…र, यसरी आयो ‘मोडहरूमा म’

…र, यसरी आयो ‘मोडहरूमा म’


– राजेश खनाल

एकजना नाम चलेका लेखकलाई मैले ‘मोडहरूमा म’ किताब दिएँ र भनेँ ‘यो मैले सम्पादन गरेको पुस्तक हो दाइ, पढ्नु होला ।’

उनले सिधै भने, ‘भाइ, प्रेतलेखन (घोष्टराइटिङ) हो भने म पढ्दिनँ ।’

मैले किताब दिइसकेकाले केही भन्न सकिनँ । यति मात्रै भनेँ, ‘पढिदिनु भए मलाई खुशी लाग्ने थियो ।’

सोचेँ, सायद किताव दिएर गल्ती पो गरेँ कि ! प्रेतलेखनले भूतप्रेत नै पो लाग्ने हो कि, पढ्नेलाई । किन यति डराएका होलान् ! आखिर जसले जे लेखे पनि जीवन–जगतका कुरा नै त लेख्ने हुन् । हरेकको जीवनकथामा आफ्नो–आफ्नै स्वाद हुन्छ । चाहे स्वयम् लेखुन वा प्रेतलेखकले, ती पुस्तकमा जसका जीवनका लय तरङ्गीत हुनुपर्ने हो, त्यो त भइहाल्छ ।

‘मोडहरूमा म’ मा पञ्चायतकालीन पूर्वगृहमन्त्री भोजराज घिमिरेले जे बोल्नुभएको थियो, त्यही लेखिएको थियो । उहाँले आफ्ना जीवनमा भोगेका कथा, ब्यथा जसरी सुनाउनु भयो, त्यसरी नै प्रस्तुत गरियो । र प्रकाशित भयो, किताबका रुपमा ।

विमोचन कार्यक्रममा आफै उपस्थित नभए पनि उहाँको लिखित मन्तव्यले भन्दै थियो, ‘मेरो जीवनका आरोह–अवरोहलाई यस पुस्तकमा समेट्ने प्रयास गरेको छु मैले । मेरो जीवनकालमा असाध्य दुःख पनि भोेगेँ र सत्ता–सुखको अनुभूति पनि गर्न पाएँ । मेरा तिनै भोगाइहरूको, सम्झनाहरूको संगालो हो यो पुस्तक, मोडहरूमा म ।’

आज उहाँ सशरीर यो लोकमा हुनुहुन्न । जीवनको अन्तिम मोड पनि उहाँले पार गरिसक्नु भएको छ । तिथिले आज ठिक एक वर्ष भएको छ, उहाँको निधन भएको । बस्, छ त उहाँको कर्म र जीवनको उत्तरार्धमा आएर लेखिएको उहाँको पुस्तक : मोडहरूमा म ।

०००

‘राजेश बाबु, कस्तो आइरहेको छ किताबको फिडब्याक ?’

पूर्व (पञ्चायतकालीन) गृहमन्त्री भोजराज घिमिरे मलाई बेलाबेलामा फोन गरेर वा घरमै बोलाएर यस्तो जिज्ञासा राखिरहनुहुन्थ्यो । यो जिज्ञासा राख्नु केही महिनाअघि उहाँको संस्मरणात्मक पुस्तक ‘मोडहरूमा म’ सार्वजनिक भएको थियो । मैले पनि बेलाबेलामा किताबका सन्दर्भमा उठेका विषय प्रसङ्ग वा पत्रपत्रिकाहरूमा छापिएका सामग्रीबारे जानकारी गराउँदै आएको थिएँ ।

गत साल साउनको ५÷७ गते तिर पनि मलाई उहाँको फोन आयो र उहाँले यस्तै प्रश्न गर्नुभयो । कितावकै विषयमा उहाँसित करिव चार–पाँच मिनेट कुरा भयो होला । त्यसको केही दिनपछि अर्थात साउन १७ गते बिहानै उहाँको निधन भयो ।

