प्रदेश नं २ का सय स्थान जितेर एक नम्बर पार्टी बन्ने रणनीति

प्रदेश नं २ का सय स्थान जितेर एक नम्बर पार्टी बन्ने रणनीति


स्थानीय तहको पहिलो र दोस्रो चरणमा भएको निर्वाचनको नतिजाले दोस्रो स्थानमा खुम्च्याइदिएको कटु यथार्थले नेपाली कांग्रेसलाई मर्माहत तुल्याएको छ । प्रत्यक्ष रुपमा व्यक्त नगरे पनि कांग्रेस नेतृत्वलाई यसले भित्रभित्रै निकै आहत तुल्याएको महसुस गरिएको छ । गमेको आफ्नो नम्बर एक पोजिसन आगामी असोज २ गते प्रदेश नम्बर २ मा हुने निर्वाचनबाट फिर्ता लिने मानसिकतामा कांग्रेस नेतृत्व रहेको बुझिएको छ । यसका लागि उक्त प्रदेशका तमाम मतदाता र तराईकेन्द्रित दललाई समेत सन्तुष्ट तुल्याउनै पर्ने बाध्यता कांग्रेसले महसुस गरेको छ ।

यसै सन्दर्भमा शुक्रबार सम्पन्न नेपाली कांग्रेसको प्रदेश नं २ स्तरीय भेलाले व्यवस्थापिका–संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव प्रक्रियामा अघि बढाउनुपर्ने राजनीतिक प्रस्ताव पारित गरेको छ । आगामी असोज २ गते हुने स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा पार्टीको तयारी गर्न बोलाइएको उक्त भेलाले संसदमा प्रतिनिधित्व गर्ने सबै दललाई संशोधन प्रस्तावको पक्षमा मतदान गरी देशलाई राजनीतिक निकास दिन आग्रह गरेको हो।

संशोधन प्रस्तावप्रति विमति राख्दै आएको प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)लाई सहमतिमा आई मधेसका समस्या समाधानमा सहयोग गर्नसमेत कांग्रेसका कैयन नेता कार्यकर्ताले आग्रह गरेका छन् । आसन्न स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा राष्ट्रिय जनता पार्टी नेपाललगायत सबै दललाई सहभागी हुन कांग्रेसले आह्वान गरेको छ ।

उक्त भेलाले प्रदेश नं २ मा बढाइएको स्थानीय तहको संख्या तत्काल कार्यान्वयन गर्न सरकारसँग आग्रह गरेको छ । संशोधन प्रस्ताव पारित गर्न आवश्यक दुई तिहाइ बहुमत नपुग्ने आँकलनपछि प्रक्रियामा अघि बढाउने कि नबढाउने भन्ने सत्तापक्षको द्विविधाबीच भेलामा त्यस्तो सुझाव आएको हो । मधेसका मतदातालाई खुशी पार्नकै लागि कांग्रेसका स्थानीय नेता तथा कार्यकर्ताले यस्तो सुझाव दिएका हुन् । भेलामा भएको समूहगत छलफलबाहेक बैठकमा जिल्लागत रुपमा करिब ६५ जनाले निर्वाचनमा पार्टीले गर्नुपर्ने तयारीका बारेमा धारणा राखेका थिए ।

उक्त भेलाले निर्वाचनमा पार्टीप्रति जनताको आकर्षण बढाउन समयमै प्रचारप्रसार कार्यक्रम गर्ने, केन्द्रीय पदाधिकारीको उपस्थितिमा प्रत्येक जिल्लामा आमसभा गर्ने, सबै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएर जनताले रुचाएका उम्मेदवार चयन गर्नेलगायत निष्कर्ष निकालेको बुझिएको छ । बैठकले प्रदेश नं २ का सबै जिल्लाका विकास निर्माणका आयोजनालाई प्राथमिकतामा राखी विकाससम्बन्धी प्रस्तावसमेत पारित गरेको छ ।

सो भेलामा नेता विमलेन्द्र निधिले स्थानीय तहको दुई चरणको निर्वाचनमा पार्टी दोस्रो स्थानमा झरेकाले तेस्रो चरणको निर्वाचनबाट पुनःपहिलो पार्टी बन्ने रणनीतिक योजनाका बारेमा जानकारी गराएका थिए । पहिलो र दोस्रो चरणको निर्वाचनमा एमालेभन्दा कांग्रेस ५० तहमा पछि परेको भन्दै नेता निधिले पहिलो बन्नलाई प्रदेश नं २ का कुल १२७ तहमध्ये १०० तहमा कांग्रेसले जित्नैपर्ने धारणा अघिसारेका छन् ।