महिला सम्पादकको खडेरी : क्षमता र अवसर दुवै जरुरी

महिला सम्पादकको खडेरी : क्षमता र अवसर दुवै जरुरी


– निर्जला कक्षपति

सम्पादक महिलाहरूको अवस्थाका बारे केही दिन पहिले प्रेस काउन्सिल नेपालले आयोजना गरेको एक कार्यक्रममा सहभागी हुने मौका मिल्यो । कार्यक्रममा सहभागी हुन निम्तो आएपछि सम्पादक महिला को–को छन् भनेर सम्झन थालेँ । ठूला प्रकाशन गृहमा कहिँकतै छैनन्, रेडियो र टेलिभिजनमा छन् कि भनेर दिमाग घुमाउन थालेँ । खै कतै भेटिनँ मैले । कार्यालयमा सँगै काम गर्ने एकजना बहिनीलाई पनि बोलाइएको रहेछ । ‘दिदी, जाउँ न हुन्न ?’ भनेपछि मैले भनेँ, ‘म सम्पादक त होइन ।’ उनले थपिन्– ‘तपाईं स्टेसनको इन्चार्ज त हो नि ।’ उनले त्यति भनेपछि सहमति जनाउँदै हामी दुबै कार्यक्रम स्थलतर्फ लाग्यौँ ।

मलाई महिला सम्पादक हेर्ने रहर थियो । ८–१० जना लस्करै बसेका थियौँ । सबैले आ–आफ्नो परिचय दिए । मेनस्ट्रीम मिडिया र नाम चलेका मिडियामा कोही पनि महिला सम्पादक छैनन् भन्ने प्रष्ट थियो । कोही आफ्नै लगानीमा खोलिएका अनलाइनका महिला सम्पादक थिए त कोही म्यागेजिनका । सबैले कार्यक्रममा आ–आफ्ना दुखेसो पोखे । कसैले विवाहमा आफ्नो बाबु–आमाले दिएको गरगहना बेचेर पत्रिकामा लगानी गरेको बताए त कसैले चाडबाडमा चेलीबेटीलाई दिइने गरेको दक्षिणा जम्मा पारेर आफ्नै लगानीमा अनलाइन खोलेको कुरा सुनाए । याी अभिव्यक्तिहरू सुन्दा महिलामा आफ्नै रुपैयाँ खर्चेर भए पनि मिडियामा काम गर्ने इच्छाशक्ति त रहेछ नि भन्ने लाग्यो ।

राजधानीबाट प्रकाशित हुने कुनै पनि ठूला सञ्चारगृहमा महिला सम्पादक छैनन् । यसैगरी नाम चलेका अनलाइनमा पनि महिला सम्पादक छैनन् । त्यति मात्र नभई ठूला सञ्चारगृहबाट निस्कने महिलासम्बन्धी पत्रिकामा पनि महिला सम्पादक हुन सकेका छैनन् । ठूला र नाम चलेका सञ्चारगृहले किन बनाउँदैनन् महिलालाई सम्पादक ? के क्षमता नै नभएर हो त ? अथवा योग्यता नै छैन महिलासँग ? के कुराले अवरोध पुर्याएको छ त महिलालाई सम्पादक बनाउन ?

कुनै पनि सञ्चारमाध्यमको सम्पादक हुनु भनेको प्रतिष्ठाको विषय हो । सम्पादक हुने व्यक्तिले पत्रकारिताको एउटा लामो इतिहास बोकेको हुन्छ । सञ्चार माध्यममा काम गर्दा–गर्दा प्राप्त गरेको अनुभवलाई उसको बौद्धिक सम्पत्तिको रुपमा लिन सकिन्छ । त्यसैले सञ्चारगृहको प्रतिष्ठासँग जोडिन्छ यो पद । सम्पादक हुनलाई योग्यता, क्षमता अनुभव तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति तथा मानिसले यो मान्छे काम गर्न सक्ने खालको हो है भनि पत्याउने खालको पनि हुनुपर्छ । काम गर्न नसक्ने र जिम्मेवारी बोध गर्न नसक्नेलाई यो पद दिनुको कुनै अर्थ नै रहँदैन ।

महिलाहरूलाई आरोप लाग्ने गर्छ, महिलाले यो पेशालाई निरन्तरता दिँदैनन् भनेर । २–४ वर्ष यसो पत्रकारिता गर्यो अनि हरायो ! प्रायःजसो विहे गरेपछि महिला हराउँछन् भन्ने आरोप छ । कतिपय महिलाले विवाह गरेपछि यो पेशालाई निरन्तरता दिन सकेका छैनन्, तर यो कुरा सतप्रतिसत मान्न सकिने अवस्था भने छैन । बरु एउटा कुरा हो के भने महिलाले बच्चा पाएपछि मिडिया हाउसले नै त्यो महिलालाई कसरी हटाउने भन्ने रणनीति बनाउँछ ।

प्रजातन्त्र पूनस्र्थापनापश्चात अति नै फड्को मारेको अर्थात् विकास भएको क्षेत्र सञ्चार हो । सञ्चार क्षेत्रमा निकै नै ठूलो परिवर्तन भएको छ । महिला पत्रकारको संख्या झण्डै २५ सय पुग्न लाग्दा सम्पादकको संख्यामा वृद्धि हुन सकेको खै ? प्रजातन्त्र पुनस्र्थापना भएको २५–३० वर्ष हुन लाग्दा पनि महिला सम्पादक किन उत्पादन हुन सकेनन् ? यो निकै नै संवेदनशील प्रश्न हो । पत्रकार महासङ्घको तथ्यांकअनुसार २०७४ सम्म पत्रकारको संख्या १२ हजार ७ सय ८४ रहेको छ त्यसमध्ये पत्रकार महिलाको संख्या २ हजार २ सय ४७ रहेको तथ्यांक छ । त्यसैले अब महिला स्वयम्ले सम्पादक कसरी बन्ने भन्नेबारे सोच्नुपर्ने बेला भइसकेको छ ।