मैले उहाँसँग गरेको त्यो अन्तिम कुराकानी भयो ।

०००

पारिवारिक सम्बन्धसमेत भएकाले बेलाबेलामा उहाँकहाँ म गइरहन्थेँ । ०६९÷७० सालको माघतिर एउटा पारिवारिक भेलामा उहाँका भाई (कान्छो’बाका छोरा) ऋषिराज घिमिरे र जेठा ज्वाईँ भुवन ओझाले किताबको कुरा उठाउनुभयो । मैले हुन्छ भनेँ । भोजराज घिमिरेले पनि यसका लागि स्वीकृति दिनुभयो । त्यसपछि यो प्रसङ्ग जसरी उठेको थियो, त्यसरी नै सेलायो ।

तर केही समय पछि ऋषिराज घिमिरे र भुवन ओझासँग कितावको विषयमा फेरि कुरा उठ्यो । हामीले यसै विषयमा लामो छलफल पनि ग¥यौं । केही दिन पछि नै मैले दुई–तीन दर्जन जति प्रश्नहरू उहाँलाई दिएँ, यी विषयहरूमा बोलौँ भनेर ।

यसरी प्रश्नहरूको फेहरिस्त उहाँलाई बुझाइए पनि उहाँसँग बसेरै कुराकानी हुन सकिरहेको थिएन । समय मिलाउन सकिएको थिएन ।

उहाँ उमेरले ८० नाघिसक्नु भएको थियो । बुढेसकालमा स्वास्थ्यले पनि साथ दिइरहेको थिएन । कहिले के समस्या त कहिले के । त्यहीबीच उहाँ मुटुको समस्याले थलिनुभयोे । मुटुको गतिको तालमेल मिलाउन पेसमेकर नै हाल्नुपर्ने भयो । अनि लामो समयसम्म उहाँको ‘ड्रिम’ अर्थात किताबलाई लिएर कुराकानी हुन सकेन ।

‘अब बस्ने कि ?’ एकपटक यसै भन्नुभयो । मैले पनि हुन्छ भनेँ । तर त्यसको केही समयपछि उहाँलाई पोस्ट्रेटको समस्याले गाँज्यो । उहाँको पोस्ट्रेटको उपचार सुरु भयो । टिचिङ अस्पतालमा अपरेशन भयो । यसरी कुरा गर्ने भन्दाभन्दै समय बितेको बित्यै ग¥यो । एक दुई गर्दै महिनौँ बित्यो ।

स्वास्थ्य स्थितिमा सुधार आएपछि उहाँ आफै तात्नुभयो । ‘राजेश बाबु, घरैमा भेटौँ ।’ उहाँले बोलाउनु भएपछि म गौरीघाटस्थित उहाँको घरमा पुगेँ ।
त्यसदिन उहाँसित सामान्य कुराकानी मात्रै भए । मैले रेकर्डरमा उहाँका कुराहरू रेकर्ड गरेँ । उहाँको बाल्यकालका केही प्रसङ्ग, मलङ्गवामा रहँदा भारतीय स्वतन्त्रता आन्दोलनमा सहभागी हुँदाका केही कुरा र नेपाली काङ्ग्रेससित जोडिएर राजनीतिमा लागेको विषयहरूलाई उधिन्नुभयो उहाँले । वास्तवमा उहाँसितको कुराकानी रमाइलो रह्यो । म इन्जोय गरिरहेको थिएँ ।

वास्तवमा उहाँका अनन्य मित्र तथा सँगै पञ्चायती राजनीतिमा लाग्नुभएका नवराज सुवेदीको आत्मसंस्मरण पुस्तकका रुपमा बाहिर आइसकेपछि उहाँलाई पनि आफ्ना भोगाइहरू बाहिर ल्याउने हुटहुटी जागेको थियो, सायद ।

