बीपी–स्मृति र काङ्ग्रेसको हाल

बीपी–स्मृति र काङ्ग्रेसको हाल


– चित्र केसी

नेपाली काङ्ग्रेसले हरेक वर्षको साउन ६ गतेलाई बीपी स्मृति दिवस भनेर मनाउने गर्दछ । महामानव बीपीले आजभन्दा ३५ वर्षअघि साउन ६ का दिन मृत्युवरण गर्नुभएको थियो । नेपाली काङ्ग्रेस बीपीले स्थापित गरेको मूल्य, मान्यता र सिद्धान्तलाई आत्मसात गर्ने पार्टी हो, तर काङ्ग्रेसले सही मानेमा र बीपीले चाहेअनुसारको सिद्धान्तलाई अवलम्बन गरेको छ त व्यवहारिक रूपमा ?

२०१५ सालमा जननिर्वाचित पहिलो प्रधानमन्त्री हुँदा बीपीसँग १५ वर्षभित्रमा प्रत्येक नेपाली जनताको जीवनस्तरलाई आफू सोसरहको मध्यमवर्गीय परिवारको रूपमा रूपान्तरण गर्ने योजनासहितको एजेण्डा थियो । तर, त्यो उहाँले पूरा गर्ने अवसर पाउनुभएन । विडम्बना ! उहाँको सरकारलाई छोटो समयमै अपदस्थ गरियो । बीपीले शुरू गर्नुभएको कल्पनालाई नेपाली काङ्ग्रेसले पूरा ग¥यो त ? बीपीको देहान्तपछि नेपाली काङ्ग्रेस विभिन्न समयमा बहुमतसहित दर्जनौँ पटक सरकारमा सम्मिलित भयो । तर, नेपाली जनता र बीपीले चाहेको र कल्पना गरेको जुन नेपाल थियो त्यसमा कुनै परिवर्तनको अनुभव जनताले गर्न पाएनन् ।

बीपीको भजन, स्तुति र फोटो झुण्डाउन भने काङ्ग्रेसले छोडेको छैन । बीपीको नाम बेचेर धेरै पटक सत्तामा पुग्यो पनि । अब बीपीको स्तुति र भजन गाएर, बीपीको फोटो झुण्डाएर मात्र नेपाली काङ्ग्रेसको अस्तित्व बच्नेवाला भने छैन, किनकि नेपाली जनताले काङ्ग्रेसलाई धेरैचोटि अवसर दिएका हुन् । त्यो अवसरलाई पार्टीका नेताले सदुपयोग गर्न सकेनन्, केवल पार्टीको हित र बीपीको परिकल्पनाभन्दा बाहिर गएर व्यक्तिगत स्वार्थ, गुट–उपगूटको शिकार बनाई पार्टीको इतिहास र प्रतिष्ठालाई नै कमजोर अवस्थामा पुराइएको छ । एकदिन बीपीलाई सम्झेर माल्यार्पण गरेर केही हुनेवाला छैन । बीपीको नीति र सिद्धान्तलाई तिलाञ्जली दिएर पार्टी अगाडि जाने सम्भावना छैन । पार्टीका नेताहरूको काम गर्ने शैली, विचार र सोचमा परिवर्तन आउनु एकदम जरुरी छ ।

हरेक विषय र निर्णय अनि काम गर्ने शैलीलाई संस्थागत गराउन सक्नु पर्दछ । पार्टीमा मौलाउँदै परिवारवार, पैसावाद, डनवाद, गुटवाद जस्तो पार्टीभित्रको विसंगतिलाई सुधार गरेर पार्टीका निष्ठावान निरन्तर रूपमा कटिबद्ध सबैलाई समेटेर लैजानु पर्दछ । कार्यकर्तालाई समय–समयमा प्रशिक्षण दिने एवम् पार्टीले गरेका गतिविधि र पार्टीले लिने निर्णयहरू संस्थागत हुनुको साथै कमी–कमजोरीको बारेमा समीक्षा हुनु पर्दछ ।

काङ्ग्रेस पार्टीभित्रको भागभण्डाको राजनीतिले पैसा हुने र नेताको वरपर घुम्नेलाई मात्र अवसर दिलाउने गरेको कारणबाट निष्ठावान इमानदार व्यक्ति पछिपरेका छन् । पार्टीभित्र अवसर पाउने कुरामा कुनै मापदण्ड तय गरिएको छैन, अवसर पाउनेले दोहराइ–तेहराइ पाइरहेको छ भने कोही अवसरबाट हरदम वञ्चित छन् । यसको लागि पनि पारदर्शी र निश्चित मापदण्डको जरुरत छ ।

