवादी नागरिक पार्टीमा रूपान्तरण नभएसम्म उसको नेतृत्व काङ्ग्रेसका लागि कुनै पनि हालतमा स्वीकार्य हुँदैन ।
० माओवादीसँग काङ्ग्रेस मिल्ने कि भिड्ने त –
– काङ्ग्रेसले कहिल्यै पनि भिड्ने कुरा गरेको छैन । हामी सहकार्य र एकताका पक्षमा छौँ । माओवादीको सेना समायोजन र शान्तिप्रक्रिया निष्कर्षमा नपुगुञ्जेल काङ्ग्रेसको नेतृत्वमा सहमतिको सरकार बनाऊँ । अब माओवादीले काङ्ग्रेसको नेतृत्व स्वीकार्नुको विकल्प छैन ।
० भदौ २० गते माओवादीले चाहिँ प्रधानमन्त्री पाउन सक्ला –
– एमालेले तटस्थ बस्ने निर्णय सच्च्याउनुपर्छ । काङ्ग्रेसलाई मतदान गरेर मुलुकलाई नयाँ सरकार दिन अग्रसर हुुनुपर्छ । काङ्ग्रेसको नेतृत्वमा सरकार बनाउन एमालेले केन्द्रीय समितिको निर्णय सच्च्याउनैपर्छ । उसले काङ्ग्रेसलाई धोका दिन मिल्दैन ।
० काङ्ग्रेसले प्रधानमन्त्रीको उम्मेदवारी फिर्ता लिनुपर्छ भन्ने एमालेको आग्रह छ नि त –
– काङ्ग्रेस प्रधानमन्त्रीको उम्मेदवारी फिर्ता लिने पक्षमा छैन । लिँदा पनि लिँदैन । फिर्ता लिने भए प्रचण्डले लिए हुन्छ र काङ्ग्रेसलाई समर्थन गरे हुन्छ । काङ्ग्रेस मुलुकलाई शून्यतामा राख्न चाहँदैन ।
० काङ्ग्रेस महाधिवेशनमा तपार्इंं सभापतिमा लड्ने हो –
– मैले एक वर्षअगाडि नै सभापतिको उम्मेदवारी घोषणा गरेको हुँ । मैले सबै साथीलाई आफू उम्मेदवार हुनुपर्ने कारण बताइसकेको छु ।
० तपाईं र शेरबहादुर देउवाबीच चुनाव हुँदा काङ्ग्रेस विभाजन त हुँदैन –
– चुनावले त काङ्ग्रेसलाई झन् बलियो बनाउँछ । काङ्ग्रेस प्रतिस्पर्धात्मक राजनीतिमा विश्वास गर्ने पार्टी हो । काङ्ग्रेसमा विभाजनको कुरा म सुन्न पनि चाहन्न । कल्पना गर्दा पनि गरि्दनँ । अब कसैले चाहेर पनि काङ्ग्रेस विभाजित हुँदैन । हामी सबै साथी एक छौँ, एक भएर अघि बढाउँछौँ ।

महामन्त्रीका प्रत्याशीको आ-आफ्नैै दाबी, भीमबहादुरको उम्मेदवारी नै परिवर्तनको सन्देशः-नरहरि आचार्य
० तपाईंको उम्मेदवारी किन, केका लागि –
– मेरो उम्मेदवारीका केही कारण छन् । काङ्ग्रेस पार्टीलाई समय-परिवेशअनुरूप नयाँ ढङ्गमा परिवर्तन गर्नुपर्ने देखियो । ज्यादै कमजोर र अप्ठ्यारो अवस्थामा पुगेकोे छ यो । अहिलेको चुनौतीलाई झेल्दै परिवर्तनको दिशामा लैजान नै मुख्यतया मैले महामन्त्रीमा उम्मेदवारी दिएको हुँ ।
० तपाईंको मतलब नेपाली काङ्गे्रस अब यथावस्थामा रहन सक्दैन –
– हो, रहन पनि सक्दैन, रहन पनि हुँदैन । अहिलेको चुनौतीहरूलाई सम्बोधन गर्न सक्ने गरी परिवर्तनको दिशामा अग्रसर गराउन जरुरी छ ।
० यसलाई एकताको महाधिवेशन पनि भनिएको छ, महाधिवेशनपछि पनि यो पार्टीमा गुट र विभाजन कायम रहने सम्भावना कति देख्नुहुन्छ –