असीभन्दा उकालो लागिसकेपछि शरीर पनि त्यही अनुपातले कमजोर हुँदै जाँदोरहेछ । शारीरिक कमजोरी उहाँमा झल्किन्थ्यो । एकदिन अचानक उहाँ बाथरुममा लड्नुभयो । र, यो घटनाले उहाँलाई ओछ्यानमा पु¥यायो । मेडिकेयर, ह्याम्सलगायतका अस्पतालहरूमा निरन्तर उपचार भयो । तर उहाँ तङ्ग्रिन सक्नुभएन । ‘अब त खै, किताब पनि लेखिँदैन होला’, यसरी भनिरहँदा उहाँको अनुहारमा उदासिपन छाएको स्पष्ट देखिरहेको थिएँ, म । मैले भनेँ, ‘हैन, हजुरले बोल्नुस् मात्रै । बाँकी काम म गरिहाल्छु ।’

त्यसपछि उहाँसितको निरन्तरको बसाइ भयो । कहिले बिहानै पुग्थेँ । कहिले साँझमा । उहाँ ओछ्यानमा सुतीसुती बोल्नुहुन्थ्यो । ओछ्यानमा सुतेर बोलेकोले कतिपय कुरा बुझ्न पनि सकिन्थेन । तर उहाँका भनाइहरू रेकर्ड गर्ने काम हुँदै गयो ।

‘श्राद्ध गर्नु सजिलो सिधा पु¥याउनु गाह्रो’ भन्छन् । मलाई पनि यस्तै भइरहेको थियो । उहाँका कुरा रेकर्ड गर्न सजिलो नै थियो । तर त्यसलाई कागजमा उतार्नु गाह्रो थियो । तर, उहाँको यो कितावलाई पूर्णता दिनु थियो, कुनै पनि हालतमा ।

असीको उमेरमा पनि एक्टिभ भोजराज घिमिरे बिरामी भएपछि गल्नुभएको थियो । वि.सं. २०७२ सालको भदौ मसान्तका दिन मधुमेहपीडित उहाँकी धर्मपत्नी उमा घिमिरेको देहान्त भयो । त्यसपछि त उहाँ झनै गल्नुभयो ।

तेह्रौँका दिन उहाँले मलाई बोलाएर भन्नुभयो, ‘उमाले त किताब हेर्न पाइन–पाइन, मैले पनि हेर्न पाउँदिनँ कि भन्ने लाग्न थाल्यो ।’ मैले केही भन्न सकिनँ । वास्तवमा उहाँको यो भनाइले ममा पनि छटपटी जागेको थियो ।

त्यसपछिको मेरो दिनचर्या नै भयो, उहाँले भनेका कुराहरू कागजमा साफी गर्दै उतार्ने, टाइप गर्न दिने, टाइप सकिएपछि गएर उहाँलाई सुनाउने र करेक्सन गर्ने ।

उहाँले मलाई पटक–पटक भन्नु भयो, ‘खै मैले किताब हेर्न पाउँछु कि पाउँदिन ?’

केहि दिनमै किताबको पाण्डुलिपी तयार भयो । धेरै नाममध्ये जुराइयो एउटा नाम– मोडहरूमा म । नेता विश्वबन्धु थापालाई पुस्तकको पाण्डुलिपी पढेर भूमिका लेख्न उहाँले नै आग्रह गर्नुभयो ।

अन्ततः उहाँको ८७औं जन्मदिनका दिन अर्थात माघ १५, २०७२ का दिन केही किताबको बाइण्डिङ सकियो । छापिएको कितावका केही प्रति मैले उहाँलाई लगेर दिएँ र भने ‘हजुरको किताव’ । आफ्नो जन्मदिनका दिनै हात परेको त्यो कितावलाई सुतिसुति नियाल्नु भयो । उहाँको मुहारमा उज्यालो छायो । र, छातिमा राखेर केही बेर सुमसुम्याई रहनु भयो, किताबलाई । अनि मधुरो आवाजमा भन्नुभयो, ‘धन्यवाद’ ।

