यतिले पनि भित्र्यायो एटिआर विमान

यतिले पनि भित्र्यायो एटिआर विमान


निजी वायुसेवा कम्पनी यति एयरलाइन्सले पहिलोपटक एटिआर ७२–५०० विमान भित्र्याएको छ । कल साइन ९–एएमएन रहेको ७२ सिटे विमान सिंगापुरबाट थाइल्याण्ड र थाइल्याण्डको च्याङमाई हुँदै शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको थियो ।

फ्रान्सको विमान निर्माता कम्पनी एटिआरमा निर्मित उक्त विमान एक अर्बको लगानीमा खरिद गरेको कम्पनीले जनाएको छ । बताइएअनुसार सो विमान सिंगापुरको कम्पनी नर्डिक एभिएसन क्यापिटलसँग खरिद गरिएको हो ।

यति एयरलाइन्सका व्यवस्थापक भीमराज राईका अनुसार यो विमानले आगामी सातादेखि विराटनगर, भैरहवा, नेपालगञ्ज र भद्रपुर उडान थाल्ने छ । हाल बेलायतमा निर्मित ३० सिट क्षमताको जेटस्ट्रिम–४१ सिरिजका ६ थान जहाज सञ्चालन गरिरहेको यतिसँग अब सातवटा विमान भएको छ ।

यसैबीच यतिले यसै वर्षभित्र थप दुई एटिआर विमान ल्याउने जनाएको छ । अहिले खरिद गरेको कम्पनीबाटै थप दुई विमान ल्याउने तयारी भएको र एक महिनापछि नै अर्को विमान आउने बताइएको छ । ज्ञातव्य छ भौतिक पूर्वाधार साँघुरो रहेको नेपालको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सेवामा एटिआर विमानले सहजता हुने सम्बद्ध विज्ञहरु बताउँछन् ।