हामीले भन्ने गरेको बीपीको प्रजातान्त्रित्रक समाजवाद कुन दुलोमा छ ? यसबारेमा किन कहिले पनि पार्टीभित्र बहस हुँदैन ? जुन पार्टीभित्रको अहिलेको संरचना छ पार्टीको स्थिति र हबिगत छ, अधिकांश कार्यकर्तामा नैराश्यता छ । पार्टीले राष्ट्रिय मुद्दाहरूमा अडान लिन नसकेको, चुकेको, आफ्नो स्वार्थको लागि पार्टी नेतृत्वले गलत र दीर्घकालीन असर पुग्ने निर्णय लिँदा पार्टीको छबी बिग्रेको, तर अझै पनि त्यसको बारेमा कुनै चिन्ता र चासो नलिएर उही सत्ता र कुर्सीलाई प्राथमिकतामा राखेको हुँदा कार्यकर्तामा व्यापक असन्तुष्टि छाएको हो । नेपाली काङ्ग्रेसले आफ्ना स्थापित मूल्य–मान्यतालाई यसरी बिर्सिने लागू नगर्ने हो भने पार्टी अगाडि जाने र टिक्ने हैसियत के छ त ? जनता र कार्यकर्ताको भावनाअनुसार काङ्ग्रेस किन अघि बढ़्न सकेन ? आमजनताको प्रश्न छ । यही अवस्थामा काङ्ग्रेस अगाडि जाने हो भने पार्टीको भविष्य के हुने हो भन्ने कुरामा सबै चिन्तित छन् ।

कुनै पनि पार्टीलाई मूर्त रूप दिने या रक्तसंचार गराउने, जीवित राख्ने पार्टीका एजेण्डाले नै हो । तर पार्टीका सिद्धान्त एकातिर लत्याएर अघि बढ्ने हो भने हामी निश्चित गन्तव्यमा पुग्न सक्दैनौँ । अब पार्टीमा यसबारेमा व्यापक बहस र समीक्षा हुनु पर्दछ । एक किसिमले भन्ने हो भने वर्तमान नेपाली काङ्ग्रेसको नेतृत्व असफल जस्तो भैसकेको छ । पार्टीभित्र एकताभन्दा गुट–उपगुट बढ्ने र मौलाउने क्रम तीव्र रूपमा जकेडिएको छ । नेताहरू यसैलाई घटाउनु भन्दा मलजल गर्ने काममा सक्रिय छन् । काङ्ग्रेस पार्टीभित्रको भागभण्डाको राजनीतिले पैसा हुने र नेताको वरपर घुम्नेलाई मात्र अवसर दिलाउने गरेको कारणबाट निष्ठावान इमानदार व्यक्ति पछिपरेका छन् । पार्टीभित्र अवसर पाउने कुरामा कुनै मापदण्ड तय गरिएको छैन, अवसर पाउनेले दोहराइ–तेहराइ पाइरहेको छ भने कोही अवसरबाट हरदम वञ्चित छन् । यसको लागि पनि पारदर्शी र निश्चित मापदण्डको जरुरत छ ।

पार्टीलाई सुधार गरेर लैजानको लागि सर्वप्रथम त नेतृत्व आफैबाट सुधार गर्नु पर्दछ । सबैलाई न्यायसंगत ब्यबहार गर्ने, समान अवसर प्रदान गर्ने, पार्टीभित्र मौलाउँदै गएको गुट–उपगुट, घात–अन्तरघात जस्ता विकृतिलाई निर्मूल पार्न सक्नु पर्दछ । कुनै पनि निर्णय गर्दा पारदर्शी पार्टी र राष्ट्रलाई असर र हानी नपुराउने खालको गर्नु पर्दछ । काङ्ग्रेसले कुनै पनि योजना र काम गर्दा जनतालाई केन्द्रमा राखेर गर्नु पर्दछ । अझै पनि नेपाली जनतामा काङ्ग्रेसप्रति भर–विश्वास छ । यो भर र विश्वासलाई नेतृत्वले गुमाउन हुँदैन । यसप्रति सधै सजग हनुु पर्दछ । जनताको नजर र विश्वासबाट टिकेको पार्टी हो यो, यदि यसबाट चुक्यो भने त्यो साख वा इज्जत फर्काउन फलामको चिउरा चपाए जस्तो हुनेछ । अहिले पार्टीको अवस्था र धरातल कमजोर देखिएको छ । त्यसैले पार्टीलाई रक्तसंचार दिएर बलियो बनाउनुपर्ने अपरिहार्यता खट्किएको छ ।

(लेखक नेपाली काङ्ग्रेस महासमिति सदस्य हुन् ।)