– हाम्रो उम्मेदवारीको एउटा महत्त्वपूर्ण पाटो के पनि हो भने प्रारम्भिक चुनावका चरणहरूमा व्यक्तिकेन्द्रित या गुटबन्दीका चरित्र या प्रवृत्ति जो देखियो, महाधिवेशनपछि यस्तो प्रवृत्ति नदेखियोस्, सदाका लागि अन्त्य होस्, भनेर पनि हामी अग्रसर हुनुपरेको हो । कुनै एक वा अर्को गुटमा सामेल हुनैपर्ने परिस्थितिलाई अन्त्य गरेर, स्वतन्त्र मत र विवेक प्रयोग हुन सक्ने अवस्था र अवसर निर्माण गरौँ भन्ने प्रयत्नस्वरूप पनि हाम्रो उम्मेदवारी हो ।
० सुशील र शेरबहादुरभन्दा के फरक देखेर भीमबहादुरजीको अगुवाइमा महामन्त्रीको उम्मेदवारी दिनुभयो तपाईंले –
– उहाँहरूले प्रशस्त अवसर पाएर पनि पार्टीलाई अगाडि बढाउन सक्नुभएन, झन्झन् कमजोर हुँदै आएको छ पार्टी । मुलुकलाई पनि उहाँहरूले कुनै दिशा दिन सक्नुभएन । यो परिस्थिति भए पनि उहाँहरू दुवैलाई म सम्मान नै गर्छर्ुुतथापि जुन अवस्थामा छ आज काङ्गे्रस, यो त उहाँहरूको भूमिकाकै कारण छ । यस्तोमा भीमबहादुर तामाङको नेतृत्वले त काङ्गे्रसको मात्र नभई समस्त राजनीतिक पार्टीको नेतृत्व छविलाई परिवर्तन र नयाँ दिशा दिने सन्देश दिएको छ- यस रूपमा बुझनुपर्छ उहाँको उम्मेदवारीलाई ।
० भनेपछि मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न या यसको विकास र स्थायित्वका सवालमा पनि भीमबहादुर तामाङले काङ्गे्रसको नेतृत्व सम्हाल्नु आवश्यक छ –
– हो, यो अत्यन्त महत्त्वपूर्ण छ र यसो हुनसके भविष्यमा उपरोक्त सवाल र्सार्थक ठहरिनेछ । एउटा वैचारिक दृष्टिले पनि अत्यन्त प्रस्ट र सबल हुनुहुन्छ उहाँ, निष्ठा र प्रतिबद्धताको पनि प्रतिमर्ूर्ति नै हुनुहुन्छ उहाँ । र, पार्टीलाई सफा र पारदर्शी बनाउन पनि उहाँको योगदान महत्त्वपूर्ण रहनेछ ।
० तपाईंहरूले जित्न सक्ने आधार पनि छन् –
– जित्न सक्ने र जित्नुपर्ने आधार भनेका त यिनै हुन् नि – हिजो उम्मेदवारी घोषणा गर्दा मानिसहरूले त्यति महत्त्व नदिएझैं गरेका थिए तर आज ४/५ दिनमै यो उम्मेदवारीको औचित्य प्रस्ट भइसकेको छ आज काङ्गे्रसी माझ । उहाँले विजय हासिल गर्ने सम्भावना अत्यन्त तीव्र बन्दै गएको छ ।
० अनि तपाईंको आफ्नै अवस्थाचाहिँ के छ नि ! पहिले सभापति लडिसकेको मान्छे महामन्त्रीमा उठ्नुभएको छ ।
– त्यसबेलाको परिस्थिति अर्कै थियो । व्यक्तिगत निर्णयको उपज थियो त्यो । एजेण्डालाई स्थापित गर्नका लागि उम्मेदवारी दिएको थिएँ त्यतिखेर । मेरा एजेण्डाहरू पारित भए तर त्यसको इमानदारीसाथ कार्यान्वयन हुँदै भएन । यसैका लागि सबै परिस्थिति हेरेर र साथीहरूको सुझाव लिएर नै मैले महामन्त्रीमा उम्मेदवारी दिएको हुँ । परिवर्तनकामी युवाहरूलाई नेतृत्वमा पुग्न सघाउने ध्येयका साथ हामी लागिपरेका छौँ ।
० अब काङ्ग्रेसमा वैचारिक द्वन्द्व सुरु भएको हो –
– अगाडिदेखि नै हुनुपर्ने हो । अहिले यसका लागि वातावरण बनेकै हो भन्ने ठान्नुपर्छ । – ऋषि धमला

यो एकताको महाधिवेशन हो ःअर्जुननरसिंह के.सी.