प्रजातन्त्र पुनस्र्थापनापछि पत्रकारको संख्यामा मात्र वृद्धि भएको छैन हरेक वर्ष पत्रपत्रिकाको संख्यामा पनि वृद्धि भएको छ । प्रेस काउन्सिल नेपालको वार्षिक प्रतिवेदन ०७०-७१ मा उल्लेख भएअनुसार सबैभन्दा धेरै पत्रिका छापिने पहिलो जिल्ला काठमाडौं हो । यसैगरी पर्सा दोस्रो जिल्ला हो । सूचना विभागको पछिल्लो प्रतिवेदन अनुसार अहिले दैनिक पत्रिका ६ सय २१ पुगेका छन् । मुलुकभर ६ सय १० रेडियोले लाइसेन्स लिएका छन् । स्टाटस च्यालेन्ज अफ कम्युनिटी रेडियोज्का अनुसार अहिले ७५ मध्ये ७४ जिल्लामा कम्युनिटी रेडियो सञ्चालनमा छन् । ८१ वटा टेलिभिजनले लाइसेन्स लिएका छन् ।

यसैगरी प्रेस काउन्सिलको पछिल्लो तथ्यांकअनुसार १ सय १६ वटा अनलाइन काउन्सिलमा सुचिकृत भएका छन् । यद्यपि सुचिकृत नभई चलिरहेका अनलाइनको संख्या ७ हजार भन्दा बढी रहेको अनुमान गर्न सकिन्छ । यति धेरै पत्रपत्रिका, रेडियो टेलिभिजन र अनलाइन मिडियामा महिला सम्पादक खै त ? आफ्नै लगानीमा मात्र महिला सम्पादक बन्न सक्ने त ?

महिलाहरूलाई आरोप लाग्ने गर्छ, महिलाले यो पेशालाई निरन्तरता दिँदैनन् भनेर । २–४ वर्ष यसो पत्रकारिता गर्यो अनि हरायो ! प्रायःजसो विहे गरेपछि महिला हराउँछन् भन्ने आरोप छ । कतिपय महिलाले विवाह गरेपछि यो पेशालाई निरन्तरता दिन सकेका छैनन्, तर यो कुरा सतप्रतिसत मान्न सकिने अवस्था भने छैन । बरु एउटा कुरा हो के भने महिलाले बच्चा पाएपछि मिडिया हाउसले नै त्यो महिलालाई कसरी हटाउने भन्ने रणनीति बनाउँछ । बच्चालाई समय दिनुपर्ने भएकोले भरसक राख्न नपरे हुन्थ्यो जस्तो गर्नु यथार्थ हो । यही कारण कतिपय महिलाले काम छोडेको अवस्था पनि हो, तर सबै महिलामा यो कुरा लागू हुँदैन । सुत्केरी भएको ४५ दिनपछि नै कार्यालयमा गएर काम गर्ने महिला पनि छन् । काम गरेको वर्षौं हुँदा पनि उनीहरूको पदोन्नतति हुन नसकेको अवस्था छ । पारिश्रमिकमा व्यापक विभेद छ । यस्तो अवस्थामा महिलाहरूले आफ्नो पेशालाई कसरी निरन्तरता दिन सक्लान् ? अनि कसरी सम्पादक बन्न सक्लान् र ?

सम्पादक हुनलाई महिलाहरूले आफ्नो योग्यता क्षमता र सिपमा विकास गर्नु जरुरी छ । हरेक विषयवस्तुमा अपडेट हुनु अत्यन्त जरुरी छ । राजनीतिक, सामाजिक आर्थिक लगायतका विविध विषयमा ज्ञान हुनु अति नै जरुरी छ । यसबाहेक सम्पादन गर्न सक्ने कला जान्नु पनि अति नै आवश्यक छ । मिहेनत गर्ने बानी, हरेक काम तोकिएको डेटलाइन भित्र गर्न सक्नु पनि एउटा खुबी नै हो । धेरैजसो महिलाहरू राजनीतिमा चासो राख्दैनन् र मिडिया हाउसले पनि महिला भएकै कारण महिलाको बीट हेर्ने जिम्मेवारी तोक्छ । राजनीति नैे नबुझेका व्यक्तिलाई कुन चाहिँ मिडिया हाउसले सम्पादक बनाउला र ? त्यसैले महिला, सम्पादकको पदसम्म पुग्न एकजना व्यक्तिको मिहेनत र प्रयासले मात्र सम्भव पनि छैन र देखिँदैन पनि । शुरुमा काम सिकाउँदादेखि नै महिलालाई राजनीति, अर्थ, व्यापार, अपराधलगायतका महत्वपूर्ण विटमा जिम्मेवारी दिनु आवश्यक छ । र, पुरुषहरुले पनि महिलाको नेतृत्वमा काम गर्न सक्ने मानसिकताको विकास गराउनु अति नै आवश्यक छ । त्यति मात्र नभई महिलाले महत्वपूर्ण पदमा बसेर जिम्मेवारी निर्वाह गर्न सक्दैनन् भन्ने भ्रम चिर्न महिला स्वयम्ले आफ्नो योग्यता र क्षमतामा विकास गर्नु आवश्यक त छ नै । साथै महिलालाई सम्पादक बन्न अवसर पनि दिनु आवश्यक छ ।
[email protected]