मेरा अनन्य मित्र नारायण घिमिरे (उहाँका भाई) लाई मैले किताब छापिएको बताएँ । उनले त्यसै दिन साँझ फोन गरेर किताबको विमोचन महोत्तरी परिवारबाट गरिदिने व्यवस्था मिलाउने बताए । यही कुरा नारायणले उहाँलाई पनि बताएछन् । यो थाहा पाएपछि उहाँ झनै दङ्ग पर्नुभयो । आफूले जीवनमा भोगेका दुःख, कष्ट र सुखका लेखोट सार्वजनिक हुन लागेकोमा उहाँको मनमा शान्ति छाएको स्पष्ट देखिन्थ्यो, उहाँको मुहारबाट ।

उहाँ आफै पनि राजनीतिज्ञ भएकाले कुनै राजनीतिक व्यक्तिबाट विमोचन गराउने कि भन्ने नारायणसित कुरा भएको रहेछ । तर उहाँले राजनीतिज्ञबाट विमोचन गराउन मान्नुभएन । त्यसपछि नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. विष्णुविभु घिमिरेलाई प्रमुख अतिथिका रुपमा निम्त्याएर विमोचन गराउने कुरा भयो र विभु दाइले पनि हुन्छ भन्नुभयो । यसरी ०७२ साल चैत्र ६ गते ‘मोडहरूमा म’ सार्वजनिक भयो ।

विमोचन कार्यक्रम सकिएपछि कार्यक्रमका प्रमुख अतिथि विष्णुविभु दाइ, महोत्तरी परिवारका अध्यक्ष किरण थापा, नारायण र म उहाँ कहाँ पुग्यौं । ‘म विमोचनमा उपस्थित हुन सकिनँ,’ आफ्नो पीडा यसरी व्यक्त गर्नुभयो भोजराज घिमिरेले । तर पनि किताव सार्वजनिक भइसकेकोले उहाँको मुहारमा असीम सन्तोष छाएको सबैले महसुस गरिरहेका थिएँ।

पुस्तक सार्वजनिक भइसके पछि यो किताव पढेकाहरूसित कुराकानी भए । उनिहरूबाट किताबमा केही छुटेका प्रसङ्गहरू उठे । प्रखर समाजवादी नेता बीपी कोइरालासितको सम्बन्ध, राजा महेन्द्र र राजा वीरेन्द्र सितको सम्बन्ध र तिनका कृयाकलापबारे कितावमा अझै धेरै खुल्नुपर्ने कुरा पनि उठ्यो । यी यावत उठेका प्रश्नहरू मैले उहाँलाई गएर सुनाएँ । उहाँले भन्नुभयो, ‘सबै बितेर गइसके । तिनका बारेमा मैले नकारात्मक कुरा गरेर के पाउँछु । मेरो मनमा जे लागेको थियो, त्यो मैले किताबमा नै भनेको छु ।’

त्यसो त मैले कुराकानी रेकर्ड गर्ने क्रममा पनि तत्कालीन दरबार र राजाहरूका विषयमा पटक–पटक कुरा कोट्याउने प्रयत्न गरेको थिएँ । तर त्यसैबेला पनि उहाँले लामो जवाफ दिन चाहनुभएन । भन्नुभयो, ‘ठिकै छ, जति आयो त्यति नै ठिक होला’ ।

०००

किताव आइसकेपछि त्यसका बारेमा जानकारी राख्न खोजिरहनु हुन्थ्यो । बुझिरहनु हुन्थ्यो, कितावका विषयमा कसले के लेखे । राम्रो लेखे वा नराम्रो, जे जस्तो लेखिए पनि किताबको फिडब्याक आओस् भन्ने चाहना थियो उहाँको ।

आज पनि म सम्झिरहेछु, उहाँले गर्नुहुने प्रश्नलाई, ‘राजेश बाबु, फिडब्याक कस्तो आइरहेको छ ?’