गोसाइँकुण्ड धार्मिक यात्रामा जानेले यो ख्याल राखौँ

गोसाइँकुण्ड धार्मिक यात्रामा जानेले यो ख्याल राखौँ


घुमघाम गर्ने या तिर्थ गर्ने अभिप्रायले गोसाइँकुण्ड जाँदै हुनुहुन्छ ? त्यसो हो भने बाटोमा लेक लाग्ला, होस् पुर्याउनुहोस् । लेक लाग्ने समस्या हल गर्ने औषधि साथमा राख्न नबिर्सनुहोला । चिकित्सकले यस्तै सुझाव दिएका छन् ।

रसुवा जिल्ला अस्पतालका मेडिकल अधिकृत डा. कमल पोखरेलका अनुसार उचाइ चढ्दा लौरिविनायकभन्दा माथि लेक लाग्ने समस्या आउन सक्ने भएकाले घरबाट गोसाइँकुण्ड स्थान निस्कनुपूर्व नै एसिटाजोल अनाइड चक्की साथमा राख्न आवश्यक छ । सो औषधिले फोक्सोमा पानी जम्न नदिने बताउँदै डा. पोखरेलले दुई चार चक्की सिटामोल, दुई चार पोका जीवनजल र पानीको बोतल बोक्न सल्लाह दिएका छन् ।
भुक्तभोगी जानिफकारहरुले सुझाव दिएअनुसार यात्रामा बाक्लो स्विटर र कानेटोपी लगाउँदा तथा बेला बखत वीरेनून, मरिच, ज्वानु, पाचक र लसुन खाँदा शारीरिक अवस्था यथास्थानमा राख्न सहज हुन्छ ।

गोसाइँकुण्डमा दशहरा र रक्षाबन्धनका बेला ठूलो मेला लाग्छ । यस वर्ष यही साउन १३ गते नागपञ्चमी (जनैपूर्णिमा)परेको छ । सो दिन स्नान र पूजाराधना गर्दा गोसाइँबाबालगायत सम्पूर्ण देवदेवताको दर्शन मिल्ने धार्मिक विश्वास छ । पूजाआजाका लागि भने तामाको दियो, बसाहा, बत्ती, धुप, जौतिल, जटा नरिवल, श्रीखण्ड वा केशरी, गाईको घिउ र बेलपत्रका साथै वस्त्र प्रयोग गरिन्छ ।