० नेपाली काङ्गे्रसको महाधिवेशनको सन्देश के हो – कसरी अगाडि बढ्छ अब काङ्गे्रस –
– यो एकताको महाधिवेशन हो, अनुशासनको अधिवेशन हो । सामाजिक न्याय र संस्थागत प्रक्रिया निर्माण गर्ने तथा समग्र रूपमा लोकतान्त्रिक अभियानलाई सशक्त तुल्याउने र समावेशी एवम् युवा सहभागिता आन्दोलनको अधिवेशन हो यो ।
० यो महाधिवेशनले काङ्गे्रसमा विभाजनको बिउ रोप्छ कि भनिन्छ नि –
– यत्रो ठूलो महाधिवेशनको प्रक्रियामा मान्छेहरूले आ-आफ्नो धारणा आउनु स्वाभाविक हो । निर्वाचनमा स्वस्थ प्रतिद्वन्द्विता दर्शाउनु पनि अस्वाभाविक होइन, राम्रै कुरा हो । सैद्धान्तिक विचारका प्रतिस्पर्धाहरू त लोकतन्त्रको सौर्न्दर्य नै हो । यसले नेपाली काङ्गे्रसलाई कुनै घाटा पुर्‍याउँदैन । यस कुरालाई अनर्थ र अनौठो रूपमा लिनुपर्दैन र विभाजनको बिउ रोपिने भन्ने कुरा तथ्यमा आधारित पनि होइन ।
० उम्मेदवार त धेरै हुने भए नि, यो राम्रो कुरा हो र –
– काङ्गे्रस पार्टी यति धेरै नेतृत्व र सशक्त क्षमता भएका व्यक्तिहरूको पार्टी हो कि यस्तोमा आ-आफ्ना हिसाबबाट साथीहरूले नेतृत्वमा दाबी गर्न लाग्नुभएको छ भने यो कुरालाई अनुचित रूपमा हेरिरहनु आवश्यक छैन । महाधिवेशनले जे फैसला गर्छ त्यो सबैले स्वीकार गर्नुपर्छ ।
० तपाईं सभापतिमा कसलाई समर्थन गर्नुहुन्छ, तीनमध्ये –
– प्रक्रिया अगाडि बढ्दै छ, हामी त्यसमा सोच्दै छौँ ।
० होइन तपाईं त सुशील कोइरालाको पक्षमा हुनुहुन्छ होइन र –
– त्यो त पक्कै हो, तर कस्तो खालको परिस्थिति आउँछ – कसरी संयोजन गर्ने – भोलि सबैले मिलेर अगाडि बढ्ने अवस्था बन्नुपर्छ । यो सबैका आधारमा कुनै पनि निर्णय गर्नुपर्छ ।
० जे भए पनि भोट त तपाईं सुशील कोइरालालाई हाल्नुहुन्छ नि !
-भोटको कुरा भोट हाल्ने बेलामै हुन्छ नि !
