प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको पक्षमा माओवादी केन्द्र

प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको पक्षमा माओवादी केन्द्र


नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालयको विस्तारित बैठक शनिबार सम्पन्न भएको छ । हालै सम्पन्न र हुन बाँकी निर्वाचनमा अन्तरघात गर्नेलाई कारबाही गर्ने निर्णय बैठक टुंग्याइएको माओवादी केन्द्रका एक नेताले बताए । खासगरी स्थानीय तहको निर्वाचनमा पार्टीको नीति र सिद्धान्त विपरित गएर चुनावमा अन्तरघात गर्ने जुनसुकै तहका नेता तथा कार्यकर्तालाई कडा कारबाही गर्ने नीति अख्तियार गर्ने निर्णय बैठकले गरेको बताइउको छ ।

विस्तारित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अप्ठ्यारो समयमा ‘बागी उम्मेदवार बन्ने, अन्तरघात गर्ने र विपक्षी पार्टीको पैसा लिएर पार्टीमाथि घात गर्नेलाई कारबाही हुने बताए । कडा रुपमा प्रस्तुत भएका प्रचण्डले अब कसैलाई छुट दिन नसकिने बताएका थिए । निर्वाचन सम्पन्न भएका ६ वटै प्रदेशमा तीन÷तीन सदस्यीय कार्यदल बनाएर उनीहरुमाथि छानबिन गरिने र दोषी पाइए कारबाही हुने उनको भनाई थियो ।

बैठकमा प्रचण्डले मुलुकका विभिन्न स्थानबाट अन्तरघात, पार्टी नीतिविरुद्धको गतिविधि भएको उजुरी आएको प्रस्ट्याउँदै अब सत्य तथ्य छानबिन गरी कारवाही गरिने दाबी गरे भने स्थानीय तहको निर्वाचन हुन बाँकी रहेको प्रदेश नं २ को निर्वाचन परिचालनलाई व्यवस्थित बनाउन माओवादी केन्द्रले यही साउन १० गते भेला आयोजना गर्ने निर्णय पनि गरेको छ । कुल १२७ स्थानका लागि हुने सो प्रदेशमा कम्तीमा पनि ५० भन्दा बढी स्थानमा विजयी हुनैपर्ने निष्कर्षका साथ भेला आयोजना गर्न लागिएको माओवादी केन्द्रको दाबी छ । उक्त भेलामा प्रदेश नं २ का जिल्ला तहसम्मका माओवादी नेता तथा कार्यकर्ता सहभागी हुनेछन् ।

स्थानीय तहको निर्वाचनमा पार्टीको तर्फबाट विजयी भएकालाई अन्य पार्टीको भन्दा फरक कार्यशैलीका साथ काम गर्नसक्ने बनाउने तथा माओवादी केन्द्रको योजना, कार्यक्रम, नीति कस्तो हो भन्ने बुझाउनका लागि भेला जरुरी रहेको विस्तारित बैठकमा कुरा उठेपछि भेला आयोजना गरिएको सो पार्टीले जनाएको छ । त्यस्तो भेला यही साउन २० देखि २२ गतेसम्म पार्टीका तर्फबाट आयोजना गरिने छ । भेलाको स्थान भने तय भइसकेको छैन ।

शनिबारको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले पार्टीका सबै नेता तथा कार्यकर्तालाई जनताको घरघर, बस्तीबस्तीमा गएर सङ्गठन बनाउन, पार्टीको एजेण्डा लागू गर्न, गल्ती भएको भए माफी माग्न समेत निर्देशन दिएका छन् । उनले नेकपा एमालेले राज्यका तर्फबाट वृद्धवृद्धालाई वितरण गरिएको सामाजिक सुरक्षा भत्ता मात्रै बिक्री गरेको भन्दै माअ‍ोवादी नेतृत्वको सरकारले गरेका काम अब घरदैलोसम्म पु¥याउन आफ्नो पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका हुन् ।

सो क्रममा प्रचण्डले संसदीय प्रणालीका कारण सरकार बन्ने र ढल्ने अवस्था आएको तथा जनतामा समेत निराशा फैलिएको भन्दै अब कार्यकारी प्रमुख जनताको मतबाट निर्वाचित हुने प्रणालीलाई अङ्गीकार गर्ने नीति लिएर जनतामा जाने बताएका थिए । प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखका लागि माहोल बनाउनुपर्ने र त्यसका लागि अन्य पार्टीसँग पनि छलफल गर्ने र संविधान संसोधनको वातावरण बनाउने प्रचण्डको धारणा रहेको छ ।