आईओएफटीसीको १२ औं संस्करण इटहरीमा

आईओएफटीसीको १२ औं संस्करण इटहरीमा


अन्तर्राष्ट्रिय ओपन फ्रेन्डसीप तेक्वान्दो च्याम्पियन्सीप (आईओएफटीसी) को १२ औँ संस्करण सन् २०१८ को जनवरी १ देखि २ तारिखसम्म हुने भएको छ । उक्त कुरा प्रतियोगिता निर्देशक दिवाकर महर्जनले जानकारी गराएका छन । प्रतियोगिता पूर्वाञ्चलको सुनसरीस्थित इटहरीमा हुने भएको छ ।

फ्रेन्डसीप तेक्वान्दो हालसम्म अमेरिकामा पाँच, बेलायत र हङकङमा एक–एक पटक तथा नेपालमा तीन पटक आयोजना भइसकेको छ । पछिल्लो संस्करणमा अमेरिकाको पोर्टल्यान्डमा भएको थियो ।

प्रत्येक दुई वर्षको फरकमा हुने च्याम्पियनसीपको १२ औँ संस्करणमा नेपाललगायत अमेरिकाका क्यानाडा, इङ्गल्यान्ड, मेक्सिको, मकाउ, हङकङ, जापान, दक्षिण कोरिया, ग्वाटेमाला, भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्कालगायतका देशबाट पाँच सयभन्दा बढी खेलाडीको सहभागिता रहने अपेक्षा गरिएको छ ।

प्रतियोगितामा स्पाइरिङ र पुम्सेमा प्रतिस्पर्धा गराइनेछ । महिला र पुरुषको आधिकारिक आठ–आठ तौल समूहमा प्रतिस्पर्धा गराइनेछ । जुनियर खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले जुनियर विधा पनि प्रतिस्पर्धा गराउने आयोजकले जानकारी गराएको छ । यसपालि प्रतियोगितामा खुल्ला सहभागिता हुने छ ।
नेपाल सरकारले ३० लाख रुपियाँ सहयोग गर्ने युवा तथा खेलकुद मन्त्रालयका सह–सचिव अर्णप्रसाद न्यौपानेले जानकारी गराए ।

प्रतियोगिताका पुरुष÷महिला खेलाडीलाई जनही ५० हजार तथा उत्कृष्ट पुरुष÷महिला प्रक्षिकलाई पनि जनही २५ हजार रुपियाँ प्रदान गर्ने बताइएको छ ।