० महामन्त्रीमा उम्मेदवारी दिँदै हुनुहुन्छ नि, होइन –
– हो, यो त । तर, आधिकारिक निर्णय गर्नुअघि म साथीहरूसँग सल्लाह, छलफल गरिरहेछु ।
० महामन्त्रीमा तपाईंको उम्मेदवारी किन नि –
– पार्टीलाई नीतिमुखी बनाउनका निम्ति, संस्थागत तुल्याउनका निम्ति, सामाजिक रूपान्तरणा युवा सहभागितालाई सशक्ततापूर्वक अघि बढाउनका निम्ति, आदिवासी, दलित, जनजाति, मधेसदेखि राष्ट्रका सबै क्षेत्रमा त्यो ऊर्जालाई नीतिमुखी तुल्याएर पार्टीलाई सामूहिक नेतृत्वको पद्धतिबाट अघि बढाउनका लागि म दृढताका साथ आफ्नो अनुभव र ऊर्जा खर्च गर्नेछु ।
० माओवादीको अधिनायकवादी सोच-शैलीका अगाडि काङ्गे्रसको दृष्टिकोण र रणनीति कस्तो हुन्छ नि –
– काङ्गे्रस धेरै वर्षदेखि लोकतान्त्रिक मूल्य र मान्यताका निम्ति सङ्घर्ष गर्दै आएको पार्टी हो । १०४ वर्षे राणाशासनको दासताविरुद्ध मात्र होइन, जुन-जुन कालखण्डमा नेपाली जनताको सार्वभौम अधिकार खोसियो त्यस्तो अवस्थामा सङ्घर्ष मात्र होइन नेतृत्व नै गरेर आएको पार्टी हो नेपाली काङ्गे्रस । कसैको पनि सर्वसत्तावाद या अधिनायकवादी सोच छ भने आजको युगमा दिवास्वप्न मात्र सावित हुनेछ त्यो ।

म देउवा समर्थक हुँ-विमलेन्द्र निधि
० नेपाली काङ्गे्रसको महाधिवेशनको सन्देश के हो –
– परिवर्तनका लागि देशलाई नेपाली काङ्गे्रसको नेतृत्वको आवश्यकता बोध गराउने, सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई स्थापना गर्ने, दलभित्र र दलबाहिर लोकतान्त्रिक शक्तिलाई एक पार्न पहल गर्ने, यही नै हो मोटामोटी सन्देश ।
० पार्टी नेतृत्वमा पुग्नका लागि उम्मेदवारको बाढी नै आउने देखियो नि यसपटक, यसले एकता ल्याउँछ कि विग्रह –
निर्वाचन प्रणाली भनेको लोकतन्त्रको स्तम्भ हो । निर्वाचनको अभ्यासले लोकतन्त्रलाई सुदृढ पार्छ । यसबाट अनेकता कसरी आउँछ –
० चुनाव हुनैपर्छ र – सर्वसम्मत हुन सक्दैनथ्यो –
– सर्वसम्मतिबाट भयो भने अति राम्रो, निर्वाचनबाट भए पनि राम्रो । निर्वाचन प्रक्रियालाई मर्यादित तवरले स्थापित गर्न लाग्नुपर्छ ।
० महामन्त्रीमा तपाईंको उम्मेदवारी किन –
– त्यो कुरा औपचारिक रूपले उम्मेदवारी घोषणा गर्ने बेलामै भनौँला ।
० महामन्त्रीमा तपाईं नलड्ने हो र –
– यो कुरा साथीहरूसँग सल्लाह गरेर सार्वजनिक गरौंला ।
० तपाईंको समर्थन सुशीललाई कि शेरबहादुरलाई –
– शेरबहादुरजीलाई ।
० शेरबहादुर देउवा नै किन सभापति बन्नुपर्छ –
-सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा आधारित संविधान निर्माणका लागि, शान्तिप्रक्रियालाई पूर्णता दिनका लागि र नेपाली काङ्गे्रसलाई एकताबद्ध र सक्षम बनाउनका लागि ।

