प्रदेश र सङ्घको निर्वाचन मिति छिट्टै : देउवा

प्रदेश र सङ्घको निर्वाचन मिति छिट्टै : देउवा


प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानले निर्धारण गरेको समय सीमाभित्रै सबै निर्वाचन सम्पन्न गर्नुपर्ने आवश्यकता रहेको र त्यसमा आफू गम्भीर रहेको बताउनुभएको छ । बीपी कोइरालाको ३५औँ स्मृति दिवसका अवसरमा प्रजातान्त्रिक विचार समाजले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सभापति देउवाले संविधान कार्यान्वयनका लागि तीनै तहका निर्वाचन अपरिहार्य रहेको बताउँदै प्रदेश र सङ्घको निर्वाचन मिति छिट्टै घोषणा हुने जानकारी दिनुभयो ।

प्रधानमन्त्री देउवाले भन्नुभयो – “प्रदेश र सङ्घको निर्वाचनको तयारीका लागि निर्वाचन क्षेत्र निर्धारण आयोग हिजो मात्र गठन भइसकेको छ ।” निर्धारित समयमा तीनै तहका निर्वाचन सम्पन्न भएमा मात्र संघीय लोकतान्त्रिक गणतन्त्रको स्थायित्व हुने उहाँको धारणा थियो । कांग्रेस मुलुकको सबैभन्दा ठूलो र पुरानो लोकतान्त्रिक पार्टी भएकाले लोकतन्त्रमा रुपान्तरित हुन बाँकी अन्य पार्टीलाई पनि रुपान्तरित गर्नु कांग्रेसको जिम्मेवारी रहेको विचार प्रधानमन्त्री देउवाले व्यक्त गर्नुभयो ।

सो अवसरमा प्रधानमन्त्री देउवाले लामो समयदेखि अशक्त बिरामी भई हाल अस्पताल भर्ना हुनुभएका कांग्रेस नेता चक्रप्रसाद बास्तोलालाई लोकतान्त्रिक योद्धा सम्मानबाट सम्मानित गर्नुभएको थियो । २५ हजार नगद राशिसहितको उक्त सम्मान नेता बास्तोलाकी धर्मपत्नी कुसुम बास्तोलले ग्रहण गर्नुभएको थियो ।

पूर्वप्रधानमन्त्री एवं कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको सम्झनामा गिरिजाबाबु विशेशांक ‘चिन्तन’ विमोचन समेत गरिएको कार्यक्रममा नेत्री सुजाता कोइरालाले नेपाली कांग्रेसले सदैव मुलुकका हरेक संकट समाधानमा नेतृत्वदायी भूमिका निर्वाह गरेकाले नै जनताले पनि कांग्रेसलाई विश्वास गर्दै आएको बताउँदै पछिल्लो निर्वाचनमा उक्त विश्वास कम हुँदै गएकोप्रति पार्टी नेतृत्वको ध्यानाकर्षण गराउनुभयो ।

यस्तै, कांग्रेस नेता लक्ष्मण घिमिरेले बीपीले प्रतिपादन गर्नुभएको राष्ट्रियता, प्रजातन्त्र र समाजवादको सिद्धान्त ओझेलमा पर्दै गएकामा चिन्ता व्यक्त गर्दै राजनीतिक नेतृत्वका क्रियाकलापका कारण राजनीतिक नेता र नेतृत्वप्रति जनतामा विश्वासको संकट बढेको बताउनुभयो ।

कार्यक्रममा समाजका अध्यक्ष डा. केदारनरसिंह केसी, वरिष्ठ उपाध्यक्ष एवं राससका अध्यक्ष कुलचन्द्र वाग्ले, पूर्व अध्यक्ष होमनाथ दाहाल, नेपाल बार एशोसिएसनका अध्यक्ष शेरबहादुर केसी, समाजका सचिव डा. वासुदेव भण्डारीलगायतले समाजले गरेका काम र यसको महत्वका बारेमा धारणा राख्नुभएको थियो ।

बीपी निवासलाई संग्रहालय तुल्याउन सुझाव

प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको निवासलाई संग्रहालयको रुपमा विकास गर्नुपर्ने सुझाव दिइएको छ । नेपाल ट्रेड युनियन काठमाडौँले मित्रपार्कमा आयोजना गरेको चियापान कार्यक्रममा कांग्रेसका नेता एवं पूर्वमन्त्री लक्ष्मणप्रसाद घिमिरेले सत्ता बाहिर मात्र बीपीलाई सम्झने र सत्तामा पुगेपछि बिर्सने क्रम बढेकोमा चिन्ता व्यक्त गर्नुभयो । जननायक कोइराला कुनैबेला मित्रपार्क बस्नुहुन्थ्यो । सोही स्थानमा कार्यक्रम आयोजना गरिएको हो । बीपीको योगदानलाई कांग्रेसले उच्च मूल्यांकन गर्न नसकेको नेता घिमिरेको भनाई थियो ।

कार्यक्रममा मन्तव्य दिँदै विश्वेश्वरप्रसाद कोइरालाको बारेमा पीएचडी गर्नुभएका प्राडा कृष्णप्रसाद दाहालले बीपी सात वर्षको कलिलो उमेरदेखि राजनीतिमा लाग्नुभएको स्मरण गराउँदै उहाँको योगदानलाई बिर्सन नहुने बताउनुभयो । अमेरिकामा समेत बीपीको शालिक रहेको बताउँदै उहाँ अन्तर्राष्ट्रिय नेता भएको तर्क दाहालले गर्नुभयो ।

कार्यक्रममा कांग्रेसका युवा नेता लोकेश ढकाल, नेपाल ट्रेडयुनियन काठमाडौँका अध्यक्ष गणेश भट्टराईलगायतले राणा शासनको अन्त्य गर्दै प्रजातन्त्रको स्थापनामा बीपी कोइरालाको ठूलो योगदान रहेको बताउनुभयो ।