‘रहश्यमयी’ संशोधन प्रस्ताव र थ्रेस होल्ड दुवै अस्वीकार्य

‘रहश्यमयी’ संशोधन प्रस्ताव र थ्रेस होल्ड दुवै अस्वीकार्य


राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले मुलुकको राष्ट्रियतामा कालो बादल मडारिएको बताउँदै संविधान संशोधन प्रस्तावको पछाडि अनेक रहस्य रहेको जिकीर गरेका छन् । मुलुकको राष्ट्रियतालाई कमजोर बनाउने गरी आएको संविधान संशोधन प्रस्ताव कुनै पनि हालतमा स्वीकार्य नभएको केसीले बताए ।

प्रगतिशील पत्रकार संघ रुपन्देहीले बुटवलमा शनिबार आयोजना गरेको भेटघाट कार्यक्रममा सङ्घीयताविरोधि पहिचान बनाएका नेता केसीले जनसंख्याको आधारमा मात्रै संविधान संशोधन गरेर समस्या समाधान नहुने उल्लेख गर्दै संशोधनको प्रस्ताव रहश्यमयी भएको ठोकुवा गरे । सबैलाई मान्य हुने संविधान बनाउने नाममा ‘छिमेकी’लाई मान्य हुने संविधान बनाउनका लागि यस्तो प्रस्ताव आएको केसीको आरोप थियो ।

केसीले संघीयतालाई आर्थिक हिसाबले पार लगाउन धेरै गाह्रो भएको र अहिले स्थानीय तहमा दिएको अधिकार दिनलाई संघीयता आवश्यक नपर्ने भनाई समेत ब्यक्त गरे ।

स्थानीय तहमा दिएको अधिकार दिनलाई संघीयता आवश्यक थिएन, यो अधिकार त यसै पनि दिन सकिन्थ्यो ।’ साना दललाई संसदको ढोकाबाटै फर्काउने र ठूला तीन दलले सत्तामा रजाई गर्नका लागि थ्रेस होल्डको व्यबस्था ल्याइएको भन्दै थ्रेस होल्ड पनि आफ्नो दललाई मान्य नभएको उनले बताए । भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा जनमतलाई पैसाले प्रभाव पारिएकाले आफ्नो पार्टीको अपेक्षाकृत परिणाम नआएको केसीको तर्क थियो ।
– चन्द्रकान्त खनाल