अचेत अवस्थाका नेता बाँस्तोला भेट्न प्रधानमन्त्री न्यूरो अस्पतालमा

अचेत अवस्थाका नेता बाँस्तोला भेट्न प्रधानमन्त्री न्यूरो अस्पतालमा


गत विहिबारदेखि बाँसबारीस्थित न्यूरो अस्पतालमा उपचारका लागि भर्ना गरिएका नेपाली कांग्रेसका नेता चक्रप्रसाद बाँस्तोलाको स्वास्थ्य अवस्था बुझ्न कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा शनिबार साँझ बाँसबारीस्थित न्यूरो अस्पताल पुगेका छन् । छातीमा समस्या देखिएपछि परिवारजनले उपचारको लागि बाँस्तोलालाई बाँसबारीस्थित न्यूरो अस्पतालमा भर्ना गरेका थिए ।

अस्पतालमा बिरामी भेट्ने क्रममा प्रधानमन्त्रीले बाँस्तोलाको अवस्थाबारे परिवारका सदस्यसँग जानकारी लिनुका साथै उनको उपचारमा सरकारको तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गरे । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री डा. शशाङ्क कोइरालालगायत नेताहरुले पनि शनिबार नै न्युरो अस्पताल पुगी स्वास्थ्य अवस्था बुझेका थिए ।

उपचारमा संलग्न चिकित्सक न्यूरो सर्जन डा. प्रत्यूष श्रेष्ठले बाँस्तोलालाई अस्पताल आएको दुई दिनपछि स्वास्थ्यमा गम्भीर समस्या देखिएकाले सघन कक्षमा भेन्टिलेटरमा राखी उपचार गरिएको जानकारी दिएका छन् । शनिबार उनको छातीको एक्सरे, रगतमा अक्सिजन, कार्वनडाइक्साइडको मात्रा राम्रो देखिएको भन्दै अझै केही दिन उनलाई सघन कक्षमा नै राखी निगरानी गर्नुपर्ने अस्पतालले जनाएको छ ।

स्मरण रहोस्, २०६९ साल पुस १४ गते विराटनगरमा भएको एक कार्यक्रममा सहभागी भइरहँदा मस्तिष्काघात भएपछि नेता बाँस्तोला अहिलेसम्म अचेत अवस्थामा छन् । उनलाई सबै खाना पाइपबाटै खुवाउनुपर्छ । सबै खालका खाना तरल बनाएर मात्र खुवाउने गरिएको छ । अहिलेकै अवस्थामा सुधार आइरहेमा सघन कक्षबाट वार्डमा राखी उपचार गर्न सकिने भएपनि प्रत्येक दिन चुनौतीपूर्ण भएकाले अहिले नै केही भन्न हतार हुने बाँस्तोलाको उपचारमा संलग्न चिकित्सकहरुले जनाएका छन् ।