हकप्रद शेयर निष्कासनका लागि आवेदनको लहर

हकप्रद शेयर निष्कासनका लागि आवेदनको लहर


पूँजी बजारमा १३ करोड ५७ लाख ५१ हजार १०१ कित्ता शेयर प्रवेश गर्ने गरी विभिन्न १९ कम्पनीले हकप्रद शेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् । ती सबै कम्पनीले तोकिएको समयमा नै हकप्रद शेयर जारी गर्न सके उल्लेखित संख्यामा पूँजीबजारमा शेयर कित्ता प्रवेश गर्ने र ती शेयरको मूल्य १३ अर्ब ५७ करोड ५१ लाख १० हजार १ सय १८ बराबरको हुने बोर्डले जनाएको छ ।

बोर्डका अनुसार हकप्रद शेयर निष्कासनका लागि आवेदन दिनेमा नौ वटा विकास बैंक रहेका छन् भने प्रभु बैंकले १० बराबर चारका दरले दुई अर्ब ३५ करोड २५ लाख ६० हजार ८०० बराबरको हकप्रद शेयर निष्कासनका लागि बोर्डमा आवेदन दिएको छ ।

यस्तै, यस्तै अपि पावर कम्पनीले २१ करोड कित्ता हकप्रद शेयर जारी गर्ने लक्ष्यका साथ बोर्डमा निवेदन दिएको छ । बोर्डमा निवेदन दिनेमा चारवटा फाइनान्स कम्पनी र एक बीमा कम्पनी रहेको बताइएको छ । क’ वर्गकै बैंक सिभिलले पनि १० बराबर चारका दरले दुई अर्ब सात करोड ४० लाख ८८ हजार ६७५ बराबरको हकप्रद शेयर जारी गर्न आवेदन दिएको छ ।

बोर्डका अनुसार बैंक तथा वित्तीय क्षेत्र र जलविद्युत् गरी १८ कम्पनीले साधारण शेयर र थप शेयर निष्कासनका लागि बोर्डमा निवेदन दिएका हुन् । शेयर निष्कासन गर्न लागेका १८ मध्ये ११ जलविद्युत् कम्पनी छन् ।

यसरी जलविद्युत आयोजनाहरु शेयर निष्काशन गर्न तँछाडमछाड गरिरहेको परिवेशबीच बैंक अफ काठमाण्डु लुम्बिनी लिमिटेडले पूँजी बढाउन संस्थापक एफपिओ निष्कासन गर्ने जनाएको छ । सो बैंकले ६१ लाख ५८ हजार कित्ता एफपिओ निष्कासन गर्न बोर्डमा निवेदन दिएको हो । यस्तै, एनएमबी बैंकले चुक्ता पूँजी बढाउन एक करोड १४ लाख १५ हजार १६३ कित्ता एफपिओ निष्कासनका लागि यसअघि नै आवेदन दिएको छ । सो बंकले चुक्तापूँजी आठ अर्ब बढाउन एफपिओ निष्कासन गर्न लागेको हो ।

यसैगरी मेघा बैंक लिमिटेडले १० बराबर छ अनुपातमा दुई अर्ब ९७ करोड ८५ लाख तीन हजार ४६३ को हकप्रद शेयर जारी गर्न आवेदन दिएको छ भने सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले तीन करोड बराबरको साधारण शेयर निष्कासनका लागि बोर्डमा निवेदन दिएको छ । नेपाल ग्रामीण विकास बैंकले पनि पूँजी बढाउने दौडमा रहेको छ । सो बैंकले नौ लाख ७५ हजार कित्ता एफपिओ निष्कासन गर्न लागेको छ । उता प्रिमियर इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले छ लाख ५९ हजार ५६५ कित्ता एफपिओका लागि आवेदन दिएको छ ।