अफगानिस्तानसँगको हार भुलाउँदै सिङ्गापुरमाथि नेपालको जीत

अफगानिस्तानसँगको हार भुलाउँदै सिङ्गापुरमाथि नेपालको जीत


काठमाडौँ । सिङ्गापुरमा भइरहेको आईसीसी एसिया यू–१९ विश्वकप छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा नेपालले सिंगापुरलाई २२ रनले पराजित गरेको छ ।

नेपालले प्रस्तुत गरेको मध्यम योगफल पछ्याउने क्रममा सिंगापुरले शुरुवात भने राम्रो गरेको थियो । जितका लागि १ सय ६९ रनको लक्ष्य पाएको सिंगापुर ४६.५ ओभरमा मात्र १४६ रनमा अलआउट हुन पुग्यो ।

सिंगापुरका दुई ओपनर रोहन रंगाराजन र सिन अग्रवालले पहिलो विकेटका लागि ४० रन जोडे । रोहनले २३ तथा अग्रवालले २१ रनको योगदान दिए ।

त्यसपछि आएका सिद्धान्तले पनि २५ तथा युवराज सिंहले १९ रनको योगदान दिँदै ४ विकेटको क्षतिमा स्कोर ९३ रनसम्म पुर्याए । तर, त्यसपछि भने सिंगापुरले लगातार विकेट गुमाउन पुग्यो ।

अन्त्यतिर विकेटकिपर हंसुल दीपले ३० बलमा ३२ रन बनाउँदै आक्रमण पारी खेलेर सिंगापुरलाई आशा दिलाए पनि टोली हारबाट जोगाउन सकेनन् ।

सिंगापुरको ब्याटिङक्रम ध्वस्त बनाउन कप्तान सन्दीप लामिछानेले ४ विकेट लिए भने पवन शर्राफ र किशोर महतोले २–२ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले यस प्रतियोगिताको आफ्नो चौथो खेलमा ४६.५ ओभरमा सवै विकेट गुमाउँदै १६८ रन बनायो ।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले अर्धशतक प्रहार गरेका थिए । उनले ८३ बलमा दुई छक्का र दुई चौकाको मद्यतमा ५४ रन बनाए ।

प्रारम्भिक ब्याट्सम्यान सन्दिप सुनारले एक छक्का र दुई चौका हान्दै २६ र प्रकास केसीले २३ रन बनाए ।
बलिङतर्फ सिंगापुरका लागि वीर विक्रम विश्वासरेले तीन तथा आर्यमान सुनिल र अहान गोपीनाथले समान दुई–दुई विकेट लिए ।

विश्वासरेले १० ओभरमा दुई मेडन राखि २९ रन दिए । आर्यमानले पाँच ओभरमा २३ रन तथा गोपीनाथले १० ओभरमा ३१ रन खर्चे ।