कोइराला परिवारमा मतभेद छ भन्नु भ्रम मात्र हो -सुजाता कोइराला
० नेपाली काङ्ग्रेसको बाह्रौं महाधिवेशनको सन्देश के हो –
-सहमित र एकताबाट अघि बढ्ने र मुलुकको परिवर्तिन परिवेश सुहाउँदो नेतृत्व दिन अग्रसर हुने नै बाह्रौं महाधिवेशनको मूल सन्देश हुनेछ ।
०अधिवेशनपछि एकता होला कि भन्ने विग्रह आउला पार्टीमा –
– एकताको अवस्था मजबुत बन्नेछ । विग्रह मेटाउनु नै यो अधिवेशनको एउटा मूल ध्येय पनि हो ।
० पूर्णरूपले एकता बन्ला त –
– पर्फेक्ट भन्ने त कहीँ-केहीमा पनि हुँदैन, यो शाश्वत नियम हो । तर, पहिलेको जस्तो कचिङ्गलचाहिँ अब रहँदैन । अनावश्यक विवादको अवस्थाबाट अब काङ्गे्रसले मुक्ति पाउँछ । अब काङ्गे्रसमा अनेकताको परिवेश रहनु भनेको लोकतन्त्रको भविष्यमाथि कालोबादल मडारिनु नै हो । तर्सथ, एकढिक्का भएर हामी अगाडि बढ्नुपर्छ ।
० तपाईंको उम्मेदवारी किन महामन्त्रीमा –
– पार्टीभित्रै परिवर्तन र लोकतान्त्रिक मूल्य-मान्यता स्थापित गर्न र मुलुकलाई पनि विश्वको बदलिँदो परिवेशअनुरूप अघि बढाउन मैले महामन्त्रीमा उम्मेदवारी दिनुपरेको हो । एउटा महिलाले त्यो तहको जिम्मेवारी लिनु आवश्यक पनि छ, यसले सिङ्गो महिला जगत्लाई गौरवान्वित पनि तुल्याउनेछ । काङ्गे्रस पार्टीलाई चुस्त-दुरुस्त तुल्याउनका साथै विभिन्न पोलिसीहरू पनि बनाउनु आवश्यक देखिएको छ, त्यो म महामन्त्री भएपछि हुनेछ ।
० भनेपछि काङ्गे्रस अब एउटा ठोस विचार र आवश्यक रणनीतिका साथ अघि बढ्छ –
– यति मात्र होइन लोकतन्त्रलाई सुदृढ तुल्याउँदै, युवा पुस्तालाई अग्रस्थानमा राखेर अघि बढ्छ अब काङ्गे्रस । एउटा ‘मोडल’ पार्टीका रूपमा स्थापित गर्नुपर्छ काङ्गे्रसलाई अब ।
० तपाईं विजयी हुने कत्तिको सम्भावना देखिरहनुभएको छ –
– म पूरै विश्वस्त छु । बीस वर्ष भयो मैले पार्टीमा पसिना बगाएको । एउटा महिला भएर पनि आन्दोलनको समयमा देश-विदेशमा म जति खटेँ, त्यसको पनि मूल्याङ्कन हुने बेला आएको छ ।
० सभापतिमा तीनमध्ये कुन उम्मेदवारलाई सघाउनुहुन्छ –
– मैले माथि भनेअनुसार पार्टीलाई अगाडि लैजान कुन उम्मेदवार बढ्ता सहृदयी देखिनुहुन्छ, उहाँलाई मेरो सहयोग रहनेछ । म छलफल गर्दै छु, हेर्दै छु । मलाई कसले सघाउँछन् उसलाई सघाउनु पनि मेरो कर्तव्य हुनेछ ।
० यो चुनावमा कोइराला परिवारमा एकता देखिएला कि के होला –
सदा हामी एक हौँ र पार्टीको जीवन र शक्तिप्रति गम्भीर पनि छौँ । अहिलेको परिस्थितिमा त झन् मिलेर अघि बढ्नुको विकल्प नै छैन । हामीबीच अनेकता छ भन्ने ठान्नु एउटा भ्रम मात्र हो ।