बढि बोलेको आरोपमा दलित कुटिए, जरिवाना तिरेर वडाध्यक्ष उम्किए

बढि बोलेको आरोपमा दलित कुटिए, जरिवाना तिरेर वडाध्यक्ष उम्किए


गाउँको विकासको निम्ति जनताको मत मागेर गााउँपालिकाकाको वडा अध्यक्ष बनेका एमाले चन्द्रकोट गाउँपालिकाका नवनिर्वाचित वडा अध्यक्षले स्थानीय एक विकलाङ्ग दलितलाई कुटपिट गरेपछि कारवाहीबाट बच्न जरिवाना तिरेर उम्किएका छन् ।

चन्द्रकोट गाउँपालिका–५ ग्वाघाका वडाध्यक्ष टेकबहादुर पुनले यही साउन १ गते विकलाङ्ग दलित मानबहादुर बिकलाई उनकै घरमा गएर कुटेका थिए । सर्वसाधारणमाथि हातपात गर्ने उनी १३ हजार ७ सय १० जरिवाना तिरेर कारवाहीबाट उम्किएका छन् ।

कुटपिटविरुद्ध पीडितले इलाका प्रहरी कार्यालय चन्द्रकोटमा उजुरी दिएका थिए । सो कार्यालयले दुवै पक्षलाई बोलाएर गराएको छलफलमा उपस्थित स्थानीयवासीको ठुलो समूहले ‘दलित भएर दलितको ठाउँमा बस्नुप¥यो, मुख सम्हाल्नुप¥यो’ भनेर मानबहादुरलाई हप्काएपछि उनी आफूले ‘बढि बोलेको’ स्वीकार्दै माफी माग्न विवश भएका थिए ।

छलफलमा सहभागी एक दलित अगुवाले भने– ‘दुई पक्षबीच छलफल गराउन लाग्दा घाइते बिक गाउँमा अरुसँग पनि बढि बोल्ने गरेको आवाज लिएर धेरै जना ओइरिए, नवनिर्वाचित वडाध्यक्षको पार्टीको विरुद्धमा उनले चुनावताका पनि नारावाजी गरेको भन्ने सुनियो, मुख सम्हाल्नुपर्ने दबाब पनि बढि नै आयो, त्यसैले कुटपिटपछि पनि बुटवलसम्म जातेआते गरेको र उपचार खर्च जोडेर १३ हजार ७ सय १० पीडितलाई दिलाउने र एक महिनापछि थप उपचारको जिम्मा समेत वडाध्यक्ष पुनले लिनुपर्ने सहमति गरिएको हो, पीडितलाई चित्त नबुझे पनि ठुलो समुहका सामु हाम्रो केही लागेन ।’

यस सम्बन्धमा जिज्ञासा राख्दा चन्द्रकोट इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव निरीक्षक खुमबहादुर पुनले त्यस्तो सहमति भएको तर मिलापत्र अझै नभएको बताए । पीडित बिकले पनि अब बढि नबोल्ने, पीडक वडाध्यक्षले पनि अब उनलाई कुटपिट नगर्ने भन्दै दुवै पक्षले क्षमायाचन गरेको उनले बताए ।

यस घटनाका सम्वन्धमा त्यस भेगका दलितहरुले चिन्ता व्यक्त गरेका छन् । आफैले जिताएका वडाध्यक्षले नै दलितहरुलाई कुटपिट गर्ने र पैसा तिरेर उम्किने हो भने अरु सर्वसाधरणबाट कुटिँदा त झन् गुहार नै नपाउने हो कि भन्ने चिन्ता बढेको त्यहाँका दलितहरूको चिन्ता रहेको छ ।

चन्द्रकोट कार्यपालिकाको पहिलो बैठक समेत बस्न नपाउँदै पञ्चायती शासनकालका शासकका विरुद्ध बोलेवापत डिग्नो–मुड्की सहेजस्तै अब पनि त्यस्तै शासन सहनुपर्ने हो कि भन्दै स्थानीय दलितले दुःख व्यक्त गरे ।

वडाध्यक्ष पुन नेकपा एमालेबाट विजयी प्रतिनिधि हुन् । एमालेले जिते खरका छाना भएकालाई जस्तापाता र वृद्धहरूलाई मासिक ५ हजार चुनाव प्रचारका क्रममा दिन्छौँ भनेको र त्यो नदिए जनताले मोसो दल्छन् भनेर बिकले स्थानीय एक महिलासँग गरेको कुराकानीबारे सुनेपछि आवेशमा आई वडाध्यक्ष पुनले कुटपिट गरेको बताइएको छ ।

– चन्द्रकान्त खनाल